महानगरको मतपत्रमा उम्मेदवार भएका पार्टीको मात्रै चुनाव चिह्न रहने
महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्रमा उम्मेदवार भएका पार्टीको मात्रै चुनाव चिह्न रहने भएको छ।
निर्वाचन आयोगले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्थानीय तहको चुनावको तयारीबारे जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र वैशाख १७ गतेपछि मात्रै छापिने बताए।
“भक्तपुरका चार नगरपालिका र देशभरका ६ महानगरपालिकाको मतपत्र वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि डिजाइन गरेर प्रिन्ट गरी छपाइका लागि पठाउने तयारी गरेका छौं,” थपलियाले भने।
अब ६ वटै महानगर र भक्तपुरका चार वटा नगरपालिकाको मतपत्रमा उम्मेदवार भएका पार्टीको मात्रै चुनाव चिह्न रहने भएको छ। अन्य स्थानीय तहको मतपत्रमा भने जिल्लामा दर्ता भएको सबै दलको चुनाव चिह्न रहनेछ।
“यो निर्णय आज गरिएको होइन, एक महीनाअघि नै गरेका थियौं,” थपलियाले भने, “प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि यस्तै गर्दै आएका छौं।”
देशभरि नै उम्मेदवार भएका पार्टीको मात्रै चुनाव चिह्न मतपत्रमा राख्न खोजेको भए पनि सम्भव नभएको उनले बताए। फरक फरक किसिमका मतपत्र भएकाले छपाइ गरी ढुवानी गर्दासम्म समय लाग्ने भएकाले नसकिएको उनको भनाइ थियो।
गत निर्वाचनमा १० प्रकारका मतपत्र छापिएको भए पनि यस पटक भने ८७ प्रकारका मतपत्र रहेको उनले जानकारी दिए। जसमा ७७ जिल्लाका ७७ प्रकारका मतपत्र रहेका छन्। त्यस्तै, ६ वटा महानगरका ६ प्रकारका र भक्तपुरका चार वटा नगरपालिकाका चार प्रकारका मतपत्र छापिने उनले बताए।
अन्य जिल्लाका मतपत्र छापी सकिएको छ। ६ वटा महानगर र भक्तपुरका चार वटा नगरपालिकाको भने वैशाख १७ गतेपछि छापिनेछ।
“सबैभन्दा राम्रो त जति उम्मेदवार छन्, मतपत्रमा त्यति नै चुनाव चिह्न हुनु हो, तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि छाप्नुपर्ने भएकाले गाह्रो भयो,” प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।
वैशाख १७ गतेपछि सबै मतपत्र छापेर पठाउन नसकिने भएकाले अहिले महानगर र नजिक रहेको भक्तपुरका चार नगरपालिकामा मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छाप्ने तयारी गरिएको उनको भनाइ थियो।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ। त्यसपछि उम्मेदवारीमाथि उजुरी आह्वान, उजुरीमाथि छानबिन, उम्मेदवारी फिर्ता लगायत प्रक्रिया पूरा गरेर वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। वैशाख ३० गते मतदान हुनेछ।