महानगरमा कहाँ को हुँदै छन् मेयरको उम्मेदवार?
स्थानीय तहको निर्वाचनका लागि केही महानगरपालिकामा गठबन्धन र नेकपा (एमाले) बाट मेयरका उम्मेदवार लगभग तय भएका छन्।
सत्तारूढ गठबन्धनमा रहेका पाँच दलले ६ वटा महानगरमा तालेमल गरेर उम्मेदवार बनाउँदै छन् भने एमाले सबै महानगरमा उम्मेदवार उठाउने तयारीमा छ। केही महानगरमा भने गठबन्धन र एमालेबाट मेयरका उम्मेदवार प्रचारमा जुटिसकेका छन्।
गठबन्धनबाट नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरमा उम्मेदवार उठाउने भएको छ। तीन वटै महानगरमा कांग्रेसको उम्मेदवार तय हुन बाँकी छ। काठमाडौंमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरमा डिला संग्रौलाको सम्भावना बलियो रहेको छ।
सिंहले पनि आन्तरिक रूपमा प्रचार शुरू गरेकी छन् भने महर्जनले आफूले टिकट पाउने पक्का भइसकेको बताएका छन्। आफूले शुरू गरेका योजना पूरा गर्न फेरि मेयरमा उठ्न लागेको उनको भनाइ छ।
त्यस्तै, संग्रौला पनि दुई साताअघि नै विराटनगर पुगेर आन्तरिक तयारीमा जुटेकी थिइन्। यस सम्बन्धी निर्णय गर्न आज अपराह्न ३ बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।
यसै गरी गठबन्धनबाट भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) ले मेयरको उम्मेदवार उठाउनेछ। माओवादीले रेणु दाहाललाई उम्मेदवार बनाउने तय भइसकेको छ। दाहालले प्रचारप्रसार पनि शुरू गरिसकेकी छन्। उनी अहिलेको भरतपुरकी मेयर हुन्।
वीरगञ्जमा जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार उठाउनेछ। जसपाले राजेशमान सिंहलाई उम्मेदवार बनाउने तय भइसकेको छ। उनलाई मेयरको उम्मेदवार बनाउनका लागि नै एक महीनाअघि पार्टीमा प्रवेश गराइएको थियो। उनले प्रचारप्रसार शुरू गरिसकेका छन्।
गठबन्धनबाट पोखरा महानगरको मेयरमा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो उम्मेदवार उठाउनेछ। एकीकृत समाजवादीबाट भने मेयरको उम्मेदवार तय हुन बाँकी छ। महानगर कमिटीले धनराज आचार्य, श्रीनाथ बराल र प्रेम थापा सहित १३ जनाको नाम सिफारिश गरेको छ।
त्यस्तै, एमालेका तर्फबाट तीन वटा महानगरमा मेयरको उम्मेदवार तय भइसकेका छन्। उनीहरूले प्रचारप्रसार शुरू गरिसकेका छन्।
एमालेको महानगर कमिटी र प्रदेश कमिटीले ललितपुरमा हरिकृष्ण व्यञ्जनकार, भरतपुरमा विजय सुवेदी र वीरगञ्जमा विजय सरावगीको मात्रै सिफारिश गरेको थियो। एक-एक जना मात्रै सिफारिश भएपछि उनीहरू नै उम्मेदवार तय भएका हुन्।
ललितपुरका महर्जन गत निर्वाचनमा पराजित भएका थिए। उनलाई फेरि दोहोर्याउने एमालेले तय गरेको छ। भरतपुरमा सुवेदीले उम्मेदवार बन्न प्रदेश सभा सदस्यबाट राजीनामा दिइसकेका छन्।
वीरगञ्जका मेयरको उम्मेदवार बनाउनकै लागि सरावगीलाई एक महीनाअघि अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका थिए। उनी मेयरमा उठ्न जसपा छोडेर एमालेमा आएका हुन्। उनी अहिलेका मेयर हुन्।
एमालेका तर्फबाट काठमाडौं, पोखरा र विराटनगरको उम्मेदवार भने टुङ्ग्याउन बाँकी छ। ६ वटै महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरका उम्मेदवार टुङ्ग्याउन आज अपराह्न ३ बजे एमाले सचिवालय बैठक बोलाइएको छ।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। त्यसैले पनि आज उम्मेदवारको टुङ्गो लगाउन दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन्।