महानगरमा मेयरका उम्मेदवार छान्दै एमाले र कांग्रेस
स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसले आज महानगरपालिकाका मेयरका उम्मेदवार छनोट गर्ने तयारी गरेका छन्।
निर्वाचन आयोगले वैशाख ३० मा हुने निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी दर्ताको समय दिएको छ। त्यसका लागि आज उम्मेदवार टुङ्गो लगाउने एमाले र कांग्रेसको तयारी छ। दुवै पार्टीले आज बैठक बोलाएका छन्।
एमालेको सचिवालय बैठक आज अपराह्न ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्दै छ। त्यसमा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवारको टुङ्गो लगाइने जनाएको छ।
एमालेमा महानगर र उपमहानगरको मेयर र उपमेयर केन्द्रबाटै तय गर्ने व्यवस्था छ। एमाले प्रदेश कमिटीले ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको सिफारिश गरिसकेको छ।
तीन वटा महानगरमा भने एमाले मेयरका उम्मेदवार लगभग तय भएका छन्। ललितपुरमा हरिकृष्ण व्यञ्जनकार, भरतपुरमा विजय सुवेदी र वीरगञ्जमा विजय सरावगीको मात्रै सिफारिश भएको छ। एक-एक जना मात्रै सिफारिश भएकाले तीन वटा महानगरको मेयर लगभग तय भएका छन्। बाँकीको आज बस्ने सचिवालय बैठकले तय गर्नेछ।
त्यस्तै, कांग्रेसमा महानगरका मेयर र उपमेयरको केन्द्रले टुङ्गो लगाउने व्यवस्था छ। उपमहानगरको भने प्रदेश संसदीय समितिले तय गर्ने व्यवस्था छ।
सत्तारूढ गठबन्धनबीच भएको चुनावी तालमेलको सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयरका उम्मेदवार उठाउनेछ। त्यसका लागि आज बिहान ११ बजे पार्टी कार्यालय, सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। कार्यसम्पादन समितिको बैठकमा पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
कांग्रेसले शुक्रबार नै कार्यसम्पादन समितिको बैठक बोलाएको थियो। तर, मेयर र उपमेयरको उम्मेदवारमा सहमति जुट्न नसकेपछि आजलाई सारिएको हो।
बाँकी तीन वटा महानगरमध्ये भरतपुरमा नेकपा (माओवादी केन्द्र), पोखरामा नेकपा (एकीकृत समाजवादी) र वीरगञ्जमा जनता समाजवादी पार्टी (जसपा) ले मेयरको उम्मेदवार उठाउनेछन्। भरतपुरमा माओवादीले रेणु दाहाललाई नै दोहोर्याउने भएको छ भने वीरगञ्जमा जसपाले राजेशमान सिंहलाई उम्मेदवार बनाउने भएको छ। पोखरामा एकीकृत समाजवादीले मेयरको उम्मेदवार तय गर्न बाँकी छ।