हेटौंडाको मेयरमा गठबन्धनबाट मीना लामा उम्मेदवार
हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धनबाट मीनाकुमारी लामा उम्मेदवार बन्ने भएकी छन्।
सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले लामालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो। “मेयरका लागि मैले टिकट पाएकी छु,” लामाले हिमालखबरसँग भनिन्।
उनी २०७४ को निर्वाचनमा नेकपा (एमाले) बाट उपमेयरमा निर्वाचित भएकी थिइन्। एमाले विभाजन हुँदा उनले एकीकृत समाजवादी रोजेकी थिइन्। अहिले एकीकृत समाजवादीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।
मेयरको उम्मेदवारका लागि लामासँगै एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल पनि दाबेदार रहेका थिए। लामो आन्तरिक छलफलपछि उनले टिकट पाएकी हुन्।
सत्तारूढ गठबन्धनबीच तालमेलको सहमति हुँदा हेटौंडाको मेयरको उम्मेदवार एकीकृत समाजवादीको भागमा परेको थियो। उपमेयरको उम्मेदवार कांग्रेसको भागमा परेको छ। कांग्रेसले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन।