ऊर्मि अर्थात् पूर्णबहादुर
गुरुङ पुस्तकलाई आफ्नै सन्तान जसरी माया गर्छन् जसले उनलाई दिवङ्गत छोराको सम्झना गराउँछन्। भन्छन्, “यी किताबसँग खेल्दा, छोरासँगै खेलिरहे जस्तो लाग्छ।”
संस्कृत शब्द ‘ऊर्मि’ को अर्थ हुन्छ, दुःख अनि लहर। वेदनाको लहरले धेरैलाई निराश बनाउँछ। तर, सकारात्मक रूपमा सोच्नेहरू शोकलाई पनि शक्तिमा बदल्छन्, पूर्णबहादुर गुरुङले जस्तै।
भित्तामा लस्करै दराजभरि पुस्तकै पुस्तक। टेबुलमा भर्खर प्रकाशित पत्रपत्रिका मिलाएर राखिएका छन्। एउटा टेबुलमा ८० वर्षीय गुरुङ केही लेखिरहेका हुन्छन्। छेउमा हुन्छ, चियाले भरिएको थर्मस र केही ग्लास।
कोही आउने बित्तिकै गुरुङ नमस्कार गर्दै चिया टक्य्राउँछन्। पढिदिने मान्छे आउँदा निकै खुशी हुन्छन्। सुनसरीको धरान बुद्धचोकस्थित विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष गुरुङको दिनचर्या यिनै पुस्तक र पत्रपत्रिका सम्हाल्दै बित्छ।
उनले यसरी अरूलाई पढ्न हौस्याउँदै पुस्तकको हेरचाह गर्न थालेको तीन दशक बित्यो। हरेक बिहान ३ बजे उठ्ने, ध्यान र मर्निङवाक गर्ने, एक ग्लास दूध तताएर खाने अनि पुस्तकालय पुग्नु उनको दैनिकी हो।
जीवनका झण्डै तीन दशक बन्दूकलाई साथी बनाएका गुरुङका साथी अहिले पुस्तक बनेका छन्। दिनभर तिनै पुस्तक मिलाउने, धूलो टकटक्याउने र पुस्तकालयमा आउने पाठकसँग भलाकुसारी गर्दैमा उनको समय बित्छ। उनी पुस्तकलाई आफ्नै सन्तान जसरी माया गर्छन्, किनभने यिनले उनलाई आफ्ना स्वर्गीय छोराको सम्झना गराउँछन्। भन्छन्, ‘यी किताबसँग खेल्दा, छोरासँगै खेलिरहे जस्तो लाग्छ।’
खोटाङका गुरुङ २०२० सालमा ब्रिटिश सेनामा भर्ना भएका थिए। १६ वर्षपछि पेन्सन पकाएर फर्किए लगत्तै २०३६ सालमा सेक्युरिटी गार्ड बनेर ब्रुनाई गएका थिए। गुरुङको धरानसँगै काठमाडौंको कालोपुलमा घर थियो। एक्लो छोरो विमल कविता लेख्ने, पत्रिका निकाल्ने, पुस्तकालय खोल्ने जस्ता सिर्जनशील काममा लागेको देख्दा उनी हर्षित थिए।
विमलले धरानमा ‘बुद्ध वाचनालय’ खोलेका थिए। उनी इँटा नामको साहित्यिक पत्रिका पनि निकाल्थे, काठमाडौंको दृष्टि साप्ताहिकमा नियमित लेख्थे। साहित्य र पत्रकारितामा लागेका छोरालाई गुरुङ राजनीतिमा चाहिं नलाग्न सल्लाह दिन्थे। किनभने, उनलाई राजनीति आफूहरू जस्ता सोझासीधाले गर्ने काम होइन भन्ने लाग्थ्यो।
ब्रुनाईबाट छुट्टीमा आएका उनी २०४८ वैशाख ९ गते काममा फर्किए। देशमा चुनाव आउन लागेको थियो। चुनावका लागि २४ गते विमल, आमा सरस्वती र सानीआमा धरान आउँदै थिए।
उनीहरू चढेको बस धादिङको जुगेपानीमा दुर्घटनाग्रस्त हुँदा विमलको घटनास्थलमै मृत्यु भयो। आमा घाइते भइन्। १९ वर्षीय छोरो गुमाएपछि गुरुङ परिवारमा सन्नाटा छायो। पूर्णबहादुर ब्रुनाईको जागीर छाडेर तुरुन्तै नेपाल फर्किए। उनी विक्षिप्त जस्तै बने।
“छोराको कोठामा पस्यो जता पनि किताबै किताब देख्छु। धरानको घरमा पनि किताबै किताब थिए। ती किताबले छोराकै मात्र झझल्को आइरह्यो,” उनी भन्छन्, “दुई तिरका घरमा गरी चार-पाँच सय किताब थिए। तिनलाई के गरौं, कसो गरौं झैं भयो। त्यसपछि छोराकै इच्छा पूरा गर्न पुस्तकालय खोलें।”
लामो समय विदेश बसेका गुरुङले छोरासँग धेरै समय बिताउन पाएनन्। त्यसैले छोराका गतिविधि धेरै बुझेका पनि थिएनन्। पछि, छोराका साथीहरूसँग कुरा गर्दा पो उनले राम्रो काम गरिरहेको थाहा पाए।
त्यसपछि गुरुङलाई छोरा र पुस्तकहरूको झनै माया लाग्यो। कोठामा विभिन्न साहित्यिकसँगै मार्क्स, एंगेल्स, लेनिनहरूका पुस्तक थिए। यी पुस्तक फाल्न पनि सकेनन्, कसैलाई दिन पनि मनले मानेन।
विमल बितेपछि गुरुङलाई भेट्न मनमोहन अधिकारी, माधव नेपाल, मोदनाथ प्रश्रित लगायत नेताहरू आए। उनीहरूले पुस्तकालय खोल्न सल्लाह दिए। त्यसपछि काठमाडौंको घर छोरीका नाममा पास गरिदिएर उनी धरान फर्किए अनि पहिला छोराले ‘बुद्ध वाचनालय’ खोलेको ठाउँछेउमै दुई लाख ७५ हजारमा १० धुर जग्गा किनेर दुईतले घर बनाए। त्यस वेला घरजग्गाका लागि उनले करीब पाँच लाख खर्च गरेका थिए।
२०४८ कात्तिक १९ मा मोदनाथ प्रश्रित लगायत कवि-साहित्यकारको उपस्थितिमा ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ को उद्घाटन भयो। अहिले पुस्तकालयमा १० हजारभन्दा बढी पुस्तक छन्। गुरुङले ५० लाखको अक्षयकोष बनाएका छन्। त्यसैबाट हरेक वर्ष राष्ट्रिय स्तरको कविता प्रतियोगिता आयोजना हुन्छ। युवा प्रतिभा पुरस्कार प्रदान गरिन्छ।
गुरुङले पुस्तकालय खोलेपछि छोराले प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका इँटाका पनि सात अङ्क र दुई वटा कविता सङ्ग्रह प्रकाशन गरे। पत्रपत्रिका किन्न वार्षिक ५० हजार हाराहारी खर्चने गरेका छन्।
केही वर्षअघि श्रीमती सरस्वती बितेपछि गुरुङ अहिले एक्लै पुस्तकालय सम्हालिरहेका छन्। काठमाडौंमा रहेकी छोरी शान्ति बुबाको काममा सहयोग गर्छिन्। पुस्तकालय सञ्चालनका लागि समिति बनेको छ। पल्टनका धेरै साथी अहिले बेलायत, हङकङ पुगेका छन्, तर गुरुङ यही पुस्तकालय, यहींको समाजलाई छाड्न सक्दैनन्।
पढ्न भनेर कहिल्यै स्कूल नटेकेका पूर्णबहादुरको जीवनभर अरूलाई पुस्तक पढाउने सोच छ। “मैले पढ्न नपाए पनि अहिले अरूले राम्रोसँग पढिदिए हुन्थ्यो जस्तो लाग्छ‚” उनी भन्छन्, “अहिले पुस्तक पढ्ने मान्छे घट्दै गएकोमा चिन्ता लाग्छ।”
छोराको सपना पछ्याउँदै गर्दा गुरुङले समाजलाई ज्ञान बाँडिरहेका छन्। यो योगदानको कसैले मूल्याङ्कन गर्ला वा नगर्ला, तर निर्देशक प्रणय लिम्बूले गुरुङको प्रेरणादायी कथा फिल्ममा उतारेका छन्, ‘ऊर्मि’ नाम दिएर। ललितपुरको पाटनढोकामा जारी वृत्तचित्र महोत्सव ‘फिल्म साउथएशिया २०२२’ मा छनोट भएको यो फिल्म शनिबार प्रदर्शन हुँदै छ।
‘ऊर्मि’ मा गुरुङसँगै कुलचन्द्र न्यौपाने, विजय सुब्बा, नमिता सुब्बा, हेम राई, भीम गुरुङ, सरोज भुजेल र उत्तरकुमार राईलाई प्रस्तुत गरिएको छ। दीपक बज्राचार्यको छायाङ्कन र चन्दन दत्तको सम्पादन रहेको फिल्म डम्बरकृष्ण श्रेष्ठ, देवराज राई, सुजित सुब्बा, जगत अम्बु गुरुङ, किसन राई, सन्तोषी नेपाल, मदन बस्नेत, इशु लामा, विमल पौडेल, पुष्पराज ऐतवाल र पवन घिमिरेले निर्माण गरेका हुन्।
फिल्मले पुस्तकालयमा जग्गा कारोबारीको नजर परेको विषय पनि उठाएको छ। “पुस्तकालय भएको ठाउँमा जग्गाजमीन महँगो छ। त्यसमा जग्गा कारोबारीको नजर परेको छ। जग्गा बिक्री गर्न सुझाउनेहरू धेरै आउँछन्,” निर्देशक लिम्बू भन्छन्, “अहिलेसम्म पूर्णबहादुर जुनसुकै हालतमा पुस्तकालय चलाउने पक्षमा छन्। उनीपछि भने पुस्तकालय के हुन्छ, समाजले चिन्ता लिनुपर्ने विषय हो।”