दक्षिणएशियाका ७१ वृत्तचित्र ललितपुरमा देखाइँदै
दक्षिणएशियाका उत्कृष्ट ७१ वृत्तचित्र यही साता ललितपुरमा हेर्न पाइने भएको छ।
ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा ८ वैशाखदेखि शुरू हुने वृत्तचित्र महाेत्सव 'फिल्म साउथएशिया-२०२२' मा आठै देशका वृत्तचित्र प्रदर्शन गरिन लागेको हो।
महोत्सवमा सहभागिताका लागि तीन हजारभन्दा बढी वृत्तचित्र आएका थिए। जसमध्ये उत्कृष्ट ७१ वृत्तचित्र छनोट गरिएको आयोजकले जनाएको छ।
महोत्सव शुरू भएको २५ वर्ष पुगेको छ। सन् १९९७ मा पहिलो महोत्सवका लागि १३५ वृत्तचित्र आएका थिए। जसमध्ये प्रदर्शनका लागि ५५ वृत्तचित्र छनोट भएका थिए।
पछिल्लो पटक सन् २०१९ मा आयोजित महोत्सवमा पनि दक्षिणएशियाका वृतचित्र निर्माताको उल्लेखनीय सहभागिता थियो। सन् २०१९ मा दुई हजार पाँच सयभन्दा बढी वृत्तचित्रमध्ये ६३ वटा प्रदर्शन गरिएका थिए।
चार दिने महोत्सवमा वृत्तचित्रसँगै ‘प्यानल डिस्कशन’ पनि हुने भएको छ। दक्षिणएशिया र फिल्म सम्बन्धी विभिन्न ६ वटा शीर्षकमा छलफल हुनेछ।
महोत्सवको पहिलो दिन ८ वैशाखमा नौ वटा वृत्तचित्र प्रदर्शन गरिनेछन् भने ९ वैशाखमा २३ वटा वृत्तचित्र प्रदर्शन हुनेछन्। त्यस्तै, तेस्रो दिन १० वैशाखमा १९ वटा र अन्तिम दिन ११ वैशाखमा २० वटा वृतचित्र प्रदर्शन हुने फिल्म साउथएशियाले जनाएको छ।
महोत्सवमा दक्षिणएशियाका विभिन्न देशका वृत्तचित्र निर्माता, निर्देशक, कलाकार तथा यससँग सम्बन्धित विज्ञहरूको सहभागिता रहनेछ।