बुद्ध जन्मस्थल लुम्बिनीमा हवन
बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल लुम्बिनी परिसरमा हिन्दू धर्मग्रन्थहरूमा उल्लेख नै नभएको रुम्मिनदेईको नाममा हिन्दू परम्परा अनुसार हवन गरिनु झट्ट हेर्दा केही व्यक्तिको लहडबाजी देखिन्छ। तर, यो लहडबाजी मात्रै होइन‚ गम्भीर र संवेदनशील विषय हो।
हिन्दू धर्मको सबैभन्दा पुरानो र महत्त्वपूर्ण धार्मिक ग्रन्थ ऋग्वेदमा विभिन्न देवीदेवताका नाम उल्लेख भए पनि ‘रुम्मिनदेई’ नाम उल्लेख छैन। यजुर्वेद, अथर्ववेद र सामवेद तथा पुराणमा पनि उक्त नाम उल्लेख भएको पाइँदैन। रामायण र महाभारत जस्तो महाकाव्यमा पनि उक्त नाम कतै भेटिंदैन।
तर, ३ वैशाख, रामनवमी तथा चैत्र पूर्णिमाको दिन गौतम बुद्ध जन्मस्थल लुम्बिनी परिसरमा केही हिन्दू धर्मावलम्बीहरू आई हठात् ‘रामनवमी, चैत्र पूर्णिमा रुमिनदेई माता पूजा आराधना हवन तथा शक्ति पाठ कार्यक्रम’ को आयोजना गरे। यसअघि यहाँ यस्तो कार्यक्रम भएको थिएन। त्यसैले यो चर्चायोग्य छ।
बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल लुम्बिनी परिसरमा हिन्दू धर्मग्रन्थहरूमा उल्लेख नै नभएको रुम्मिनदेईको नाममा हिन्दू परम्परा अनुसार हवन गरिनु झट्ट हेर्दा केही व्यक्तिको लहडबाजी देखिन्छ। तर, यसलाई लहडबाजीको रूपमा मात्रै लिन सकिंदैन। यो गम्भीर र संवेदनशील विषय हो। यसले धेरै अर्थ राख्छ। भविष्यमा यस्ता घटना नदोहोरियोस् भनी सजग हुन छलफल आवश्यक छ।
रुम्मिनदेई नाम अन्यत्र अपरिचित भए पनि लुम्बिनीसँग सम्बन्धित शब्द हो। यसलाई बौद्ध विषयवस्तुसँग सम्बन्धित गरेर हेर्दा कुरा प्रष्ट हुन्छ। गौतम बुद्धको जन्मपछि बौद्धजनका लागि लुम्बिनी तीर्थस्थलका रूपमा विकास भएको थियो। तर, उतारचढावका क्रममा लुम्बिनीप्रति मान्छेको चासो कम हुन पुग्यो।
सातौं शताब्दीतिर लुम्बिनी पुगेका चिनियाँ यात्री ह्वेनसाङको वर्णनमा त्यो वेला नै लुम्बिनी ओझेलमा पर्न थालिसकेको बुझिन्छ। दशौं शताब्दीतिर भारतमा मुसलमानी आक्रमण हुन थालेपछि बौद्ध धर्मावलम्बीहरूले धर्मान्तरण गर्दै इस्लाम धर्म अपनाए। यस्तो अवस्थामा लुम्बिनीप्रति मान्छेको चासो कम हुनु स्वाभाविक हो।
यस्ता उतारचढावले कालान्तरमा लुम्बिनी क्षेत्र उजाड र निर्जन हुन पुग्यो। जनमानसमा लुम्बिनी नाम पनि विस्मृतिको गर्तमा पुरियो। सर्वसाधारणले लुम्बिनी भन्न नजानेर अपभ्रंश गरी रुम्मिनदेई भन्न पुगेको पाइन्छ। सन् १८९६ मा लुम्बिनी ‘डिस्कभरी’ हुँदा यो क्षेत्रको नाम रुम्मिनदेई थियो। पछि मात्रै लुम्बिनी नाम पुनः प्रचलनमा ल्याइएको कुरा यहाँ स्मरणीय छ। लुम्बिनीस्थित अशोकस्तम्भको शिलालेखमा लुम्बिनीलाई ‘लुंमिनी’ भनिएको छ। गौतम बुद्धको जन्मअङ्कित मायादेवीको मूर्तिलाई चिन्न नसकेर ‘लुम्बिनी देवी’ भनिएको र त्यही शब्द अपभ्रंश भई ‘रुम्मिनदेई’ भनेको हुन सक्ने धेरै सम्भावना छ। भाषाविज्ञान अनुसार ‘ल’ र ‘र’मा भेद छैन।
चीनमा प्राप्त चौथो शताब्दीको पाण्डुलिपि ‘सुइ–चिंग–चु’ (Shui-Ching-Chu) मा यस मूर्तिबारे पहिलो पटक उल्लेख भएको पाइएको छ। लुम्बिनी पुगेका चिनियाँ यात्री सेङ साईको यात्रा विवरणमा शिशुलाई जन्माउँदा मायादेवीले समाएको अशोक–वृक्ष जीवित रहेको र अशोक–वृक्षको हाँगा समाएकी महामायादेवीको मूर्ति पनि त्यसै रूखमुनि राखिएको उल्लेख छ। मूर्तिको अग्रभाग ताछिएको अवस्थामा अझै लुम्बिनीमा देख्न पाइन्छ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान सन् १८९६ मा भएको हो। पहिचानको आधार अशोक स्तम्भमा कुँदिएको राजा अशोक शिलालेख हो। स्तम्भ रहेको ठाउँभन्दा पूर्वतिर केही फीटको दूरीमा ठूलो ढिस्को थियो। ढिस्कोमाथिको छाप्रोमा शिरविहीन एउटा भग्न मूर्ति राखिएको थियो। स्थानीयहरू यसलाई रुम्मिनदेई नामको वनदेवी भनेर पूजा गर्दथे। काली भनेर बलि पनि चढाउँथे।
ह्वेको नजर उक्त भग्न मूर्तिमाथि पर्यो। मूर्ति माता मायादेवीले गौतम बुद्धलाई जन्म दिइरहेको मूर्ति भनेर पहिचान भयो। यस्ता खालका मूर्तिहरू अन्यत्र पनि पाइन्छन्। पछि उत्खननका क्रममा उक्त मूर्तिको शिर भाग भेटियो। त्यसको निकै वर्षपछि खुट्टाको भाग भेटियो। अहिले मूर्ति पूर्ण भएको छ।
मायादेवीको मूर्ति भनी नचिनेकाले ‘रुम्मिनदेई माई’ भनेर पूजा गरिनु तत्कालीन समाजमा स्वाभाविक थियो। तर‚ गौतम बुद्धलाई जन्म दिइरहेकी मायादेवीको मूर्ति भनेर पहिचान भइसक्दा पनि स्थानीयले वनदेवी वा कालीमाई नै भनी पशुबलि चढाउँदै आएका थिए। जापानी भिक्षु इकाई कावागुचीको विरोध र अनुरोधमा मूर्तिमा पशुबलि चढाउन प्रतिबन्ध लगाउने काम राणा प्रधानमन्त्री चन्द्रशमशेरबाट भएको थियो।
अब प्रश्न उठ्छ‚ ऐतिहासिक‚ पुरातात्त्विक तथा तमाम साहित्यले गौतम बुद्धको जन्मस्थल भनेर प्रमाणित गरेको र सोही अनुसार विश्व सम्पदा सूचीमा राखिएको यस स्थलमा पुनः रुम्मिनदेई नामलाई ब्युँताउने र पुनः हिन्दू परम्परा अनुसार नै पूजा थाल्नुको औचित्य के हो?
लुम्बिनी परिसरमा हिन्दू विधिबाट रुम्मिनदेईको नाममा हवन गर्नुलाई धार्मिक समन्वय वा धार्मिक सद्भावका रूपमा जबर्जस्ती भाष्य बनाउन त सकिएला, तर यो एकतर्फी मात्रै हुन्छ। यस घटना–प्रवृत्तिलाई बौद्ध समाजले भने प्रशासनिक पहुँचको बलमा केही हिन्दू धर्मावलम्बीको ठाडो हस्तक्षेप र बौद्ध धर्ममाथि हिन्दू धर्मको अतिक्रमण भनेर बुझेको पाइनु गम्भीर कुरा हो। केही सय वर्ष अघिदेखि कतिपय हिन्दू गुरूले बौद्ध धर्मदर्शनलाई आफ्नो शाखा धर्मको भएको मन्तव्य दिने गरेको पाइन्छ। बौद्धहरू त्यसको कडा प्रतिवाद गर्छन्। हिन्दू र बौद्ध धर्मले बोकेको जीवनदर्शन एकअर्कासँग मिल्दैन। यस अवस्थामा बौद्धजगत् हिन्दूसँग सशङ्कित हुनु स्वाभाविक पनि हो।
गौतम बुद्धसँग सम्बन्धित सम्पूर्ण क्षेत्रको नियमन तथा विकासका लागि गठित सरकारी निकाय लुम्बिनी विकास कोष हो। बौद्ध इतिहास र पुरातत्त्वबारे जनचेतना जगाउने दायित्व पनि यसै निकायमाथि रहेको कुरा लुम्बिनी र त्यस वरिपरि कोषले लामो समयदेखि निर्वाह गर्दै आएको भूमिकाबाट प्रष्टिन्छ। तर, कोषको उक्त कामले खासै सफलता प्राप्त नगरेको यस स्थलमा गरिएको रुम्मिनदेई माताको नाममा गरिएको हवन कार्यक्रमले देखाएको छ।
लुम्बिनीसँग सम्बन्धित विषयको अध्ययन‚ अनुसन्धान तथा प्रचारप्रसार गर्नुको साटो रुम्मिनदेईको नाममा हिन्दू पद्धति अनुसार हवन गर्न कोषले अनुमति दिनु आपत्तिजनक कुरा हो। यति मात्रै होइन‚ कार्यक्रमको सहयोगी स्वयं लुम्बिनी विकास कोष र लुम्बिनी पर्यटन व्यवसायी संघ रहेका छन्।
यथार्थ थाहा नपाएर ‘रुम्मिनदेई माता’ को हवन गर्न अनुमति दिएको वा सहयोगी बन्न पुगेको भनेर कोषले आफ्नो बचाउ त गर्न सक्ला, तर उसको विज्ञतामाथि भने प्रश्न उठ्छ। कोषमा सम्बन्धित विज्ञहरूको अभाव भनी आफ्नो लाचारी प्रकट गरिहाले पनि सल्लाहकार परिषद्मा रहेका सल्लाहकारहरूको योग्यता र नैतिकतामाथि पनि स्वाभाविक रूपमा प्रश्न उठ्छ।
लुम्बिनी विकास कोषका पदाधिकारी प्रायः हिन्दू हुने गरेकोमा बौद्ध समाजले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएको थियो। वर्तमान उपाध्यक्ष अवधेशकुमार यादव स्वयं बौद्ध भिक्षु (भिक्षु मेत्तिय) हुन्। महासचिव सानुराजा शाक्य पनि बौद्ध संघसंस्थाहरूसँग आबद्ध व्यक्ति हुन्। अहिलेको अवस्थामा संस्थाको दायित्वबाट कतिपय व्यक्ति च्युत भएका छन्। साथसाथै नैतिकताका सवालमा पनि प्रश्न उठेको मान्नुपर्छ। तर‚ कोषका पदाधिकारीहरू यस विषयमा मौनता साँधेर बसिरहेका छन्।
लुम्बिनीबारे बिर्सन नहुने एउटा कुरा हो, यहाँ प्रत्येक चैत्र पूर्णिमाको दिन ठूलो मेला लाग्छ। यो गौतम बुद्धको जन्म, बोधिलाभ र महापरिनिर्वाणसँग सम्बन्धित बौद्ध पर्व हो। यो पर्व संसारभर एउटै मितिमा एकै तरीकाले नमनाई आआफ्नो सुविधा अनुसारको दिनमा मनाउने चलन छ। पछिल्लो समय नेपालमा वैशाख पूर्णिमाको दिन मात्रै यो पर्व मनाइए पनि कुनै वेला चैत्र पूर्णिमादेखि वैशाख पूर्णिमासम्म मनाइने गरेको अनुमान छ। अहिले पनि कतै कतै वैशाख पूर्णिमाको दिन शुरू गरी एक महीनापछि भव्य समारोहबीच समापन गर्ने चलन छ। चैत्र पूर्णिमाको दिन लुम्बिनीमा लाग्ने मेला प्राचीन कालमा जन्म, बोधिलाभ र महापरिनिर्वाणको सन्दर्भमा मनाइने पर्वकै अवशेष भए पनि अर्थ भने बिर्सिएको अवस्था छ।