बुटवलको मेयरमा कांग्रेसबाट पाण्डेय सर्वसम्मत, एमालेबाट आठ दाबेदार
नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिको मेयरका लागि सर्वसम्मत उम्मेदवार सिफारिश गरेको छ।
सत्तारूढ दलबीच भएका तालमेलको सहमति अनुसार, बुटवल उपमहानगरमा मेयरको उम्मेदवार कांग्रेसको भागमा परेको छ। त्यसका आधारमा बिहीबार बसेको कांग्रेस उपमहानगर कार्यसमितिको बैठकले मेयरका लागि खेलराज पाण्डेयको नाम सिफारिश गरेको हो।
कांग्रेस उपमहानगर कार्यसमितिका सचिव छाया पोख्रेलका अनुसार, पाण्डेयको नाम सर्वसम्मतिबाट सिफारिश गरिएको छ। पाण्डेय कांग्रेसको उपमहानगर कार्यसमितिका सपभाति हुन्।
उनी गत निर्वाचनमा पनि मेयरको उम्मेदवार बनेका थिए। त्यति वेला नेकपा (एमाले) का उम्मेदवार शिवराज सुवेदीसँग दुई हजार चार सय मतले पराजित भएका थिए।
त्यस्तै, एमालेले बुटवलको मेयरका लागि आठ जनाको नाम सिफारिश गरेको उपमहानगर अध्यक्ष किसन ज्ञवाली जानकारी दिए। उनका अनुसार, शिवराज सुवेदी, गुमादेवी आचार्य, बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी, सूर्यबहादुर भट्टराई र सावित्रा अर्यालको नाम सिफारिश गरिएको छ।
मेयरमा सिफारिश भएका सुवेदी अहिलेका मेयर र आचार्य उपमेयर हुन्। त्यस्तै, राना र भट्टराई एमाले प्रदेश कमिटी सदस्य हुन्।
मेयरमा सिफारिश भएकी आचार्यले आफ्नो स्वाभाविक दाबी रहेको बताइन्। पाँच वर्ष उपमेयर भएर काम गरेकाले अब आफूले मेयरमा चुनाव लड्न पाउनुपर्ने उनको भनाइ छ।