एक करोड १९ लाख मतपत्र छापिए
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबारसम्म एक करोड १९ लाख मतपत्र छापेको छ।
आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनको तयारी सम्बन्धी जानकारी दिंदै प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छपाइको काम धमाधम भइरहेको बताए। “आजसम्म ५३ जिल्लाका एक करोड १९ लाख मतपत्र छापिएका छन्,” उनले भने।
अब २८ जिल्लाका मतपत्र छपाइ गर्न बाँकी छ। बाँकी जिल्लाको मतपत्र पनि छपाइ भइरहेको उनले बताए।
त्यस्तै, बिहीबारदेखि नै निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन सामग्री पठाउन थालिएको छ। सबै जिल्ला र स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ।
मतपत्रको नेपाली सेनाको सुरक्षामा ढुवानी गरिने भएको छ। अन्य सामग्री भने व्यवसायी मार्फत नै ढुवानी गरिने आयोगका प्रवक्ता पौडेलले बताए।
मतपत्र ढुवानीको काम वैशाख १५ गतेपछि हुने उनले बताए। सुरक्षालाई ध्यानमा राखेर अन्तिम समयतिर मात्रै मतपत्र ढुवानी हुने उनको भनाइ थियो।