कांग्रेस पोखराले गर्यो मेयरको उम्मेदवार सिफारिश
सत्तारूढ गठबन्धनले गरेको तालमेलको सहमतिप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले मेयर र उपमेयरको उम्मेदवार सिफारिश गरेको छ।
पाँच दलबीच भएको तालमेलको सहमति अनुसार, गठबन्धनका तर्फबाट पोखरामा नेकपा (एकीकृत समाजवादी) ले मेयरको उम्मेदवार उठाउनेछ। कांग्रेसको भागमा भने उपमेयर परेको छ।
तर, कांग्रेस महानगर कार्यसमितिले त्यसप्रति असन्तुष्टि जनाउँदै मेयर र उपमेयरको उम्मेदवार सिफारिश गर्ने निर्णय गरेको हो। कांग्रेस पोखरा महानगरका लागि किशोरदत्त बराल, सुदीपमोहन भट्टराई, कृष्णबहादुर केसी, सरस्वती गुरुङ, निर्मलप्रसाद कर्माचार्य, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, बिन्दुकुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, परमेश्वर पोखरेल र ऋषि सापकोटाको नाम मेयर उम्मेदवारका लागि प्रदेश समिति समक्ष सिफारिश गरिने सचिव गणेशबहादुर थापाले बताए।
त्यस्तै, उपमेयरका लागि माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसीको नाम सिफारिश गरेको छ।
मेयरमा कांग्रेसको उम्मेदवार नभएमा स्थानीय चुनावमा मौन बस्ने थापाको भनाइ छ। “प्रदेशलाई आकाङ्क्षीको नाम सिफारिश गरेका छौं । यसले थप के निर्णय गर्छ, बाँकी प्रक्रियाबाटै थाहा होला,” उनले भने।
कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले महानगर कार्यसमितिले विधिसम्मत तरीकाले नाम सिफारिश गरेको बताए। “पार्टीमा आकाङ्क्षी देखिएकाहरूको नाम सिफारिश हुनु स्वाभाविक हो। यसलाई नै अघि बढाइदिन प्रदेश समितिलाई मेरो अनुरोध छ,” बरालले भने।
यससँगै कांग्रेस पोखरा महानगरपालिका समितिले जिल्ला कार्यसमितिको कार्यालयमा लगाएको ताला पनि बिहीबार खोलेको छ। सत्ता गठबन्धनका तर्फबाट पोखराको मेयर उम्मेदवार एकीकृत समाजवादीबाट बनाउने निर्णय गरेसँगै रुष्ट महानगर समितिले बुधबार बिहानै तालाबन्दी गरेको थियो।