दिमागले कसरी सोच्छ?
हामी सोचेर निर्णय लिएको भन्छौं। तर‚ त्यो सत्य होइन। केनम्यान भन्छन्- निर्णयमा हाम्रा प्राथमिकता र रुचि प्रतिबिम्बित हुन्छन्। साथै‚ विगतका सम्झना, विचार र मस्तिष्कको लहरबाट प्रभावित हुन्छ। जुन सत्य हुन्छ भन्ने निश्चित हुँदैन।
हामी चेतन वा अचेतन अवस्थामा केही गरिरहेकै हुन्छौं। शरीर सुषुप्त अवस्थामा रहेका वेला पनि मनले काम गरिरहेकै हुन्छ। अर्थात्, हामी जहिल्यै सोचिरहेका हुन्छौं। त्यसैले मानिसलाई ‘वैचारिक’ प्राणी भनिन्छ। विचारका धनी हामीले आफूलाई कति जानेका छौं भन्ने प्रश्नमाथिको पुस्तक हो थिङ्क फास्ट एन्ड स्लो।
सन् २००२ मा अर्थशास्त्रका लागि नोबेल पुरस्कार विजेता ड्यानियल केनम्यानले पुस्तकमा हाम्रो सोच्ने शैलीबारे अनुसन्धानात्मक विश्लेषणलाई सरल भाषामा पस्किएका छन्। इजरायली मूलका अमेरिकी मनोवैज्ञानिक केनम्यानले दिमागी प्रक्रियालाई पहिलो र दोस्रो चरण गरी दुई भागमा विभाजन गरेका छन्।
के हो प्रणाली एक र दुई?
सोचाइको ‘प्रणाली एक’ स्वचालित रूपमा हुने दिमागी प्रक्रिया हो। यो कुनै गहिरो प्रयास र विश्लेषण विना नै सक्रिय हुन्छ। यो द्रुत सोच हो। यो हाम्रो दैनिक जीवनमा निरन्तर भइरहेको हुन्छ। यस अन्तर्गत एकै समयमा धेरै काम गर्न सकिन्छ। यो प्रक्रिया मस्तिष्कको एउटा कुनामा स्वभाव बनेर बसेको हुन्छ।
‘प्रणाली दुई’ मा जटिल प्रयास, मानसिक कार्य र कठिन गणना पर्छन्। यी व्यक्तिगत अनुभव, विश्लेषण र एकाग्रताका आधारमा सम्पन्न हुन्छन्। यो प्रक्रिया ढिलो हुन्छ। यसमा तार्किक प्रक्रिया, गणना, विवेचना र सचेतता सम्मिलित हुन्छन्।
एक र दुईको सहकार्य
केनम्यानको निचोड छ- प्रणाली एकलाई गाह्रो परेका वेला प्रणाली दुईलाई सहकार्यका लागि आह्वान गर्दछ। प्रणाली एक असमर्थ हुँदा सहयोगका लागि प्रणाली दुई हाजिर हुन्छ। अर्थात्, जे कुरा स्वाभाविक छ, जसलाई मस्तिष्कले ग्रहण गरेको छ, त्यो सजिलै सम्पन्न हुन्छ। तर‚ केही कुरालाई दिमागी ऊर्जा चाहिन्छ।
प्रणाली एक हात्ती सरह हो भने प्रणाली दुई माउते। विशाल र अजङ्ग हात्ती प्रणाली एक अर्थात् ‘मन’ हो। निरीह माउते प्रणाली दुई ‘चेतन’ हो। माउतेले नै हात्तीलाई आदेश दिन्छ र आफूले चाहेको काम गराउँछ।
नयाँ सीप सिक्दा प्रणाली दुई सक्रिय हुन्छ। त्यो सीप सिकेपछि त्यही काम गर्दा प्रणाली एक सक्रिय हुन्छ। उदाहरणका लागि, साइकल सिक्ने काम। साइकल चलाउन सिकिसकेपछि कति गतिमा लाने, कता ढल्काउने, कति पाउदान चाल्ने स्वतस्फूर्त भए झैं देखिन्छ। क्रिया भइरहेको हुन्छ, क्रियामा मस्तिष्कको ऊर्जा लागेको देखिंदैन।
हामी जीवनमा सामान्य कार्यमा सोचविचारको सङ्गति मिलाउन नसक्ने रहेछौं। त्यसो भए हामीले आफूलाई कति चिनेका रहेछौं त? उनको कथन छ- हामीले आफूलाइै धेरै कम चिनेका हुन्छौं।
तर‚ हामी काम गर्दा प्रणाली एक र दुईको समन्वयमा ध्यान दिंदैनौं। जे स्वाभाविक, सहज छ, मस्तिष्क त्यतै दौडिन्छ। मस्तिष्कको स्वभाव सकेसम्म भार बोक्न नचाहने खालको हुँदो रहेछ। यसलाई पुष्टि गर्न केनम्यानले गणितको सामान्य प्रश्नको उदाहरण दिएका छन्।
एउटा बल र ब्याटको मूल्य ११० रुपैयाँ पर्दछ। बलभन्दा ब्याटको मूल्य १०० रुपयाँले बढी छ भने बलको मूल्य कति होला? धेरैले हतारमा दिने उत्तर हो, १० रुपैयाँ। खासमा बलको मूल्य पाँच र ब्याटको मूल्य १०५ हुँदाको योगफल ११० हुन्छ। यदि बलको मूल्य १० हुन्थ्यो भने त योगफल १२० हुन्थ्यो।
केनम्यानको तर्क छ- हामी जीवनमा सामान्य कार्यमा सोचविचारको सङ्गति मिलाउन नसक्ने रहेछौं। त्यसो भए हामीले आफूलाई कति चिनेका रहेछौं त? उनको कथन छ- हामीले आफूलाई धेरै कम चिनेका हुन्छौं।
‘अप्पी दिपो भवः’ भन्ने विपश्यना विधिले आफैंलाई हेर्न अह्राए झैं केनम्यानको कथनले पूर्वीय चिन्तनको महत्ता दर्शाउँछ। पुस्तकमा वर्णित विभिन्न रूपकले ‘उद्यानमा बस गई, सब तत्त्व खुल्छन्’ भन्ने लक्ष्मीप्रसाद देवकोटाको उक्तिलाई पनि पुनर्जागृत गराउँछ।
अनुमान र पूर्वाग्रह
केनम्यान भन्छन्- अनुमान र पूर्वाग्रह निष्कर्षमा पुग्ने प्रक्रिया हो। प्रणाली एकले शङ्का गर्दैन। यसले सहजता चाहन्छ। तर्क होइन, भावनालाई हेर्दछ।
जस्तै- कुनै राजनेता मन पर्यो भने उसको राजनीति गर्ने शैली, आवाज, उसको निर्णय‚ उसले लगाउने कपडा पनि मन पर्छ। यसलाई अतिरञ्जित भावनात्मक समन्वय भनिन्छ। यो पनि एक प्रकारले अनुमान र पूर्वाग्रह नै हो।
प्रणाली दुई शङ्कालु हुन्छ। यसले प्रश्न गर्छ। ‘ठीक भनिएको कुरा ठीक हो त?’ भन्ने प्रश्न गर्छ। ‘बेठीक भनिएको कुरा किन बेठीक?’ भनेर प्रश्न गर्छ। असङ्गतिमा घोरिन्छ। यसले विकल्प र छनोटलाई प्रश्रय दिन्छ। त्यस कारण तार्किक निर्णय लिंदा, प्रणाली एकको सुझावलाई हुइँकिएको गाडीलाई रोके जस्तै रोक्नुपर्छ र सही‚ गलत विचार गरेर निर्णय दिनुपर्छ।
जीवनका अनिश्चितता र आसन्न खतरा बुझ्न जोखिम विश्लेषणको अवधारणा विकसित भएको हो। जब जोखिम देखिन्छ तब प्रणाली एकले सुझाव दिन्छ। त्यसलाई प्रणाली दुईले समर्थन गर्छ।
यस प्रक्रियामा प्रणाली एकबाट आएको तथ्याङ्क, सूचना र विश्वासको आधारमा छनोट तथा निर्णय गर्न प्रणाली दुई सक्रिय हुन्छ। प्रणाली एक र दुईको समन्वयबाट पूर्वाग्रह विरुद्ध सतर्कता कायम राख्न सके निर्णय प्रक्रियामा हुने गल्तीबाट बच्न सकिन्छ।
केनम्यानको तर्क छ- जीवनका अनिश्चितता र आसन्न खतरा बुझ्न जोखिम विश्लेषणको अवधारणा विकसित भएको हो। जब जोखिम देखिन्छ तब प्रणाली एकले सुझाव दिन्छ। त्यसलाई प्रणाली दुईले समर्थन गर्दछ। तर‚ प्रणाली दुई व्यस्तता‚ अज्ञानता वा आलस्यले गर्दा निष्क्रिय हुने अत्यधिक सम्भावना रहन्छ।
प्रणाली एकले अतीतलाई बुझेको छु, भविष्यलाई अन्दाज गर्न सक्छु भन्ने अनुमान लगाउँछ। तर, यथार्थमा विगतलाई कम बुझेका हुन्छौं। भविष्य हाम्रो नियन्त्रणमा हुँदैन। भविष्यवाणी गर्ने प्रयासमा धेरै त्रुटि हुन्छन्। किनभने, घटनाक्रम कसरी अगाडि बढ्छ भन्न सकिंदैन। भविष्यबारे अनुमान लगाउने सूचक पनि उपलब्ध छैन।
प्रणाली एकले जोखिम मन पराउँदैन। जोखिम र निश्चित विषय छान्नुपरे निश्चित कुरा छान्नेछ। जीवन मिश्रित छ। हामी प्रायः अल्पकालीन लक्ष्य बनाउँछौं र त्यसलाई प्राप्त गर्न खोज्छौं। अल्पकालीन लक्ष्यमा पुगेपछि प्रयाश र सङ्कल्पमा ह्रास आउँछ र अगाडि बढ्न प्रणाली दुईले आलस्य मान्छ।
निर्णय र निष्कर्ष
हाम्रो दिमाग दुई भागमा बाँडिएको छ। एउटा अनुभव गर्ने भाग र अर्को सम्झना। अनुभव सही हुन्छ। तर‚ हाम्रो दिमागले पूरा अनुभवलाई जस्ताको तस्तै सम्झन सक्दैन।
अनुभव वर्तमानमा हुन्छ। अनुभवमा भएको घटनाको ‘रेकर्ड’ हो सम्झना। जसले निर्णयमा फरक पार्दछ। सम्झनामा पश्चात्ताप पनि ताजा भएर बसेको हुन्छ। यो प्रणाली एक हो। पश्चात्तापको डरले पनि निर्णयमा फरक पर्छ। निर्णयकर्तालाई पश्चात्तापको मूल्य थाहा छ। त्यसको पीडादायी अनुमानले गर्दा उपलब्ध भएको विकल्प र निर्णयमा फरक पर्दछ।
हामी सोचेर निर्णय लिएको भन्छौं। तर‚ त्यो सत्य होइन। केनम्यान भन्छन्- निर्णयमा हाम्रा प्राथमिकता र रुचि प्रतिबिम्बित हुन्छन्। साथै‚ विगतका सम्झना, विचार र मस्तिष्कको लहरबाट प्रभावित हुन्छ। जुन सत्य हुन्छ भन्ने निश्चित हुँदैन।
पुस्तक दिमागको तहबारे बताउने एउटा खाका हो। पुस्तकबाट निर्णय प्रक्रिया सम्बन्धी ज्ञान हासिल गर्न सकिन्छ। पुस्तक बुझ्न कुनै विषय वा विधामा पोख्त हुन आवश्यक छैन। भाषा र प्रस्तुति सामान्य पाठकले बुझिने गरी लेखिएको छ।