कलैयामा कांग्रेस बाहेक तीन दलबीच तालमेलको तयारी
स्थानीय तह निर्वाचनमा बाराको कलैया उपमहानगरपालिकामा तीन दलबीच तालेमलको तयारी गरिएको छ।
सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेलको तयारी थालिएको हो। स्थानीय तहमा नेपाली कांग्रेससँग तालमेलका विषयमा सहमति हुन नसकेपछि तीन दल मिल्न लागेका हुन्।
२०७४ को निर्वाचनमा कलैयामा कांग्रेसका राजेशप्रसाद यादव निर्वाचित भएका थिए। उनले यस पटक पनि मेयरमा दोहोर्याउने तयारी गरेका छन्।
त्यस्तै, नेकपा (एमाले) विनोद साह, रविन्दा श्रेष्ठ, कलाम उद्दीन र भवानी दुलालको नाम सिफारिश भएको छ। गत निर्वाचनमा पराजित साहले आफूले टिकट पाउनेपर्ने दाबी गरिरहेका छन्।
जसपाबाट मेयरमा प्रमोदप्रसाद गुप्ता, धर्मेन्द्र यादव र सुनील दासको नाम सिफारिश भएको छ। माओवादीबाट मुकेश साह दाबेदार देखिएका छन्।
स्थानीय तहमा भएको छलफलमा कांग्रेसले नछोड्ने अडान लिएपछि अन्य तीन दल तालमेल गर्ने तयारीमा जुटेका हुन्। अब केन्द्रमा जस्तोसुकै सहमति भए पनि कलैयामा भने तीन दलको तालमेल गर्ने तयारी भएको जसपा कलैया नगरका अध्यक्ष शिवनाथ पटेलले बताए।
“स्थानीय निर्वाचनमा तीन दलबीच गठबन्धन गरेर अघि बढ्ने सहमति गर्न लागेका छौं, लगभग सहमतिमा पुगिसकेका छौं,” पटेलले भने।
त्यस्तै, माओवादी अध्यक्ष मुकेश साहले पाँच दलीय गठबन्धनमा रहेका अन्य दलसँग छलफल भइरहेको बताए। “पाँच दलबीच सहमति नबन्ने देखियो, अब तीन दल मिलेर अघि बढ्ने निर्णय गरेका छौं,” साहले भने।
गत निर्वाचनमा मेयरमा निर्वाचत कांग्रेसका राजेशराय यादवले १० हजार ९०३ मत प्राप्त गरेका थिए। त्यस्तै, दोस्रो नम्बरमा रहेका एमालेका विनोदप्रसाद साहले १० हजार ७१६ मत प्राप्त गरेका थिए।
यसै गरी तत्कालीन संघीय समाजवादी पार्टीका प्रमोदप्रसाद गुप्ताले नौ हजार ४०४ र माओवादीका मुकेश साह चार हजार ३७१ मत पाएका थिए। एमाले विभाजित भएर ठूलो हिस्सा एकीकृत समाजवादीमा रहेको र जसपा तथा माओवादी सहित मिलेर जाँदा जित सुनिश्चित हुने तीन दलको अनुमान छ।
अहिले कलैया उपमहानगरमा ७० हजार ३५६ मतदाता छन्। ३० वैशाखमा हुने निर्वाचनका लागि ५६ मतदानस्थल र ९२ मतदान केन्द्र तोकिएका छन्।