जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु, आठ बिरामी
पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरू दिदीबहिनी हुन् ।
जङ्गली च्याउ तरकारीका रुपमा खाँदा दुईजनाको मृत्यु भएको छ भने आठजना बिरामी परेको प्रहरीले बताएको छ ।
चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दुईकाे मृत्यु भएको बताइएको छ ।
बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी रहेका छन् ।
उनीहरू चार परिवारका सदस्य हुन् । बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरू शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका हुन् । वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
बिरामीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।