२०५१ सालमा सरकारले गरेका लोकप्रिय कामको उत्तराधिकारी हामी हौं–नेकपा (एस) को घोषणापत्र (पूर्ण पाठ)
नेकपा (एमाले) बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले २०५१ सालमा एमाले नेतृत्वको सरकारले गरेको लोकप्रिय कामको उत्तराधिकारी आफ्नो पार्टी भएको जनाएको छ।
आफ्नो गाउँ आफैं बनाऔं, ज्येष्ठ नागरिक भत्ता लगायत कार्यक्रमको जस आफूहरूले पाउनुपर्ने घोषणापत्रमा उल्लेख छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालद्वारा मंगलबार जारी घोषणापत्रमा भनिएको छ, “विगतका जति पनि असल कामहरू भएका छन्, ती सबैका उत्तराधिकारी हामी हौं।”
एमालेका पूर्व महासचिव माधवकुमार नेपाल र झलनाथ खनाल दुवै भएको पार्टी नै एमाले सरकारले विगतमा गरेका जनपक्षीय कामको स्वामित्वको स्वाभाविक हकदार भएको घोषणापत्रमा उल्लेख छ।
एकीकृत समाजवादीले ३०० युनिटसम्म निःशुल्क बिजुली दिने पार्टीका नेता विजय पौडेलले जानकारी दिए। उनले भने, “घोषणापत्रमा २०० युनिट उल्लेख छ, तर त्यो प्रिन्ट मिस्टेक हो।”
सत्तारूढ दलहरूले ३० वैशाखको स्थानीय निर्वाचन तालमेल गरेर लड्ने घोषणा गरेका छन्।