धरानको मेयरमा ३० भन्दा बढी दाबेदार
धरान उपमहानगरको मेयरमा राजनीतिक दलका र स्वतन्त्र सहित ३० जनाभन्दा बढी दाबेदार देखिएका छन्।
स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरका लागि उम्मेदवार बन्ने दाबेदारको सङ्ख्या धेरै भएपछि दलहरूलाई छनोट गर्न सकस भएको छ। धेरै आकाङ्क्षी भएपछि नेकपा (एमाले) धरान उपमहानगर कमिटीले ११ जनाकै नाम जिल्ला कमिटीमा सिफारिश गरेको छ।
जसमा केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी, पूर्व मेयर तथा प्रदेश कमिटी सदस्य मनोजकुमार मेन्याङ्वो, प्रदेश कमिटी सदस्यहरू विजय राई, प्रकाश राई, किशोरकुमार कार्की, मोतीराज सुनुवार, दोर्पध्वज राई, जिल्ला कमिटी सदस्यहरू मीनकुमार सुब्बा, नारायण सुवेदी र राजमणि निरौला तथा पूर्व जिल्ला कमिटी सदस्य तीर्थ मास्के छन्।
त्यस्तै, उपमेयरका लागि प्रदेश कमिटी सदस्य सुशीला पहाडी र लहरु जिमी, जिल्ला कमिटी सदस्य पदमा इस्वो लिम्बू, सविता चाम्लिङ, इन्द्रकला राई र लीला राईको नाम सिफारिश गरेको छ।
गठबन्धन दलबीच सहमति प्रयास भइरहेको वेला नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले पनि नौ जनाको नाम मेयरका लागि सिफारिश गरेको छ। जसमा अहिलेका मेयर तिलक राई, कांग्रेस प्रदेश १ महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य पर्वत राई, पूर्व नगर सभापति किशोर राई, महासमिति सदस्य श्यामा रेग्मी, सुनसरी क्षेत्र १ ‘ख’ का सदस्य अजय राई, दलित संघ प्रदेश १ सभापति गोविन्द दर्नाल र पूर्व महाधिवेशन प्रतिनिधि मिना पुलामीको नाम सिफारिश गरिएको छ।
त्यस्तै, उपमेयरका लागि उर्मिला प्रधान, शिला ब्रजाचार्य, निलकुमारी थापा गिरी, कुसुम ओली आचार्य, निर्मला शाक्य, मनिता घिमिरे, हिमाल राई, झुमा राई, सन्तोष विक र कोपिला भट्टराई गरी १० जनाको नाम सिफारिश गरेको छ।
नेकपा (माओवादी केन्द्र) बाट फोक्वाहाङ मेन्याङ्वो, आइन्द्रविक्रम बेघा, किरण राई लगायत आकाङ्क्षी देखिएका छन्। माओवादीले अझै उम्मेदवार सिफारिश गरेको छैन। जनता समाजवादी पार्टी (जसपा) बाट केन्द्रीय सदस्य भीम राई, शशी विक र नगर अध्यक्ष ताजुब लिम्बू मेयरका आकांक्षी छन्।
त्यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीले सुनसरी जिल्ला इन्चार्ज राजेश राईलाई र राष्ट्रिय प्रजातन्त्र पार्टीले नरेश शाक्यलाई मेयरको उम्मेदवार चयन गरिसकेको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष अमर इजमलाई धरानको मेयरका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। सामाजिक अभियन्ता हर्क साम्पाङ लगायतले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।