सामाजिक सञ्जालको दुरुपयोग रोक्न के गर्ने, कसरी बच्ने ?
स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धीलाई हराउन सामाजिक सञ्जाल मार्फत अविश्वास, घृणा फैलाउने गलत र मिथ्या सूचनाको बाढी आउन सक्छ। एउटा रूसी कथन छ- भरोसा गर, तर जाँच। हामीले अहिले यही जाँच्ने क्षमताको विकास गर्नु छ।
हाम्रो समय बेचैन छ। यो युग रिस, आशङ्का, भय, भ्रम, विभाजन, ध्रुवीकरण अनि संस्थाहरूप्रति बढ्दो अविश्वास र घृणाको हो। डिजिटल प्रविधि विस्तारका कारण हामी दर्शक पनि हौं र योद्धा पनि। आँखा झिमिक्क पार्दा हामी दर्शकदीर्घा र धुलाम्मे रणभूमिका बीचमा अगाडि र पछाडि घुम्दै भूमिकाहरू बदल्न सक्छौं।
टर्कीकी विख्यात साहित्यकार एलिफ शफाकले वर्तमानको बेचैनीबारे हालै प्रकाशित एक लेखको शुरूआत यसरी गरेकी छन्।
आशा आफैंमा सकारात्मक भाव दिने शब्द हो। तर, यसमा पूर्णता नभएरै हुनुपर्छ, भर र आशा समास भएर बन्यो- भरोसा। शफाक यही भरोसाको सङ्कटको कुरा गर्छिन्। यहींनेर हुभर इन्स्टिच्यूसनकी साइबर सुरक्षाविद् ज्याकलिन स्नाइडेर पनि घातक साइबर आक्रमणको प्रसङ्गमा यस्तो ‘भरोसा विनाको संसार’ को चर्चा गर्छिन्, जुन आजको आम चुनौती बनेको छ।
तर, स्नाइडेरकै भनाइमा, संसारमा मानिसले आजभन्दा बढी भरोसा यसअघि कसै र केहीप्रति कहिल्यै गरेको थिएन। हिजो चिनेजानेका व्यक्ति वा आफ्ना खास समूहलाई मात्र विश्वास गर्ने मानिसको भरोसाको दायरा अहिले व्यापक फैलिएको छ।
आजको आधुनिक अर्थशास्त्रमा भरोसा विनिमयको वस्तु बनेको छ। कारण, हामी इन्टरनेटको अर्थात् साइबर युगमा छौं, जहाँ डिजिटल र अनलाइन जीवनका अभिन्न अङ्ग बनिसकेका छन्। दैनिक जीवनचर्यामा इन्टरनेटप्रति हाम्रो विश्वासको सीमै छैन।
मूलधार मानिने छापा, रेडियो, टेलिभिजनको तुलनामा सामाजिक सञ्जालमा आएका सूचना सामग्रीलाई पत्याएर विचार निर्माण गर्न थालेका छौं।
मूलधार मानिने छापा, रेडियो, टेलिभिजनको तुलनामा सामाजिक सञ्जालमा आएका सूचना सामग्रीलाई पत्याएर विचार निर्माण गर्न थालेका छौं। यसको गतिलो उदाहरण अमेरिकी सहयोग परियोजना एमसीसी बन्यो, जहाँ सामाजिक सञ्जालहरूका सामग्रीमा ‘एमसीसीसँगै अमेरिकी सेना आउने’ कथ्यप्रतिको भरोसा आमजनमा यति बलियो बन्यो कि प्रधानमन्त्री लगायत देशका शीर्षस्थ नेताहरूले नै पटक पटक प्रष्टीकरण दिनुपर्यो।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार, देशभित्रका साइबर अपराधमध्येका ९५ प्रतिशत घटना सामाजिक सञ्जालसँग सम्बन्धित छन्। फेसबूक, टिकटक आदिमा ‘भाइरल’ बन्ने प्रवृत्ति झाँगिएसँगै विभिन्न दुर्घटना र मनोसामाजिक समस्या पनि निम्तिएका छन्। इन्टरनेटबाट हुने वित्तीय अपराध पनि बढ्दै छ।
त्यसो भए के सामाजिक सञ्जाल नै समस्या हो त? पक्कै होइन। मूलधारबाट बहिष्करणमा परेका, पारिएकाहरूले आफ्ना विचार सार्वजनिक गर्न वैकल्पिक मञ्च पाएको अर्थमा सामाजिक सञ्जाल यस्तो प्रतिपक्षी हो, जसले लोकतन्त्रलाई उन्नत बनाउन सघाउँछ, जसको प्रमाण पटक पटक देखिँदै आएको पनि छ। तर, पछिल्लो समय सामाजिक सञ्जालमा हावी मिथ्या सूचना तथा अफवाह लोकतन्त्रकै लागि सबैभन्दा ठूलो चुनौती बनिरहेको छ।
अधिनायकवादी सोचका शासकहरूका लागि सामाजिक सञ्जाल केवल सञ्चारको औजार होइन, सत्ता र शक्ति हासिल गर्ने बलियो अस्त्र बन्न थालेको छ। यसका लागि उनीहरूले कतै ‘राष्ट्रवाद’ कतै धार्मिक, जातीय, सांस्कृतिक जागरणका अनेकन् लोकरिझ्याइँ प्रेरित भाष्य निर्माण गरिरहेका छन्। हामीकहाँ एमसीसी यस्तै गलत भाष्यको शिकार बनेको थियो, जसले देशभित्र मात्र होइन, भूराजनीतिमै तरङ्ग ल्याइदियो।
साइबर स्पेस विश्वको नयाँ रणभूमि बनेको छ। रूसले युक्रेन आक्रमणको औचित्य सावित गर्न गरिरहेको सामाजिक सञ्जालको प्रयोग यसको पछिल्लो उदाहरण बनेको छ। यस्तो स्थितिलाई पत्रकार मारिया रेसा (सन् २०२१ की नोबेल शान्ति पुरस्कार विजेता) दोस्रो विश्वयुद्धमा हिरोशिमा र नागासाकीमाथिको परमाणु बम आक्रमणसँग तुलना गर्छिन्।
रेसा भन्छिन्, “प्रोपागान्डा लडाइँमा इन्टरनेटको शस्त्रीकरणले हाम्रो सूचना प्रणालीमा चूपचाप र घातक रूपमा यस्तै परमाणु बम विस्फोट गराइएको छ।” विश्लेषकहरूले अमेरिका र चीनको महाशक्ति राष्ट्रको प्रतिस्पर्धामा यस्तो साइबर आक्रमण झनै बढ्ने बताउँदै आएका छन्।
साइबर स्पेस विश्वको नयाँ रणभूमि बनेको छ। रूसले युक्रेन आक्रमणको औचित्य सावित गर्न गरिरहेको सामाजिक सञ्जालको प्रयोग यसको पछिल्लो उदाहरण बनेको छ।
सामाजिक सञ्जालको बढ्दो दुरुपयोग र यसबाट हुन सक्ने अकल्पनीय दुर्घटना रोक्न गरिनुपर्ने पहिलो काम हो- नागरिक शिक्षा। यस्तो शिक्षाले सेन्सर विनाको इन्टरनेट पुस्तालाई सचेतना मात्र होइन, अभिभावक पुस्तालाई समेत सतर्कता अपनाउन मद्दत गर्नेछ। दोस्रो काम ‘सरकारी र सार्वजनिक संस्थाहरूप्रति नागरिकको भरोसामा वृद्धि’ र लोकतन्त्रका पूर्वाधार सुदृढ गर्नु हो। किनकि, सरकारका कमजोरीमै खेलेर सामाजिक सञ्जाल दुरुपयोगकर्ताले मिथ्या सामग्री सम्प्रेषण गरी समाजमा भ्रम र द्वेष फैलाउने गर्छन्।
सामाजिक सञ्जालले आफू सत्य भएको प्रोपागान्डा फैलाउन संसारभर परम्परागत सञ्चार माध्यमलाई नै पहिलो शिकार बनाइरहेका छन्। त्यसैले परम्परागत सञ्चार माध्यमले राष्ट्रिय महत्त्वका र विवाद हुन सक्ने कुनै पनि मुद्दामा आफ्ना स्पष्ट धारणा नागरिकले बुझ्ने गरी पस्किने रणनीति तयार पार्नुपर्छ।
नागरिकको दैनन्दिनका समस्या, चासो र मुद्दासँग आफूलाई एकाकार गर्नुपर्छ। आवश्यक परे राज्य र उत्तरदायी सञ्चार माध्यमले सोसल मिडिया इन्फ्लुएन्सर पनि तयार पार्नुपर्छ, जसले नागरिकलाई सही दिशामा डोर्याउने पहल गर्न सकून्।
विडम्बना, सरकार भने डिजिटल साक्षरता कसरी बढाउने, सरकारी र नागरिकका विवरण कसरी सुरक्षित गर्ने भन्दा पनि सामाजिक सञ्जाल नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रता हननका नियन्त्रणमुखी कानूनहरू बनाउनेतर्फ उद्यत देखिन्छ। नयाँ डिजिटल क्रान्तिप्रति अनभिज्ञ प्रमुख राजनीतिक दलका नेताहरू, कर्मचारीतन्त्र र समाजको एक वर्ग यो नयाँ लहरप्रति कि अनुदार छन् कि उपेक्षा गरिरहेका छन्। यो निरन्तरको बेवास्ताले इन्टरनेट पुस्ता र बाँकीबीच ‘हामी’ र ‘उनीहरू’ को विभाजन बढिरहेको छ।
भरोसा सामाजिक पूँजीको आधारभूत तत्त्व हो, जसका लागि सत्य आवश्यक हुन्छ। तथ्य विना सत्य स्थापित हुन सक्दैन। अहिले सामाजिक सञ्जाल हामीमाझ अनेकौं ‘सत्य’ को दाबी गरिरहेको छ, जसको निहितार्थ शफाकले भने झैं तथ्यभन्दा मिथ्या, क्रोध, घृणा र ध्रुवीकरण छ। स्वाभाविक हो, झूट, सत्यभन्दा हजारौं गुणा फैलन्छ, हजारौं स्वरूपमा प्रकट हुन्छ। सामाजिक सञ्जालको कृत्रिम बुद्धिमत्ताले भरिएको यान्त्रिक सत्य हावी भएर भरोसाविहीन समाज निर्माण हुनुपूर्व नै योसँग लड्ने रक्षात्मक अस्त्रको जोहो गर्नुपरेको छ।
यसै महीना ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धीलाई हराउन सामाजिक सञ्जाल मार्फत अविश्वास, घृणा फैलाउने गलत र मिथ्या सूचनाको बाढी आउन सक्छ। एउटा रूसी कथन छ- देभिर्याई,नो प्रेभिर्याई अर्थात् भरोसा गर, तर जाँच। हामीले अहिले यही जाँच्ने क्षमताको विकास गर्नु छ।
(हिमालको २०७९ वैशाख अंकबाट। पत्रिकामा यसकाे शीर्षक ‘भरोसा गरौं, तर जाँचौं ’ रहेकाे छ।)
कभर स्टोरी :
⇒ सामाजिक सञ्जालको सकस
⇒ सामाजिक सञ्जालमा चुनावी सङ्ग्राम
⇒ दोषी ‘भोगी पुस्ता’
⇒ निर्णायक नयाँ मतदाता