पोखरामा कांग्रेस कार्यकर्ता आन्दोलित, पार्टी कार्यालयमा तालाबन्दी
नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले कास्की जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेको छ।
सत्तारूढ गठबन्धनले पोखराको मेयर नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति गरेको विरोधमा बुधबार बिहान महानगर समितिका पदाधिकारीले कांग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेका हुन्। मंगलबार राति बसेको सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादीलाई पोखरामा मेयर दिने सहमति गरेको थियो।
प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर पोखरा एकीकृत समाजवादीलाई दिने सहमति भएको सुनाएका थिए। उनीहरूले मंगलबार काठमाडौंबाट पोखरा फर्केर स्थानीय नेता तथा कार्यकर्तालाई त्यसबारे जानकारी दिएका थिए।
महानगर समितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले पोखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णयले महानगर कार्यसमिति उपेक्षित भएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेको बताएका छन्।
“पोखरा महानगरको मेयर र उपमेयर पदको आकाङ्क्षी छनोट प्रक्रियामा रहेको अवस्थामा आम लोकतन्त्रवादी शुभेच्छुक जनता, बुद्धिजीवी र सम्पूर्ण कांग्रेस पहरेदार सिपाहीको आत्मसम्मानमा गम्भीर चोट लागेको छ,” उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “हामी सत्ताको स्वार्थभन्दा माथि उठेर जनभावना एवं आम कार्यकर्ताको मनोभावनामा उच्च राख्न नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरियो।”
तालाबन्दीपछि महानगर कार्यसमितिले प्रदेश र जिल्ला कार्यासमितिलाई आगमी दिनमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएका छन्। महानगर कार्यसमितिले संघर्षमा सहयोग गर्न जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिलाई पनि आग्रह गरेको छ।