महानगर र उपमहानगरमा यस्तो छ गठबन्धनको भागबण्डा
सत्तारूढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरमा भागबण्डा गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भागबण्डा गरेका हुन्। सहमतिपत्रमा पाँचै दलका नेताले हस्ताक्षर गरेका छन्।
गठबन्धनबीच भएको सहमति अनुसार कांग्रेसले तीन र अन्य तीन दलले एक–एक महानगरको नेतृत्व पाउने भएका छन्। कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरमा मेयर पाएको छ। यससँगै कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरामा उपमेयर पाएको छ।
नेकपा (माओवादी केन्द्र) ले भरतपुर महानगरको मेयर पाएको छ भने ललितपुरमा उपमेयर पाएको छ। नेकपा (एकीकृत समाजवादी) ले पोखरामा मेयर र काठमाडौंमा उपमेयर पाएको छ।
जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्जमा मेयर र विराटनगरमा उपमेयर पाएको छ।
यस्तै, ११ उपमहानगरपालिकाको पनि भागबण्डा मिलेको छ। कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर पाएको छ। यससँगै जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पाएको छ।
माओवादीले जितपुर सिमरा र घोराहीको मेयर तथा धरान र धनगढीको उपमेयर पाएको छ। एकीकृत समाजवादीले हेटौंडाको मेयर र इटहरी, बुटवल र तुलसीपुरको उपमेयर पाएको छ।
जसपाले जनकपुरको मेयर तथा कलैया र नेपालगञ्जको उपमेयर पाएको छ।