बर्दियामा गठबन्धन भंग, प्रतिस्पर्धा गर्ने सहमति
सत्तारूढ गठबन्धनमा रहेका दलबीच बर्दियाका सबै स्थानीय तहमा तालमेल नहुने भएको छ।
चुनावी तालमेलमा सहमति नभएपछि सत्तारूढ गठबन्धनको जिल्ला संयन्त्रले तालमेल नगर्ने र सबै पालिकामा मित्रवत् प्रतिपस्पर्धा गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) बर्दियाका इन्चार्ज सन्तकुमार थारूले बताए।
“सकेसम्म केन्द्रका निर्देशन अनुसार जिल्ला स्तरमा गठबन्धन गरेर जाऔं भन्ने थियो,” थारूले भने, “तर, जिल्ला स्तरमा तालमेलमा कुरा नमिलेपछि सहमति गरेरै गठबन्धन भङ्ग गरेका हौं।”
उनका अनुसार, गठबन्धन दलका नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच १० बुँदे सहमति गरेर गठबन्धन भङ्ग गरेका हुन्। गठबन्धनले संयुक्त विज्ञप्ति जारी गरी जिल्लाका आठवटै पालिका र ७५ वटा वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको छ।
यसै गरी निर्वाचन प्रयोजनका लागि गठबन्धनमा आबद्ध बाहेकका दलसँग गठबन्धन नगर्ने प्रतिबद्धता पनि गरिएको छ। यसको अनुगमनका लागि पाँच सदस्यीय समिति पनि गठन गर्ने जनाइएको छ।
२०७४ को निर्वाचनमा बर्दियाका ठाकुरबाबा, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका एमालेले जितेको थियो। बारबर्दिया, राजापुर र मधुवन नगरपालिका माओवादीले जितेको थियो भने गुलरिया नगरपालिका र गेरुवा गाउँपालिका कांग्रेसले जितेको थियो।