इन्धन खर्च २० प्रतिशत कटौती गरिने
सरकारले इन्धन खर्चमा २० प्रतिशत कटौती गर्ने भएको छ। विभिन्न मन्त्रालय, निकाय तथा नेपाल सरकारका सार्वजनिक संस्थाले इन्धन खर्च २० प्रतिशत घटाउने अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रिपरिषद्को ३० चैतको बैठकले इन्धन खर्च घटाउने निर्णय गरेको थियो। बढ्दो व्यापार घाटा तथा विदेशी मुद्राको सञ्चितिमा परेको चापलाई ध्यानमा राखी इन्धन खर्च घटाउन लागेको अर्थ मन्त्रालयले जनाएको छ।
कानूनले तोकेको सुविधा पाउने पदाधिकारीको समेत इन्धन खर्च २० प्रतिशत घट्नेछ। तर, विकास आयोजना, शान्ति सुरक्षा एवं अत्यावश्यक सेवा र स्थानीय निर्वाचनसँग सम्बन्धित निकायहरूको इन्धन सुविधाको हकमा भने यो लागू हुनेछैन।
आगामी असार मसान्तसम्मका लागि यस्तो कटौती गरिएको मन्त्रालयले जनाएको छ। सरकारले मितव्ययितातर्फ प्रभावकारी काम नगरेको भनी आलोचना बढेपछि सरकारले इन्धन खर्चमा कटौतीको निर्णय गरेको हो। यद्यपि, यो रकम ठूलो भने छैन। चालू आर्थिक वर्षका लागि इन्धन शीर्षकमा करीब रु.तीन अर्ब छुट्याइएको छ।