भाइकाे शव बाेकेर विदेशबाट फर्किँदा...
मलाई विश्वासभन्दा पनि झट्का लाग्यो। यो कसरी भयो? भाइलाई अस्पतालमा शान्त रूपमा सुतेको देखेर आँखा रसाए। ऊ सामान्य देखिन्थ्यो भने तातै थियो।
६ वर्षअघि यूएई गएको थिएँ। शुरूमा त्यहाँ बस्न निक्कै गाह्रो भयो। तर, त्यो देशले म जस्तो केही सीप र अनुभव नभएकालाई मिहिनेत गर्ने ठाउँ र सभ्य जीवन बाँच्न दियो।
एक रेस्टुराँमा सामान्य कामदारका रूपमा काम गर्न थालें र ६ वर्षको अन्तरालमा सहायक प्रबन्धकका रूपमा स्थापित भएँ। यो समयसम्म मेरो तलब शुरूभन्दा पाँच गुणाले बढेको थियो।
म यूएई छोडेर जानुपर्ने कुनै कारण नै थिएन, किनकि यहाँ मेरो रोजगारको सुरक्षा तथा अन्य सेवासुविधा थियो। तर, माल्टा देशमा बस्ने मेरो कान्छो भाइ मलाई ऊसँगै बस्न आग्रह गरिरहेको थियो।
“यूरोप भनेको यूरोप हो नि,” ऊ भन्ने गर्थ्याे। म त्यहाँ जानु भनेको, मात्र मेरो भाइसँगै हुनका लागि थियो। जब एकै देशमा बसेर काम गर्न पाउने, एकअर्कालाई सहायता दिन सकिने र चाडपर्व पनि सँगै मनाउन पाइने भए किन दुई जना छुट्टिएर बस्ने? मेरी आमाले पनि दुवै दाजुभाइ एकै ठाउँमा बस्ने निर्णय मन पराउनुभयो।
भाइले मलाई माल्टामा रोजगारी खोजिदियो, त्यो पनि रेस्टुराँमै। तलब भने यूएई र यहाँको खासै फरक थिएन।
म जनवरीको ३१ तारिखमा माल्टा गएँ, उसलाई नदेखेको पनि तीन वर्ष भइसकेको थियो। हामी एकदमै रोमाञ्चित भयौं। त्यति वेला मलाई के थाहा थिएन भने, यो भेटले हाम्रो जीवनको बाटो नै परिवर्तन गर्नेछ।
मलाई भेट्ने खुशीसँगै उसले १ मार्च १ मा नेपाल फर्किने पनि योजना बनाएको रहेछ। पहिले नै छुट्टीको मूडमा रहेछ। ऊ माल्टा आएपछि पहिलो पटक नेपाल फर्कंदै थियो।
क्रिकेटप्रेमी भएकाले घर फर्केर बर्दियामा हाम्रा साथीले स्थापना गरेको क्रिकेट एकेडेमी मार्फत खेल आयोजना गर्न १९ सय यूरो छुट्याएको पनि थियो।
आमाको प्यारो छोरा ऊ। आमा र काकालाई मोबाइल फोन पनि किन्ने योजनामा थियो।
माल्टामा बाइक डेलिभरी राइडरको काम गर्थ्यो। १६ फ्रेबुअरीको बिहानीपख आफ्नो मोबाइल चलाउँदै थियो, सोही वेला डेलिभरका लागि 'रिक्वेस्ट' आयो। उक्त ग्राहकलाई पुर्याउने निधो गर्यो। “अलि बढी यूरो पनि काम लाग्छ,” उसले भन्यो।
म त्यस वेला भिडिओ गेम खेलिरहेको थिएँ, उसले के भन्यो वास्ता पनि गरिनँ। ऊ त्यति भनेर अपार्टमेन्टबाट बाहिरियो। तल पुगेर मलाई बोलायो, उसले आफ्नो मोबाइल चार्ज गर्ने पावर ब्यांक नै छोडेको रहेछ। मानिसहरूलाई गन्तव्यसम्म पुर्याउने डेलिभर ब्वाई भएका कारण उसले पावर ब्यांक छुटाउन मिल्दैनथ्यो।
उसले मलाई फेरि बोलायो र आफ्नो पर्स बाल्कोनीबाट फाल्न भन्दै थियो। मैले दिएँ र उसले मुस्कुराउँदै समायो। कस्तो लापरवाह केटा यो, मैले सोचें।
एक छिनपछि मलाई एक जना नेपालीले फोन गर्यो। उसले मलाई छिटो अस्पताल जान भन्यो, किनकि हामी बसेको अपार्टमेन्टभन्दा तीन किलोमिटर पर अजयको दुर्घटना भएको रहेछ।
यो कुरा सुन्ने बित्तिकै मेरो हंसले ठाउँ छोड्यो, र दगुर्दै अस्पताल पुगें। म त्यहाँ पुग्ने बित्तिकै डाक्टरले अजयको मृत्यु भएको खबर सुनाए।
दुई पटक मोबाइल चार्जर र पर्स लिन फर्केको घटनाले अझै पनि मलाई पिरोल्छ। ट्रकले उसको बाइकलाई ठक्कर दिने बित्तिकै त्यहीं मृत्यु भएको थियो। यदि उसले त्यो सामान लिन दुई मिनेटले मात्र ढिलो नगरिदिएको भए अझै पनि जिउँदै हुन्थ्यो।
मलाई विश्वासभन्दा पनि झट्का लागेको थियो। यो कसरी भयो? मेरो भाइलाई अस्पतालमा शान्त रूपमा सुतेको देखेर मेरा आँखा रसाएँ। ऊ सामान्य देखिन्थ्यो भने अझै तातो थियो।
जब यो खबर नेपालमा आमाले सुनिन्, उनी बेहोस भइन्। जसले गर्दा उनलाई अस्पताल पुर्याउनुपर्यो। यसले मलाई पीडा र चिन्ता थपिदियो।
त्यो खाडलमा, सन्न महसूस गरिरहेको थिएँ, र के भइरहेको छ भन्ने भेउ पाउन सकिरहेको थिइनँ। म माल्टा आएको १७ दिन मात्रै भएको थियो। सबै धमिलो भयो।
भाइको अपार्टमेन्टमा आएर रोएँ, के भइरहेको छ, र अब के गर्ने केही थाहा थिएन। मैले अब भाइको लाश घर कसरी पुर्याउने भनेर बुझ्नुपर्ने थियो। यहाँ कसैलाई चिन्दैनथें, र कानूनबारे पनि थाहा थिएन।
अपार्टमेन्टमा साथीहरू श्रद्धाञ्जली दिन आए। तिनीहरू सबै रोए, र मलाई अँगालो मारे, मलाई खाना ल्याए र कोही एक सधैं मसँग हुन्थे। मलाई थाहा छैन कि यी मानिसहरू को थिए, तर तिनीहरू सबै अजयका साथीहरू थिए। र, तिनीहरू हामीलाई साथ दिन आएका थिए।
हुर्किंदै जाँदा म सधैं शान्त हुन्थें, र अजय भने बाहिर जान मन पराउँथ्यो। मलाई अनिल भन्दा ‘अजयको दाइ’ भनेर चिनिन्थ्यो। उसको मृत्युमा पनि म ‘अजयको दाइ’ थिए, उसका साथीहरूले घेरिएको, अपरिचित देशमा, अपरिचित मानिसबीच थिएँ।
अजयले माल्टामा कत्तिको सद्भावना कमाएको रहेछ भन्ने पनि प्रष्ट भयो। मसँग कम्तीमा पाँच जना नेपालीहरू थिए जो अजयबाट लिएको पैसा फिर्ता गर्न आएका थिए। तिनीहरूले फिर्ता गर्नुपर्दैनथ्यो, तर गरे। तिनीहरूका आँखामा आँसु थियो।
धेरैले उनीहरूलाई आर्थिक रूपमा संघर्ष गर्दा भाइले उनीहरूलाई कसरी मद्दत गर्यो भन्ने सम्झनाहरू सुनाए। त्यसपछिका हप्ताहरूमा, उसको सम्झना र श्रद्धाञ्जली स्वरूप फूटबल खेल आयोजना गरियो। मेरो भाइले धेरैमा छाप छोडेको थियो।
परदेशमा मृत्युका यी कथाहरू सामान्य हुन्। काठमाडौं विमानस्थलमा कफिन आइपुगेको देख्नु हामी नेपालीका लागि परिचित दृश्य हो। तिनीहरूमध्ये धेरैजसो खाडीबाट आउँछन्, जहाँ मैले ६ वर्ष बिताएको थिएँ।
तर, माल्टामा नेपालीको मृत्यु भएको यो पहिलो घटना हो। माल्टाका प्रधानमन्त्री र मेयरले पनि मलाई भेटेर समवेदना व्यक्त गरे। त्यहाँको नेपाली समुदाय स्तब्ध भयो। नेपाली र माल्टीज साथीहरूले उसको स्वदेश फिर्ताका लागि हाम्रो परिवारलाई सहयोग गरे र लगभग २८ लाख रुपैयाँ जम्मा भयो जसबाट हामीले शव नेपाल ल्याउन सक्यौं।
कार्गो होल्डमा बाकसभित्र भाइको शव राखिएको प्लेनमा आउनुको विवसतालाई कसरी वर्णन गर्न सकिन्छ? कान्छो भाइको शव घर ल्याइरहेको छु भनेर आमाबाबुसँग कसरी कुराकानी गर्न सकिन्छ?
घर फर्किंदै गर्दा भाइले मृत्यु हुनु केही साताअघि मलाई कसरी माल्टामा ल्याएको थियो भन्ने कुरा सोचिरहें। उसले ठूलो दाइले आफ्नो हेरचाह गरोस् र घरमा ल्याइदिओस् चाहेको जस्तो देखिन्थ्यो।
यूएईमा भएको भए म माल्टा जान सक्ने कुनै उपाय हुँदैनथ्यो। जति लामो पर्खाइ आमाबुबालाई त्यति नै गाह्रो हुन्थ्यो, भाइको शव देखेर र अन्तिम संस्कार पूरा गर्दा कम्तीमा उहाँहरूलाई बोझ हल्का हुन्थ्यो।
अहिले बर्दियामै बिस्तारै दिन बितिरहेका छन्। विचलित आमाबुबाको हेरचाह गर्नु मेरो प्राथमिकता हो। आमा शोकग्रस्त हुनुहुन्छ र केही खान मान्नुहुन्न। शायद उहाँसँग अब बगाउन बाँकी आँसु छैन।
हाम्रो जीवन बल्ल राम्रो हुन थालेको थियो। तीन महीनाअघि हामीले बुबालाई साइकलको यात्राभन्दा सहज हुन्छ भनेर एउटा स्कुटर किनिदिएका थियौं।
म अहिले मेरो भाइका सम्झनालाई जीवन्त राख्न प्रयास गरिरहेको छु र उसको सपना साकार बनाउन खोज्दै छु। हामीले उसको सम्झनामा क्रिकेट प्रतियोगिता राखेका थियौं, र यसमा बाँकेको टोलीले विजय प्राप्त गरेको थियो।
हामी दुवै दाजुभाइ क्रिकेट खेल एकदमै मन पराउँथ्यौं, भारतसँगको सीमा नजिक भएका कारण पनि हुन सक्छ। त्यति वेला खेल्न हामीसँग सामान्य सामग्रीहरू पनि थिएनन्।
महँगै भए पनि हामी टेनिस बल पनि खेल्थ्यौं। आफैंले ब्याट बनाउँथ्यौं। मेरो भाइ गाउँका अरू बालबालिकाले आफूहरूले जस्तो अभाव झेल्न नपरोस् भन्ने चाहन्थ्यो।
भाइको मृत्यु हुनु ठीक एक महीनाअघि मात्र स्पोर्टस् एकेडेमीलाई १५ हजार रुपैयाँ पठाएको थियो। प्रतियोगिताको पहिलो दिन मैले भाइको मन पर्ने जर्सी लगाएँ, जसको पछाडि उसको नाम ‘एजे’ लेखिएको थियो। जर्सी उसको सम्पत्तिमध्ये एक हो जुन मैले माल्टाबाट फिर्ता ल्याएको थिएँ। यस्ता ससाना कुराले मलाई उसको सम्झना दिलाउँछ र आँसुले आँखा भरिन्छन्।
बाल्यकालका धेरै यादले मलाई उसँग नजिक बनाउँछ, तर यसले ऊ यो संसारमा नभएको र अब कहिल्यै फर्किंदैन भन्ने नमीठो सत्य पनि याद दिलाउँछ। यो हारबाट अघि बढ्न सक्नेछौं भन्ने मलाई लाग्दैन। तर, शायद एक दिन यही तथ्यलाई आत्मसात् गरेर बाँच्न सिक्नेछौं।
यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।