धनगढीमा गठबन्धनबाट नृप वड र शान्ति अधिकारी उम्मेदवार
धनगढी उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नृपबहादुर वड र उपमेयरमा शान्ति अधिकारी उम्मेदवार बन्ने भएका छन्।
सत्तारूढ गठबन्धनमा भएको तालमेलको सहमति अनुसार, धनगढीमा नेपाली कांग्रेसले मेयर र नेकपा (माओवादी केन्द्र) ले उपमेयरको उम्मेदवार उठाउन लागेका हुन्। मेयरमा कांग्रेसबाट वड र उपमेयरमा माओवादीबाट अधिकारी उम्मेदवार बन्ने तय भएको छ।
शनिबार काठमाडौंबाट धनगढी फर्केका वडले आफूले मेयरको टिकट पाएको बताए। उनी मेयरको टिकटका लागि केही दिनदेखि काठमाडौंमा थिए। “मैले पुनः टिकट पाएको छु, अब मेयरबाट राजीनामा दिन्छु,” उनले भने।
उनी २०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरको मेयरमा निर्वाचित भएका थिए। उनी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै मेयर भएका थिए। यस पटक पनि हमालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
धनगढीको मेयरका लागि कांग्रेसबाट सात जनाको नाम सिफारिश भएको थियो। मेयरको उम्मेदवारका प्रबल दाबेदार रहेका कृष्णबहादुर महरालाई प्रदेश सभाको टिकट दिने सहमति भएको कांग्रेसका एक नेताले बताए। उनी गत निर्वाचनमा पनि मेयरका दाबेदार थिए।
त्यस्तै, माओवादीले अधिकारीलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ। माओवादी सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि चौधरीले अधिकारीलाई नै उपमेयर बनाउने तय भएको बताए। “उपमेयरमा शान्ति अधिकारीलाई उम्मेदवार बनाउन निर्णय भइसकेको छ, अन्य उम्मेदवारको साँझसम्म टुङ्गो लाग्छ,” चौधरीले भने।
माओवादी उपमहानगर कमिटीले अधिकारीको नाम मेयरका लागि सिफारिश गरेको थियो। तर, गठबन्धन भएपछि उनी उपमेयर उठ्न तयार भएकी हुन्।
उनी २०७४ को निर्वाचनमा पनि उपमेयरमा उम्मेदवार बनेकी थिइन्। त्यति वेला कांग्रेसकै सुशीला भट्ट उपमेयरमा निर्वाचित भएकी थिइन्।
सत्तारूढ गठबन्धनले धनगढीका वडाध्यक्षमा पनि तालमेलको तयारी गरिरहेको छ। कांग्रेस धनगढी उपमहानगर सभापति यज्ञराज उपाध्यायले केन्द्रमा गठबन्धनले गरेको निर्णय कार्यान्वयन गरिने बताउँदै भने, “आज साँझसम्म वडाध्यक्षको उम्मेदवार पनि टुङ्गो लगाउँछौं।”