कसरी जोगिने सामाजिक सञ्जालका ‘इन्फ्लुएन्सर’बाट?
एउटै पोस्टले लाखौं ‘फलोअर’ लाई प्रभावित बनाउन सक्ने सामाजिक सञ्जालका ‘इन्फ्लुएन्सर’बाट सावधानी जरुरी भइसकेको छ।
डेनमार्कस्थित मिडिया कम्पनी इन्फ्लुएन्सर मार्केटिङ हबका अनुसार, सोसल मिडिया इन्फ्लुएन्सर (सामाजिक सञ्जालमा प्रभाव पार्ने व्यक्ति) ती हुन् जसले कुनै विषयमा आफ्नो ज्ञान र विशेषज्ञताका लागि प्रतिष्ठा कमाएका हुन्छन्। अनि आफ्नो सरोकारका ‘पोस्ट’ हरू सामाजिक सञ्जालमा राखेर प्रशंसकको ध्यान खिचिरहन्छन्।
तर, नेपालमा यसखाले खास क्षमता, विशेषता नभएका थुप्रै व्यक्ति सामाजिक सञ्जालमा ‘इन्फ्लुएन्सर’ बनिरहेका देखिन्छन्। भाग्य न्यौपाने र पुण्य गौतम यस्तै प्रतिनिधि पात्र हुन्। पछिल्ला दिन आफूलाई राजनीतिकर्मीका रूपमा चिनाउने पुण्य गौतम कहिले सामाजिक अभियन्ता बन्छन्, कहिले मानिसहरूलाई आर्थिक सहयोग गरिरहेका देखिन्छन् त कहिले टिकटकमा पैसा मागिरहेका हुन्छन्। फेसबूकमा २३ हजारभन्दा बढी फलोअर रहेका उनलाई टिकटकमा दुई लाख ५६ हजार जनाले पछ्याउँछन्। आफ्नो विवादास्पद अभिव्यक्तिका कारण उनी प्रहरी हिरासतमा पनि पुगेका छन्।
सामाजिक सञ्जालमा पाँच लाख फलोअर तथा यूट्युब च्यानल ‘तात्तातो खबर’ मा २२ लाख सब्स्क्राइबर रहेका भाग्य न्यौपानेले आर्थिक र सामाजिक समस्यामा परेकाहरूका पीडा बाहिर ल्याएर सहयोग जुटाइदिने व्यक्तिको परिचय बनाएका छन्। तर, उनका कतिपय क्रियाकलाप शङ्कास्पद छन्। जस्तो न्यौपानेले लिएको केयर बाल गृहकी सञ्चालिका पुष्पा अधिकारी र विजय शाहीसँगको अन्तर्वार्ता अत्यन्त विवादित बन्यो।
विश्वभर तीन अर्ब चार करोड मानिस (झण्डै ४५ प्रतिशत) ले कुनै न कुनै सामाजिक सञ्जाल प्रयोग गर्छन्। तिनका कोही न कोही इन्फ्लुएन्सर अवश्य हुन्छन्। इन्फ्लुएन्सर मार्केटिङ हबका अनुसार, फलोअर सङ्ख्या, प्रस्तुत सामग्री तथा प्रभावका आधारमा इन्फ्लुएन्सरको मापन गरिन्छ।
कलाकार, खेलाडी, सङ्गीतकार लगायत व्यक्ति जो पहिलेदेखि नै चर्चित हुन्छन्, उनीहरूलाई ‘मेगा इन्फ्लुएन्सर’ मानिन्छ। यिनीहरूको फलोअर सङ्ख्या १० लाखभन्दा बढी हुन्छ। सानो पर्दाका कलाकार, सामाजिक अभियन्ता, राजनीतिज्ञ वा सामान्य व्यक्तिहरूलाई ‘माइक्रो इन्फ्लुएन्सर’ भनिएको छ। ४० हजारदेखि माथि फलोअर भएकालाई यस वर्गमा राखिएको छ। त्यस्तै, एक हजारदेखि ४० हजारसम्म फलोअर भएकालाई ‘नानो इन्फ्लुएन्सर’ को वर्गमा राखिएको छ।
फलोअरको लर्को
नेपालमा फेसबूकमा धेरै फलोअर भएका व्यक्तिमध्ये अभिनेत्री प्रियंका कार्की पहिलो नम्बरमा पर्छिन्। कार्कीलाई फेसबूकमा २७ लाख, इन्स्टाग्राममा १० लाख, यूट्युबमा चार लाख २४ हजार र ट्वीटरमा एक लाख २३ हजारले ‘फलो’ गर्छन्। फेसबूक ‘फलो’ मा दोस्रो नम्बरमा छिन् गायिका अन्जु पन्त। पन्तका २५ लाख फलोअर छन्। त्यस्तै, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका १५ लाख, डान्सर सुशान्त खत्रीका १७ लाख र अभिनेता हरिवंश आचार्यका ११ लाख फलोअर छन्।
तस्वीर र भिडिओ शेयर गरिने अर्को चर्चित सामाजिक सञ्जाल इन्स्टाग्राममा मोडल अदिति बुढाथोकीलाई सबैभन्दा बढी २० लाखले पछ्याएका छन्। दोस्रो नम्बरमा सुशान्त खत्री (१२ लाख) र तेस्रोमा मेकअप आर्टिस्ट प्रमिस तामाङ (११ लाख) छन्। ट्वीटरको हकमा पूर्व प्रधानमन्त्री भट्टराईका १४ लाख, नेता गगन थापाका ११ लाख, रवीन्द्र मिश्रका १० लाख फलोअर छन्।
त्यस्तै, यूट्युबमा मनोरञ्जन दिने खालका भिडिओ धेरै मानिसले फलो गर्ने गरेका छन्। यसमा सबैभन्दा बढी सागर गुरुङको च्यानललाई सब्स्क्राइब गरिएको छ। उनको च्यानल ‘आईएमसेगा’ लाई ११ लाख मानिसले सब्स्क्राइब गरेका छन् भने दोस्रोमा मिङमार लामाको च्यानल ‘मिङ शेरप’ मा १० लाख सब्स्क्राइबर छन्। ‘नेपाली प्य्राङ्क मिनिस्टर’ नामक च्यानल सञ्चालन गर्ने नीरज श्रेष्ठ अहिले आफ्नै नामको च्यानल चलाउँछन् जसमा नौ लाख सब्स्क्राइबर छन्। त्यसै गरी यूट्युबर जेम्स श्रेष्ठका आठ लाख र एलिस राईका ६ लाख सब्स्क्राइबर छन्।
नाच्ने-गाउने तथा अभिनयको उद्देश्यले खोलिएको टिकटकमा पनि मानिसको लर्को छ। यसमा जुम्ल्याहाहरूको प्रस्तुति सबैभन्दा मन पराइएको छ। टिकटकमा ट्वीनी गर्ल्सका रूपमा प्रिज्मा र प्रिन्सी खतिवडालाई धेरैले फलो गरेका छन्। टिकटकमा उनीहरूका ७२ लाख फलोअर छन्। त्यस्तै, शारीरिक अपाङ्गता भएकी मेघा घिमिरेलाई ३३ लाख मानिसले फलो गरेका छन्। योसँगै जुम्ल्याहा दिदीबहिनी दीपा-दमन्ता श्रेष्ठका २९ लाख र इच्छिता-विच्छिता तिवारीका २४ लाख फलोअर छन्।
कस्तो मञ्च?
पछिल्लो समय सामाजिक सञ्जाल समसामयिक विषयमा बहस गर्ने थलो बनेको छ जसले सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको अभ्यासलाई बलियो त बनाएको छ। सँगसँगै अफवाह र हल्लालाई फैलाउन र मानिसको विचार निर्माण प्रक्रियालाई नै बिथोल्न थालेको छ। सोसल मिडिया मार्फत जसरी भए पनि चर्चित हुने अर्थात् ‘भाइरल’ बन्ने मोह झाँगिंदो छ। यससँगै मानिसहरूले पछ्याउने व्यक्ति पनि फेरिन थालेका छन्। विगतमा राजनीतिकर्मी तथा सामाजिक अभियन्तालाई पछ्याउनेहरू आज सामाजिक सञ्जालमा प्रभाव जमाएका जोसुकैका विचारलाई पछ्याउँछन्।
नेपालमा सामान्यतया फलोअर सङ्ख्याका आधारमा इन्फ्लुएन्सर मान्ने चलन छ। तर, उनीहरूका विचारले कतिलाई प्रभाव पार्छ भन्ने आधारमा इन्फ्लुएन्सर निर्धारण गरिनुपर्ने त्रिभुवन विश्वविद्यालयका पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागका उपप्राध्यापक लेखनाथ पाण्डे बताउँछन्।
उनका अनुसार, सामाजिक सञ्जालबाट लोककल्याणका सामग्री वा सार्वजनिक बहसको अपेक्षा हुने गरे पनि यस्ता सामग्री दिने इन्फ्लुएन्सर छैनन्। “चटपटे सामग्री प्रस्तुत गर्ने च्यानल र पक्ष-विपक्ष लिएर झगडा पार्ने वा विवादमा तान्न सक्ने व्यक्तिहरूलाई धेरैले फलो गर्छन्,” पाण्डे भन्छन्।
कसैको पोस्टले चार-पाँच जना मात्रलाई प्रभाव पार्छ भने पनि त्यो इन्फ्लुएन्सर हुन सक्ने उनको बुझाइ छ। “फलोअर हुने बित्तिकै इन्फ्लुएन्सर मान्ने हो भने लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा सबैभन्दा बढी फलोअर बनाएका थिए। फलोअर त किन्न पनि पाइन्छ,” उनी भन्छन्, “वास्तविक इन्फ्लुएन्सर भनेको फलोअरको सङ्ख्याभन्दा पनि उसको विश्वसनीयता, पोर्टफोलियो तथा सार्वजनिक स्वीकार्यता हो।”
अभिनेत्री कार्की पनि सामाजिक सञ्जाल झन् झन् विषाक्त हुँदै गएको बताउँछिन्। उनका अनुसार, सामाजिक सञ्जाल आफ्ना तस्वीर र घटनाहरू समेट्ने विशुद्ध मनोरञ्जनको माध्यम रहे पनि अहिले नकारात्मक विचारहरू पोखिन थालेका छन्। सामाजिक सञ्जाल भड्किला सामग्री र आलोचनाको थुप्रो मात्र बन्न थालेपछि आम मान्छेमा सोसल मिडिया ‘इन्फ्लुएन्सर’ प्रति वितृष्णा बढ्ने जोखिम उनले देखेकी छिन्।
“मूल रूपमा फेसबूक, इन्स्टाग्राम आफ्ना तस्वीर र जीवनका घटनाहरू झल्काउने सामग्री राख्ने अनि तिनमा लाइक-कमेन्ट गर्ने रमाइला माध्यम मात्र हुन्। आजभोलि भने धेरै नकारात्मक विचार र सामग्रीहरू पोखिन थालेका छन्,” उनी भन्छिन्।
अन्तर्राष्ट्रिय अभ्यास
सामाजिक सञ्जालका फाइदा-बेफाइदा अध्ययन गरी यसका नकारात्मक प्रभाव रोक्नुपर्नेमा संसारभरि बहस हुन्छ। अमेरिकामा फेसबूक, ट्वीटर, इन्स्टाग्राम र यूट्युबका प्रमुखहरूलाई डाकेर सामाजिक सञ्जालमा आएका सामग्री र तिनले पारेको सामाजिक प्रभावबारे छलफल हुने गरेको छ। जनताको मानसिकतामै असर पुर्याउने खालका सामग्रीलाई सामाजिक सञ्जालका सञ्चालकहरूले नै छानेर रोक लगाउँछन्।
पछिल्ला उदाहरण हुन्, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प। सामाजिक सद्भाव बिथोल्ने तथा हिंसात्मक अभिव्यक्ति दिएको भन्दै ट्वीटरले ८ जनवरी २०२१ मा ९० लाख फलोअर रहेका उनको अकाउन्ट सधैंलाई निलम्बित गरिदियो। लगत्तै फेसबूक, गुगल, स्न्यापच्याट, रेडइटले पनि ट्रम्पलाई सामाजिक सञ्जालबाट हटाए।
भारत सरकारको आग्रहमा ट्वीटरले त्यहाँको किसान आन्दोलनसँग जोडिएका पाँच सयभन्दा बढी अकाउन्ट बन्द गरिदिएको थियो। पश्चिम बङ्गाल विधानसभा चुनावको नतीजाबारे लगातार आलोचनात्मक टिप्पणी पोस्ट गरेकी बलिउड अभिनेत्री कंगना रानावतको ट्वीटर अकाउन्ट पनि घृणित आचरण र अपमानजनक व्यवहार देखाउन नपाउने नियम बारम्बार उल्लङ्घन गरेको भन्दै बन्द गरियो। सामाजिक सञ्जालको दुरुपयोग भएकैले अमेरिका, बेलायत, भारत लगायत थुप्रै देशमा यस्ता निषेधात्मक कदम चालिएका छन्। चीनमा सरकारले सामाजिक सञ्जालबाटै जनताका गतिविधि निगरानी गर्छ।
इतिहास अध्येता प्रत्यूष वन्त भने सामाजिक सञ्जालले विचार सिर्जना गर्ने नभई समाजमा उत्पन्न विचार त्यस मार्फत सम्प्रेषित मात्र हुने ठान्छन्। “सामाजिक सञ्जालबाट विरोधाभासपूर्ण विचारहरू आएको मलाई पटक्कै लाग्दैन। नेपाली समाजमा शुरू भएका विभिन्न प्रक्रियाहरूको उत्पादन नै सामाजिक सञ्जालमा देखिएको हो,” उनले भने।
दुरुपयोगको जोखिम
सामाजिक सञ्जालमा आफूले पछ्याएका अगुवाहरूको बाटो सही-गलत कस्तो भन्ने तथ्य जाँच नगरी अन्धविश्वास गर्ने परिपाटीले समाजलाई गलत दिशातर्फ बढाउने जोखिम हुन्छ। यस क्रममा इन्फ्लुएन्सरलाई फकाएर राजनीतिक दल, व्यापारी र विभिन्न स्वार्थ समूहले दुरुपयोग गर्ने जोखिम रहने उपप्राध्यापक पाण्डे बताउँछन्। नेपालमा धेरै फलोअर भएकाहरूको दुरुपयोग भइरहेको जनाउँदै उनी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कै सन्दर्भमा पनि कतिपय इन्फ्लुएन्सरहरू विषयलाई गिजोल्न तथा जटिल बनाउन सहयोगी बनेको ठान्छन्।
पाण्डेका अनुसार, अन्तर्राष्ट्रिय अभ्यासमा सामाजिक सञ्जालमा व्यक्त आफ्ना धारणाले समाजमा विवाद सिर्जना गर्दा कतिपय व्यक्तिले पद समेत गुमाएका छन्। “हाम्रोमा अझै पनि धेरैले सामाजिक सञ्जाल प्राइभेट स्पेस हो भन्छन्, तर त्यो होइन। रिट्वीट अनुमोदन गर्न मिल्दैन भन्छन्, तर यो गर्न मिल्छ,” उनी भन्छन्, “नेपालमा यो विषयमा बौद्धिक बहस कमै छ।”
सामाजिक सञ्जालमा कुनै ‘ब्रान्ड’ अनुमोदन गर्न पनि इन्फ्लुएन्सरको प्रयोग हुने गरेको सामाजिक सञ्जाल विश्लेषक आकार अनिल बताउँछन्। उनका अनुसार, धेरैजसो इन्फ्लुएन्सरहरू कलाकार छन्। आफ्ना सामग्रीको प्रवर्द्धनका लागि फलोअर धेरै भएका र प्रभाव पार्न सक्ने त्यस्तै व्यक्तिको खोजीमा कम्पनीहरू हुन्छन्।
इन्फ्लुएन्सरले सामाजिक सञ्जालमा आफ्नो विचार राखेपछि फलोअर मार्फत त्यो सबैतिर छताछुल्ल हुने इतिहास अध्येता वन्तको बुझाइ छ। “नेपालमा एमसीसीको विरोध सामाजिक सञ्जालमा राखेपछि भएको होइन, यस्तो विरोध हुन्छ भन्ने पहिल्यै थाहा थियो,” वन्त भन्छन्, “पहिल्यैदेखिको विचार कसैले सामाजिक सञ्जालमा राखेपछि जनताले समर्थन जनाएका हुन्।”
सकारात्मक पाटो
रोजगारी सिर्जना गर्नु सामाजिक सञ्जालको सकारात्मक पाटो रहेको पाण्डे बताउँछन्। उनका अनुसार, सञ्जालहरूमा गरिएका पोस्टकै आधारमा मानिसहरू यसमा कति व्यस्त छन् भन्ने पुष्टि हुन्छ। कोही घुम्न, ट्रेकिङ गर्न त कोही कोही खाना पकाउन अनि नाच्न व्यस्त छन्।
सार्वजनिक मुद्दा बन्न नसकेका कतिपय विषय सामाजिक सञ्जालमै आएपछि निष्कर्षमा पुगेका छन्। जस्तो, कार्यालयमा भएका हिंसा, ट्राफिक प्रहरीले गरेको दुर्व्यवहार, सामूहिक झडप जस्ता घटना सामाजिक सञ्जालबाटै बाहिर आएपछि तिनमा कारबाही भएको छ।
केही वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई सजाय माग्दै धेरै व्यक्ति सडकमा आए। सामाजिक सञ्जालमा ‘सरकार भेटियो, न्याय भेटिएन’, ‘ह्यासट्याग जस्टिस फर निर्मला’ जस्ता अभियान चले। सामाजिक सञ्जालकै प्रभावले पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटा र पूर्व कृषि मन्त्री हरिप्रसाद पराजुली राजीनामा दिन बाध्य भएका थिए।
बास्कोटाले स्वीस ब्याङ्कका नेपाल प्रतिनिधिसँग ७० करोड कमिशन मागेको दाबी गरिएको श्रव्य सामग्री सञ्जालमा ‘भाइरल’ भएको थियो। त्यस्तै, पराजुलीले रोपाइँ कार्यक्रममा महिलालाई दुर्व्यवहार गरेको भन्दै तस्वीर तथा भिडिओ सार्वजनिक भएको थियो।
महामारीले राजनीतिक कार्यक्रम, गैरसरकारी संस्थाहरूको सक्रियता तथा छापा सञ्चार माध्यमहरू अवरुद्ध भएका वेला सूचना प्राप्तिको प्रभावकारी माध्यम सामाजिक सञ्जाल नै बनेको थियो। “सामाजिक सञ्जाललाई सदुपयोग गर्न र प्रयोगकर्तालाई सही दिशामा लैजान अध्ययन-अनुसन्धानको जरुरी छ,” उपप्राध्यापक पाण्डे भन्छन्, “अफवाह फैलाउने तथा सामाजिक सद्भाव खलबल्याउने इन्फ्लुएन्सरलाई नियन्त्रण गर्न उचित कानूनको आवश्यकता पनि देखिन्छ।”
कहाँ छ समस्या?
समाज र बजारलाई आवश्यक सही इन्फ्लुएन्सर पहिचान गर्नु अहिलेको मुख्य चुनौती हो। इन्फ्लुएन्सर मार्केटिङ बेन्चमार्कको प्रतिवेदन अनुसार, ५६ प्रतिशत ब्रान्डका उत्पादकले सही इन्फ्लुएन्सर भेट्न गाह्रो भएको जनाएका छन्। हरेक व्यक्तिले आफ्नै रुचि अनुसारका विषय सामाजिक सञ्जालमा पोस्ट गर्ने भएकाले कसलाई इन्फ्लुएन्सर मान्ने भन्नेमै समस्या छ।
अर्कातर्फ आफू इन्फ्लुएन्सर भएको भ्रम छर्दै लाइक तथा कमेन्ट बटुल्नेहरू पनि हुन्छन्। यस्ता व्यक्ति विशेष गरी इन्स्टाग्राममा भेटिन्छन्। बेन्चमार्कको एक अध्ययनमा सहभागीमध्ये करीब ६३ प्रतिशतले विभिन्न ब्रान्डको प्रवर्द्धनमा फर्जी काम भएको अनुभव गरेका छन्।
“अर्कातर्फ हामीकहाँ यसरी प्रवर्द्धन गरिएका उत्पादन तथा ब्रान्ड कस्ता हुन् भन्ने अध्ययन भएको छैन,” अनिल भन्छन्, “तर सामाजिक सञ्जालबाट व्यापक मार्केटिङ भइरहेको छ।”
सामाजिक सञ्जालमा प्रस्तुत गरिने विचार तथा सामग्री बौद्धिक हुनुपर्ने अभिनेत्री सुरक्षा पन्त बताउँछिन्। “कतिले हामीलाई आदर्श मान्छन्। हामीले लेखेका वा भनेका कुराले समाजमा प्रभाव पर्छ। त्यसैले लेख्नुभन्दा पहिले १० चोटि सोच्नुपर्छ,” उनी भन्छिन्। पन्तको बुझाइमा इन्फ्लुएन्सरले विभिन्न ज्ञानवर्द्धक कुराहरूमा अद्यावधिक भएर आफ्नो बौद्धिकता बढाउनुका साथै सामाजिक दायित्वको बोध गर्नुपर्छ। “कसैलाई लाद्ने किसिमले नभई स्वाभाविक रूपमा आएका टिप्पणीहरूले समाजमा स्वच्छ बहस सिर्जना गर्छन्,” उनी भन्छिन्।
अभिनेत्री कार्की भने समाजलाई कसरी दिशानिर्देश गर्ने भन्नेमा इन्फ्लुएन्सरलाई उत्तरदायी ठान्नु नै गलत मान्छिन्। “सोसल इन्फ्लुएन्सर’ ले इन्स्टाग्राममा बसेर देश हाँक्ने होइन। कसैका फलोअर धेरै छन्, पहुँच अलि बढी छ भने त्यसलाई सकारात्मक मार्गमा प्रयोग गर्ने मात्र हो,” उनी भन्छिन्।
इतिहास अध्येता वन्तको बुझाइमा लोकतान्त्रिक गणतन्त्रमा सबै प्रश्नको जवाफ एकै व्यक्तिसँग नहुने भएकाले समाजमा विचारहरू जन्मिरहन्छन्। सामाजिक सञ्जालले त्यस्ता विचारहरू चिन्न मद्दत गर्छ। “हामीकहाँ गलत सूचना पहिलेदेखि नै थियो, तर सामाजिक सञ्जाल आएपछि त्यसलाई चिन्न सजिलो भएको छ,” उनी भन्छन्।