थोरै असन्तुष्टिले चुनावी परिणाममा फरक पर्दैन: दाहाल
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले अहिले गठबन्धनमा रहेका केही दलका केही नेतामा देखिएको असन्तुष्टिले चुनावी परिणाममा फरक नपर्ने बताएका छन्।
धनगढी विमानस्थलमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यो असन्तुष्टि पनि केही दिनमा शान्त हुने बताए। “धेरै-थोरै असन्तुष्टिको कुरा सुनिनु लोकतन्त्रको सुन्दरता हो,” दाहालले भने, “यसले परिणाममा फरक पर्दैन। उनीहरू शान्त हुन्छन्। गठबन्धनले लोकतन्त्रको रक्षाका लागि तालमेल गरेको रहेछ भन्ने बुझ्छन्।”
सत्तारूढ पाँच दलीय गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबण्डा गरेको छ। यसमा केही नेता तथा कार्यकर्ताले विरोध जनाइरहेका छन्।
महानगर र उपमहानगरमा भएको सहमति कार्यान्वयनमा समस्या नहुने उनको भनाइ थियो। केही स्थानीय तहमा विवाद भए पनि छलफलबाट समाधान निस्कने दाहालको विश्वास छ।
उनले सकभर धेरै ठाउँमा तालमेल हुने र तालमेल हुन नसकेको ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुने बताए।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गठबन्धन चुनाव सार्न खोजिरहेको भन्ने आरोपका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष दाहालले कुनै पनि हालतमा चुनाव नसर्ने बताए। “कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छ कि भन्ने हल्ला चलाएका थिए, तर हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ,” दाहालले भने, “अब कोही दोधारमा रहनु हुँदैन। वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ।”
त्यस्तै, नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा सोधिएको प्रश्नमा उनले शुरूआतबाटै गभर्नर र सरकारबीच तिक्तता पैदा भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएरै छानबिन समिति गठन गरिएको बताए।
“शुरूबाटै गभर्नर र सरकारबीच समस्या देखिएको हो। अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यस्तो निर्णय गरेको भन्ने प्रष्ट भइसकेको छ,” दाहालले भने, “वैशाख १३ गते अदालतमा दुवैका कुरा आउँछन्। त्यसपछि मात्रै के भएको हो भन्न सकिन्छ।”
गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले गत चैत २५ गते छानबिन समिति गठन गरेको थियो। समिति गठनसँगै गभर्नर अधिकारी निलम्बनमा परेका थिए। तर, सर्वोच्च अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएपछि अधिकारी काममा फर्केका छन्।
माओवादी अध्यक्ष दाहाल चुनावी अभियानका क्रममा सुदूरपश्चिम पुगेका हुन्।