घोराहीमा गठबन्धनबाट शर्मा, एमालेबाट चौधरीको सम्भावना
दाङको घोराही उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नेता हेमराज शर्मा उम्मेदवार बन्ने भएका छन् भने नेकपा (एमाले) बाट नरुलाल चौधरीको सम्भावना रहेको छ।
सत्तारूढ पाँच दलबीच भएको सहमति अनुसार, घोराही उपमहानगर माओवादीको भागमा परेपछि शर्मालाई उठाउने तयारी भएको हो। यसअघि मेयरको उम्मेदवारमा माओवादीले जीवन गौतम र शर्माको नाम सिफारिश गरेको थियो। माओवादी जिल्ला इन्चार्ज समेत रहेका गौतमले पार्टी परित्याग गरेपछि शर्मा एक्ला दाबेदार बनेका हुन्।
अब शर्मा नै उम्मेदवार बन्ने माओवादी केन्द्रीय सदस्य निर्मल आचार्यले बताए। “गठबन्धनको शीर्ष नेताले गरेको निर्णय आधिकारिक रूपमा आएपछि शर्मालाई उम्मेदबार बनाउने सर्वसम्मत निर्णय गरेर पठाउँछौं,” आचार्यले हिमालखबरसँग भने।
नेपाली कांग्रेस घोराही नगर कार्यसमितिले भने विरोध जनाएको छ। घोराहीको मेयर माओवादीलाई दिने निर्णय स्वीकार नगर्ने कांग्रेस उपमहानगर सभापति तिलक रावतले बताए। “घोराही कुनै पनि हालतमा कांग्रेसले पाउनुपर्छ, अन्यथा विद्रोह हुन सक्छ,” उनले भने।
त्यस्तै, एमालेबाट भने चौधरीको सम्भावना रहेको छ। एमाले नेताहरूका अनुसार, केन्द्रबाट चौधरीलाई तयारी गर्न भनिएको छ। उनी एमाले दाङका इन्चार्ज हुन्।