नेपालले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने
आगामी जेठ ११ र १५ गते कतारको दोहामा नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
एएफसी एसियन कप छनोटअघि अभ्यास खेलका रूपमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल हुन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। एन्फाले मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्ताव अफगानिस्तानले स्वीकार गरेको हो।
एएफसी एशियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। यो समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्। नेपालको समूहका छनोट खेलहरू कुवेतमा हुनेछन्।
हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एशियन कप २०२३ मा छनोट खेल्न पाउनेछन्। छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ।
छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण शुरू गरिसकेको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन्।