गिरीश गिरी राप्रपाबाट वीरगञ्जको मेयरको उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वीरगञ्ज महानगरपालिकामा गिरीश गिरीलाई मेयरको उम्मेदवार बनाउने भएको छ।
शनिबार बसेको राप्रपाको बैठकले पत्रकार/लेखक गिरीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। “२०६० सालमा उहाँका बुबा गोपाल गिरी वीरगञ्जको मेयर हुनुहुन्थ्यो। माओवादीले उहाँको गोली हानी हत्या गर्यो,” प्रवक्ता श्रेष्ठले भने, “बुबाको बिंडो थाम्न उहाँलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिएको हो।”
उनका बुबा गोपाल गिरी २०६० सालमा वीरगञ्जको मेयरमा मनोनीत भएका थिए। त्यसको ६ महीनापछि माओवादीले वीरगञ्जको बाइपास सडकखण्डमा बोलाएको थियो। त्यहाँ उनलाई गोली हानेर हत्या गरेको थियो।
गिरी लामो समयदेखि विभिन्न सञ्चार माध्यममा आबद्ध थिए। हालै उनले संस्कृतिविद् सत्यमोहन जोशीबारे पुस्तक लेखेका थिए।
यससँगै राप्रपाले चार वटा महानगरको मेयरका उम्मेदवारको टुङ्गो लगाएको छ। काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्टमान महर्जन र पोखरामा शंकर खराललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।