डा. पुनले मन्त्री र सचिवलाई गाली गरेको भन्दै पुरानो पोस्ट भाइरल
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बोलेको भन्दै पुरानो पोस्ट फेरि भाइरल भएको छ।
डा. पुनले बोलेको भन्दै भाइरल बनेको पोस्टमा लेखिएको छ, ‘मरी मरी पढेर डाक्टर बन्यो, स्थायी बन्न दशतिर चाकरी ठोक्नुपर्छ, करारमा बसेर काम गर्यो, अनि साँचो बोल्यो भनेर चोरेर बीए पास गर्ने मन्त्रीले थर्काउँछ, नेपाली घोकेर सचिव बन्नेहरूले पेल्छन्, अनि कोही कसरी नेपालमा टिकून्।’
एक वर्षअघि यो पोस्ट भाइरल बनेको थियो। हाम्रो पार्टी नेपालको फेसबूक पेजमा २०२० अप्रिल १९ मा डा. पुनको व्यथा भन्दै पोस्ट गरिएको थियो। त्यसलाई फेरि अहिले शेयर र लाइक गर्न थालिएको छ।
डा. पुनले कहींकतै यस्तो अभिव्यक्ति नदिएको बताए। यो पोस्ट फेरि शेयर हुन थालेपछि तनाव भएको उनले बताए।
“मैले भन्दै नभनेको कुरालाई असभ्य भाषामा प्रचार गरेको कारण मेरो प्रतिष्ठामा मात्र नभएर पेशागत जीवनमा समेत असर पर्ने देखिन्छ, यो कसले र कुन उद्देश्यले गरायो भनेर म खोजिरहेको छु,” डा. पुनले हिमालखबरसँग भने। उनले फेसबूक मार्फत पनि यसको खण्डन गरेका छन्।
गत वर्ष के थियो सन्दर्भ?
२०७७ वैशाख ५ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टेकु अस्पतालमा कार्यरत डा. पुनलाई पत्र काट्दै अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड-१९ नियन्त्रणका लागि मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने गरी मन्त्रालयमा उपस्थित हुन पत्र पठाएको थियो।
तर, सञ्चार माध्यम र सामाजिक सञ्जालमा कोभिड-१९ महामारी नियन्त्रणमा सरकारलाई सहयोग गर्नुको साटो भ्रम फैलाएको तथा सूचना चुहाएकाले कारबाही गरिएको भन्ने आशयका समाचार आएका थिए। त्यस्तो पत्र भने कतै सार्वजनिक भएको थिएन।
त्यसरी समाचार आएपछि सामाजिक सञ्जालमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालको विरोध भएको थियो भने डा. पुनले स्याबासी पाएका थिए। चौतर्फी विरोध भएपछि वैशाख ७ गते डा. पुनले स्वास्थ्य मन्त्री ढकाललाई भेटेका थिए।
त्यसपछि डा. पुनले विज्ञप्ति जारी गरी भनेका थिए, ‘माननीय मन्त्रीज्यू र मन्त्रालयसँग जोडी अनर्गल प्रचारहरू नगरिदिन र विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध भइदिन हुन सम्बद्ध सबैमा अनुरोध गर्दछु।’ मन्त्रालयले कारबाही गरेको तथा स्पष्टीकरण लिएको विषय झूटो भएको बताएका थिए।
अहिले त्यही वेलाको पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेको हो। “म आफ्नो विषय विज्ञता बाहेक अरू विषयमा कहींकतै केही भन्ने मानिस होइन, म आफ्नो काममा रमाइरहेको छु। तर, पुरानो सन्दर्भलाई लिएर भन्दै नभनेको कुरा भाइरल गराउँदा मेरो पेशामा असर पर्ने भएकाले चिन्तित छु,” डा. पुनले भने।
चुनाव नजिकिंदै गर्दा मन्त्री र सचिवको आलोचना गर्न डा. पुनको नाम लिएर पुरानो पोस्ट शेयर गरिएको पाइएको छ।