माओवादीका दाङ इन्चार्ज गौतमद्वारा पार्टी परित्याग
नेकपा (माओवादी केन्द्र) दाङका इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
घोराहीमा सोमबार पत्रकार सम्मेलन गरी माओवादी परित्याग गरेको बताएका हुन्। माओवादीमा चरम गुटबन्दी, नातावाद, परिवारवाद हावी भएकाले पार्टी परित्याग गरेको उनको भनाइ छ।
“माओवादी परित्याग गरे पनि कम्युनिष्ट विचारधारा छाड्दिनँ, तत्काल स्वतन्त्र रहेर समाज सेवामा लाग्छु,” गौतमले भने।
घोराहीको मेयरको टिकट नपाउने भएपछि पार्टी छाडेको माओवादीका स्थानीय नेताले बताएका छन्। तर उनले पदको लोभ नभएको बताएका छन्। “पदको लोभ छैन। मेरो स्वाभिमान बचाउन पार्टी परित्याग गरेको हुँ,” गौतमले भने।
उनी घोराही उपमहानगरपालिकाको मेयरको दाबेदार थिए। गत निर्वाचनमा पनि उनी माओवादीबाट मेयरमा उम्मेदवार बनेका थिए। त्यति वेला पराजित उनले फेरि मेयरमा उठ्ने इच्छा देखाएका थिए।