स्वतन्त्र उम्मेदवार बन्न कांग्रेस उपमहानगर सभापतिद्वारा पार्टी परित्याग
नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
सत्तारूढ गठबन्धनले जनकपुरको मेयरको सीट जनता समाजवादी पार्टी (जसपा) लाई दिएको विरोधमा उपमहानगरका सभापति साहले पार्टी परित्याग गरेको जनाएका छन्। शुक्रबार जनकपुरमा पत्रकार सम्मेनल गरी मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिन पार्टी परित्याग गरेको बताए।
कांग्रेसलाई मधेशमा समाप्त पार्ने षड्यन्त्र भएकाले त्यस विरुद्ध उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने उनको भनाइ छ। “गठबन्धनको नाममा मधेशमा कांग्रेसलाई समाप्त पार्ने षड्यन्त्र भएको छ,” पत्रकार सम्मेलनमा साहले भने, “गठबन्धन नमानेको खण्डमा पार्टीले कारबाही गर्ने बताएपछि पार्टी परित्याग गरेको हुँ। अब मेयरमा स्वतन्त्र उम्मेदवारी दिन्छु।”
उनी जनकपुरधाम उपमहानगरको मेयरमा कांग्रेसबाट प्रमुख दाबेदार थिए। २०७४ सालको स्थानीय निर्वाचनमा पनि उनी कांग्रेसबाट मेयरको उम्मेदवार बनेका थिए। उनी राजपाका लालकिशोर साहसँग पराजित भएका थिए।
लालकिशोरले २१ हजार ९०३ मत पाएका थिए भने दोस्रो नम्बरमा रहेका उनले ११ हजार १६४ मत पाएका थिए।
कांग्रेसका कार्यकर्तासँग सल्लाह गरेरै पार्टी परित्याग गरेको उनको भनाइ छ। कांग्रेसका २५ वटै वडाका सदस्यहरूको भावना अनुरूप आफूले पार्टी परित्याग गरेको उनको भनाइ थियो।
उपमहानगर सभापति साहसँगै सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहले पनि राजीनामा दिएको घोषणा गरेका छन्।