साझाका नयाँ बिजुली बस अपाङ्गतामैत्री
साझा यातायातले ल्याएका नयाँ बिजुली बस अपाङ्गता भएका व्यक्तिले सहज रूपमा यात्रा गर्न सक्ने सुविधायुक्त छन्।
अहिले सञ्चालनमा रहेका केही बस अपाङ्गमैत्री भए पनि नयाँ बिजुली बस सुविधासम्पन्न रहेको साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले बताए। उनका अनुसार, नयाँ बिजुली बसका ह्वीलचियर र्याम्प होचो भएकाले ह्वीलचियर प्रयोगकर्ता आफैं चढ्न सक्नेछन्।
यसअघि सञ्चालनमा रहेका बसमा चढ्न ह्वीलचियर प्रयोगकर्ताले अरूको सहयोग लिनुपर्थ्यो। “एउटा बसमा दुई वटा ह्वीलचियर अटाउँछन् र ती ह्वीलचियर नहल्लिने गरी अड्याउन मिल्ने ठाउँ राखिएको छ,” तुलाधरले भने।
त्यस्तै, नयाँ बिजुली बसमा कान नसुन्नेलाई डिजिटल डिस्प्ले र आँखा नदेख्नेलाई माइकिङ गरेर सूचना दिने प्रणाली राखिएको उनले बताए। “सबै किसिमका अपाङ्गता भएका व्यक्तिलाई सहज हुने गरी यो बसमा सेवा राखेका छौं,” तुलाधरले भने।
साझाले खरीद गरेका ४० वटामध्ये तीन बस ३० चैतमा नेपाल आइपुगेका छन्। विभिन्न प्राविधिक जाँच भएपछि अन्य ३७ वटा बिजुली बस ल्याइने भएको छ।