स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता शुरू
स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया शुरू भएको छ।
आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्न शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ। देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न शुरू गरेका हुन्। आज बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। त्यस्तै, भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पनि आयोगले उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।
गत निर्वाचनमा एकै दिन उम्मेदवारी दर्ता गर्न समय अपुग भएकाले यस पटक दुई दिन दिइएको आयोगले जनाएको छ। आज र भोलि उम्मेदवारी दर्ताको समय सकिए लगत्तै उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगको कार्यतालिका छ।
त्यस्तै, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ भने त्यसमाथि वैशाख १४ र १५ गते जाँचबुझ गरिनेछ। त्यसपछि वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।
यससँगै वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ। त्यही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। वैशाख ३० गते मतदात हुनेछ।