पोखराको मेयरमा एमाले र पूर्व एमालेबीच प्रतिस्पर्धा हुने
स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा लामो समय नेकपा (एमाले) मा रहेर काम गरेका सहकर्मी नेताबीचमै प्रतिस्पर्धा हुने भएको छ।
सत्तारूढ पाँच दलीय गठबन्धनले पोखरा महानगरमा नेकपा (एकीकृत समाजवादी) बाट मेयरको उम्मेदवार बनाउने निर्णय गरेपछि लामो समय एउटै पार्टीमा काम गरेका नेताबीच नै प्रतिस्पर्धा हुने भएको हो। एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा एमालेकै पूर्व नेताहरू छन्।
एमाले महानगर कमिटीले मेयरका लागि १२ जनाको नाम सिफारिश गरेको छ। जसमा केन्द्रीय सदस्यहरू भीम कार्की, मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, पोखरा-१३ का वडाध्यक्ष दर्शन लामा, पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी छन्। त्यस्तै, उपमेयरमा पोखरा-१९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेलको नाम सिफारिश भएको छ।
सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले मेयरको उम्मेदवार उठाउन पाउने भएपछि थुप्रैले दाबी गरेका छन्। अहिलेसम्म १३ जना आकाङ्क्षी देखिएको एकीकृत समाजवादीका कास्की सचिव होम नेपालीले बताए। “महानगर कमिटीमा १३ जना साथीहरूले आकाङ्क्षा देखाएका छन्। उनीहरूमध्ये जिल्ला अध्यक्ष धनराज आचार्य, श्रीनाथ बराल र प्रेम थापा मुख्य प्रतिस्पर्धी हुनुहुन्छ,” सचिव नेपालीले भने।
एकीकृत समाजवादीबाट दाबेदार भनेका सबै लामो समय एमालेमै काम गरेका नेता हुन्। दुवै पार्टीबाट मेयरका दाबेदार रहेका कतिपय त तीन दशकदेखि सँगसँगै एउटै पार्टीमा काम गरेका नेता छन्। लामो समय एउटै पार्टीमा रहेका काम गरेका नेता फरक फरक पार्टीबाट उम्मेदवार बन्ने भएपछि पोखराको चुनावी माहोल पनि तातेको छ। उनीहरू पुरानो सम्बन्धले फाइदा पुग्ने पनि अपेक्षा गरेका छन्।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले आफ्नो पार्टीमा एमालेकै जिन भएकाले एमालेबाट मत तान्न सकिने बताउँछन्। “एमालेमा हाम्रो अंश पनि छ, हंस पनि छ,” आचार्य भन्छन्, “एमालेबाट कसैले भोट तान्न सक्छ भने त्यो एकीकृत समाजवादी नै हो। एमाले र गठबन्धनको सहयोगबाटै महानगरमा हाम्रो विजय हुन्छ।”
एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपाने भने गठबन्धनमा देखिएको किचलोले एमाले उम्मेदवारलाई सजिलो हुने बताउँछन्। “पहिलो त एमाले कास्की एकढिक्का छ,” उनी भन्छन्, “टिकटको विषयमा सत्ता गठबन्धनमा झन् खटपट छ। यसले अन्तर्घात नहोला भन्न सकिन्न।”
विगतको मत हेर्दा एमाले बलियो देखिन्छ। तर, सत्ता गठबन्धन, नयाँ मतदाता र पार्टी विभाजनले गर्दा एमालेलाई त्यति सजिलो छैन। एमालेले गठबन्धनमा रहेका पार्टी नेतालाई पनि तानिरहेको छ। गत निर्वाचनमा जसपाबाट मेयरको उम्मेदवार बनेका हुम गुरुङलाई स्वागत गरेको छ।
त्यस्तै, जसपाका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी प्रदेश समिति इन्चार्ज गणेशमान गुरुङ पनि एमालेमा प्रवेश गरेका छन्। अर्का केन्द्रीय सदस्य देवी सुवेदी र गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक तामाङ पनि एमालेमा गएका छन्।
एकीकृत समाजवादीले पनि एमाले कार्यकर्ता तान्न जोड गरिरहेको छ। महानगरका ३३ वटै वडामा कमिटी गठन गरेको छ। पोखरामा आठ हजार संगठित सदस्य भइसकेको एकीकृत समाजवादीको दाबी छ। त्यसमा अधिकांश एमालेबाटै आएका नेता तथा कार्यकर्ता हुन्।
पोखरा महानगरमा ३३ वडा छन्। २०७४ सालको निर्वाचनमा एमालेले मेयर र उपमेयर सहित २२ वटा वडाध्यक्ष जितेको थियो। कांग्रेसले १३ वटा वडामा जितेको थियो।
त्यस्तै, पोखराको मेयरमा लेखक गनेस पौडेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
अहिले पाँच दलीय गठबन्धन, नयाँ मतदाता र नेता- कार्यकर्ताको पार्टी अदलबदल भएकाले पाँच वर्ष अघिभन्दा अवस्था फरक भएको राजनीतिक विश्लेषक कपिलमणि दाहाल बताउँछन्। “कुन पार्टीभन्दा पनि कुन पार्टीले जनताको लागि के गरे भन्ने कुरा ठूलो हो,” पृथ्वीनारायण क्याम्पसमा राजनीतिशास्त्र अध्यापन गराउने दाहाल भन्छन्, “स्थानीय चुनावमा पार्टीले कसलाई टिकट दिन्छ भन्ने कुरामा पनि महत्त्वपूर्ण हुन्छ।”
कांग्रेसमा असन्तुष्टि
सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले मेयरको उम्मेदवार उठाउने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि देखिएकाे छ। कास्की कांग्रेस सचिवद्वय भानुभक्त ढकाल र देवेन्द्र रानाभाट एवं पोखरा महानगर कार्यसमिति सचिवद्वय गणेश थापा र टुवराज बास्तोलाले विज्ञप्ति निकालेर विरोध जनाएका थिए। उनीहरूले जनाधार कांग्रेससँग धेरै भएकाले कांग्रेसले नै टिकट पाउनुपर्ने माग राखेका थिए।
केन्द्रमा निर्णय भएको दिन कांग्रेस महानगर कार्यसमितिले जिल्ला कार्यालयमा तालाबन्दी नै गरेको थियो। अहिले मेयरका लागि उम्मेदवार समेत सिफारिश गरेर पठाइसकेको छ।
कांग्रेसबाट सिफारिश भएका १८ जनामा किशोरदत्त बराल, सुदीपमोहन भट्टराई, कृष्णबहादुर केसी, सरस्वती गुरुङ, निर्मलप्रसाद कर्माचार्य, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, बिन्दुकुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, परमेश्वर पोखरेल र ऋषि सापकोटा छन्।
पार्टीमा असन्तुष्टि बढेपछि सबै एकढिक्का भएर लाग्ने कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल बताउँछन्। उनी भन्छन्, “गठबन्धनको सिङ्गो टीम निर्वाचनमा जित्ने र जिताउने अभियानमा लाग्नेछ।”
यस्तो छ विगत
२०७४ सालमा मेयरमा १६ जनाले उम्मेदवारी दिएका थिए। कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई एमालेका मानबहादुर जिसीले १३ हजार ७०४ मतान्तरले पराजित गरेका थिए। एमालेका जिसीले ६० हजार ११८ र कांग्रेसका कुँवरले ४६ हजार ४१६ मत पाएका थिए।
तेस्रो नम्बरमा रहेका संघीय समाजवादीका उम्मेदवार हुम गुरुङले तीन हजार १७० मत पाएका थिए। त्यस्तै, राप्रपाकी गीता गुरुङले दुई हजार २७२, अखण्ड नेपालका मोती गिरीले २९६, नेकपा (माले) का टेकनाथ भण्डारीले २५८, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर खत्री क्षेत्रीले २०६ र स्वतन्त्र उम्मेदवार अमनविक्रम थापाले १४० मत पाएका थिए।
थपिए ३९ हजार मतदाता
वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा ३९ हजार ६४५ मतदाता थपिएका छन्। २०७४ सालमा एक लाख ६८ हजार ६७ मतदाता थिए भने एक लाख २५ हजार ९३२ मत खसेको थियो।
यस पटक दुई लाख सात हजार ७१२ मतदाता पुगेको निर्वाचन कार्यालय, पोखराले जनाएको छ। नयाँ थपिएका युवा मतदाता निर्णायक हुने देखिएको छ।