घोराहीमा रेशम चौधरीको पार्टी उम्मेदवार सिफारिश
कैलालीको टीकापुर क्षेत्रमा दबदबा रहेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले दाङमा पनि चुनाव लड्ने भएको छ।
दाङको घोराही उपमहानगरपालिका सहित विभिन्न स्थानीय तहमा चुनावी अभियान शुरू गरेको छ। उपमहानगर सहित केही स्थानीय तहमा उम्मेदवार सिफारिश गरिसकेको छ।
घोराही उपमहानगर लगायत विभिन्न स्थानीय तहमा उम्मेदवार सिफारिश गरिएको नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कनैलाल चौधरीले बताए।
प्रदेश अध्यक्ष चौधरीका अनुसार, घोराही उपमहानगरको मेयरका लागि फहरुकुमार चौधरी र श्रीशरण चौधरीको नाम सिफारिश भएको छ। त्यस्तै, उपमेयरमा शान्ता चौधरीको नाम सिफारिश गरिएको उनले बताए।
यसै गरी घोराही उपमहानगरको वडा नं. ८ को वडाध्यक्षमा गुरु चौधरी र हिन्कलाल चौधरी तथा शान्तिनगर गाउँपालिका–५ को वडाध्यक्षमा कुमार चौधरीको नाम सिफारिश गरिएको छ। जित्ने वडामा मात्रै वडाध्यक्षको उम्मेदवार तय गरिएको अध्यक्ष चौधरीले बताए।
नागरिक उन्मुक्ति पार्टीले केही साताअघि मात्रै दाङमा संगठन बनाएको थियो। अहिले चुनावी अभियानसँग गाउँ गाउँमा संगठन विस्तार भइरहेको उनको भनाइ छ।
नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर क्षेत्रका विभिन्न स्थानीय तहमा पनि उम्मेदवार छनोट गरिरहेको छ। टीकापुर नगरपालिका वरपरका स्थानीय तहमा चुनाव लड्ने तयारी गरिरहेको छ।