लिमीमा पनि भेटिए ‘स्टिप पोलक्याट’, पालास र पाहन बिरालो
संरक्षण क्षेत्र बाहिर पनि मांसाहारी वन्यजन्तु प्रजातिका ‘स्टिप पोलक्याट’, पालास र पाहन बिरालो भेटिएका छन्।
उपल्लो हुम्लाको लिमी उपत्यकामा बिरालो परिवारका पालास बिरालो र पाहन बिरालो तथा मलसाँप्रो परिवारको ‘स्टिप पोलक्याट’ भेटिएका हुन्। गत वर्ष असारदेखि असोजसम्म गरिएको अध्ययनमा संरक्षण क्षेत्र बाहिर पनि यी मांसाहारी प्रजाति भेटिएको अध्ययन टोलीको नेतृत्व गरेका वन्यजन्तु अनुसन्धानकर्ता नरेश कुसीले बताए। “यी तीन वटै प्रजाति नेपालको संरक्षित क्षेत्र बाहिर पहिलो पटक भेटिएका हुन्,” उनले भने।
उनका अनुसार, ‘स्टिप पोलक्याट’ प्रत्यक्ष देखिएको हो भने पालास बिरालो र पाहन बिरालो स्वचालित क्यामरामा रेकर्ड भएका हुन्।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको ‘वाइल्डलाइफ कन्जर्भेशन रिसर्च युनिट’ मा आबद्ध ‘हिमाली ब्वाँसो परियोजना’ र नेपालको रिसोर्सेस हिमालय फाउन्डेशनले वन तथा भू-संरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको सहकार्यमा अध्ययन गरेको थियो।
अध्ययनलाई डिभिजन वन कार्यालय, हुम्ला र नाम्खा गाउँपालिका, हुम्लाले पनि सघाएको थियो भने वातावरणीय सुशासन कार्य समूह पनि यसमा साझेदार छ। उपल्लो हुम्लाको वन्यजन्तु संरक्षणका लागि स्थानीय बासिन्दाको सहभागितामा अध्ययन भएको हो।
मुस्ताङपछि हुम्लामा पोलक्याट
स्टिप पोलक्याट सन् २०१४ मा अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको उपल्लो मुस्ताङमा भेटिएको थियो। यो नेपालका लागि नयाँ स्तनधारी प्रजातिका रूपमा अभिलेख गरिएको थियो।
त्यसको सात वर्षपछि हुम्लामा पनि पोलक्याट देखिएको अध्ययनमा सहभागी प्राणीशास्त्री सविता गुरुङले बताइन्। “अघिल्लो रेकर्ड क्यामेरा ट्रयापमा रातिको समयको थियो भने यस पटक हामीले यो सुन्दर प्राणीलाई प्रत्यक्ष रूपमा देख्न पायौं। तस्वीर र भिडिओ पनि खिच्न भ्यायौं,” गुरुङले भनिन्।
अन्तर्राष्ट्रिय संरक्षण संघ (आईयूसीएन) ले यो प्रजाति नेपालमा पनि पाइने उल्लेख गरेको भए पनि विश्वव्यापी वितरण नक्शामा भने नेपाललाई देखाएको छैन। “हुम्लामा स्टिप पोलक्याट देखिएको खबरले हामीलाई एकदमै उत्साहित बनाएको छ,” नेपालमा यसको पहिलो अभिलेख गरेका डा. मधु छेत्रीले भने, “यसले दक्षिणएशियामा यो प्रजातिको फैलावटबारे महत्त्वपूर्ण तथ्य थपेको छ।”
नेपालमा ‘न्यून जानकारी भएको’ प्राणीको कोटिमा राखिएको ‘स्टिप पोलक्याट’ को अझैसम्म नेपाली नाम भने राखिएको छैन।
पालास बिरालोको पारिवारिक तस्वीर
पालास बिरालो सन् २०१२ मा अन्नपूर्ण संरक्षण क्षेत्रकै उपल्लो मनाङमा भेटिएको थियो। यो नेपालमा पाइएको नयाँ स्तनधारी प्रजातिका रूपमा अभिलेख भएको थियो।
हुम्लामा स्वचालित क्यामेराले दुई वटा वयस्कसँगै एउटा बच्चाको तस्वीर खिचेको छ। “पालास बिरालोको परिवारको तस्वीर प्राप्त भएको देख्दा एकदमै खुशी लागेको छ,” नेपालमा यसको पहिलो अभिलेख गरेका टाशी राप्ते घलेले भने। पालास बिरालो पनि नेपालमा ‘न्यून जानकारी भएको’ प्राणीको कोटिमा राखिएको छ।
पाहन बिरालोको वैज्ञानिक पुष्टि
राष्ट्रिय रूपमा ‘संवेदनशील’ कोटिमा राखिएको पाहन बिरालो नेपालको संरक्षित वन्यजन्तु हो। यसअघि यो प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, ढोरपाटन शिकार आरक्ष र शे-फोक्शुन्डो राष्ट्रिय निकुञ्ज, डोल्पामा भेटिएको थियो।
“लिमीका स्थानीय बासिन्दाले सन् २०१३ मै पाहन बिरालो पाइने जानकारी दिएका थिए, तर त्यसको वैज्ञानिक पुष्टि हुन सकेको थिएन,” अध्ययनमा सहभागी हिमाली ब्वाँसो परियोजनाका निर्देशक डा. जेराल्दिन वेरहानले भने, “यस पटक क्यामेरा ट्र्यापमा प्राप्त तस्वीरले यो प्रजाति हुम्लामा पाइने पुष्टि भएको छ।”
उपल्लो हुम्लामा जङ्गली चौंरी गाई, तिब्बती गधा र कियाङ, अर्गाली, घोवा, तिब्बती फ्याउरो, हिमाली ब्वाँसो, कस्तूरी मृग, हिउँ चितुवा आदि महत्त्वपूर्ण स्तनधारी वन्यजन्तु पाइन्छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट गणेश पन्तले यो आफैंमा एउटा उपलब्धि सरह भएको बताए। उनले भने, “यी अभिलेखपछि हुम्ला जिल्ला नेपालमा यी तीनवटै प्रजाति पाइने सबैभन्दा पश्चिमको बिन्दुका रूपमा देखिएको छ।”
राष्ट्रिय वन्यजन्तु सप्ताहको अवसरमा वन तथा भू-संरक्षण विभागका महानिर्देशक राजेन्द्र केसी र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले जारी गरेको विज्ञप्तिमा पनि उपल्लो हुम्लामा पाइने विशिष्ट जैविक विविधतालाई जोगाइराख्न थप समर्पित संरक्षण कार्य गर्नुपर्ने देखिएको जनाइएको छ।