पोखराबाट कांग्रेसका उपमेयर मात्रै सिफारिश
स्थानीय चुनावका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखराको उपमेयरमा मात्रै उम्मेदवार सिफारिश गरेको छ।
कांग्रेसको पोखरा महानगर कार्यसमितिले प्रदेश कार्यसमिति समक्ष मेयर र उपमेयरका उम्मेदवार सिफारिश गरेको थियो। त्यसमध्ये प्रदेश पदाधिकारी बैठकले उपमेयरको नाम मात्रै केन्द्रमा पठाएको छ।
कांग्रेस प्रदेश पदाधिकारी बैठकले मेयरका उम्मेदवारको नाम काटेर उपमेयरका नाम मात्रै सिफारिश गरेको हो। उपमेयरमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गरुङ, शिव केसी र गोविन्द नेपालीको सिफारिश भएको छ।
पाँच दलीय गठबन्धनमा भएको तालमेलको सहमति अनुसार, पोखरामा नेकपा (एकीकृत समाजवादी) ले मेयर सीट पाएको छ। कांग्रेसको भागमा उपमेयरको सीट परेको छ।
यसको विरोध गर्दै कांग्रेस महानगर कार्यसमितिले मेयरका उम्मेदवारको नाम पनि सिफारिश गरेको थियो। अब कांग्रेस केन्द्रले प्रदेशबाट आएका नाममध्ये उपमेयरको उम्मेदवार तय गर्नेछ।