एमाले र लोसपाबीच वीरगञ्ज महानगरमा तालमेल
नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल गर्ने सहमति भएको छ।
बिहीबार वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै दलले मिलेर स्थानीय चुनावमा मिलेर जाने सहमति भएको बताएका छन्। सहमति अनुसार, वीरगञ्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन्। त्यस्तै, लोसपाले उपमेयर पद पाउने भएको छ।
सरावगी वर्तमान मेयर हुन्। उनी जनता समाजवादी पार्टी (जसपा) छोडेर एमालेमा प्रवेश गरेका थिए।
पत्रकार सम्मेलनमा एमालेका सचिव रघुवीर महासेठले कतिपय मुद्दामा लोसपा र एमालेबीच विचार मिल्ने भएकाले सहमति गरिएको बताए। विगतमा लोसपा र एमालेबीच सहकार्य भएको र त्यसको अर्को शृङ्खलामा वीरगञ्जमा मिलेर चुनाव लड्ने सहमति भएको उनको भनाइ थियो।
लोसपा नेता लक्ष्मणलाल कर्णले लोसपा र एमालेको सहकार्यबाट आउने दिनमा वीरगञ्जमा पुनः सरावगीलाई नै जनताले मत दिने दाबी गरे। मेयरमा एमालेलाई सघाउने र उपमेयरमा एमालेले लोसपालाई सघाउने उनले बताए। लोसपाले उपमेयरमा पुरुषोत्तम झालाई उम्मेदवार बनाउने कर्णले बताए।
तालमेलको सहमतिपत्रमा एमाले जिल्ला अध्यक्ष जयप्रकाश थारू र लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन्।
वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता छन्। जसमा पुरुष ७० हजार ८१०, महिला ५३ हजार ८३३ र अन्य चार जना छन्।
गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार सरावगीले १९ हजार ३९३ मत पाएका थिए। दोस्रो नम्बरमा रहेका कांग्रेसका उम्मेदवार अजयकुमार द्विवेदीले १७ हजार १९७ मत पाएका थिए।
त्यस्तै, तत्कालीन राजपा नेपालका उम्मेदवार राजेशमान सिंहले १२ हजार १६५, नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले आठ हजार ७०१ मत पाएका थिए ।
गत निर्वाचनका आधारमा कांग्रेस र जसपा हाराहारीमा छन्। जसपाले मेयर सहित १२ वडाध्यक्ष तथा कांग्रेसले उपमेयर सहित १० वडाध्यक्ष जितेको थियो। उपमेयरमा निर्वाचित कांग्रेसकी शान्ति कार्कीले मेयरभन्दा बढी मत पाएकी थिइन्। उनले १९ हजार ६०७ मत प्राप्त गरेकी थिइन्।