उपमेयरको अनुभवपछि मेयरमा दाबी
पाँच वर्ष उपमेयर भएर अनुभव बटुलेका कैलालीका उपमेयरहरू ३० वैशाखको स्थानीय चुनावमा मेयरको दाबेदार बनेका छन्।
कैलालीको गौरीगंगा नगरपालिका उपमेयर अञ्चला चौधरी मेयरको टिकटका लागि पार्टीभित्रै प्रतिस्पर्धा गरिरहेकी छन्। पाँच वर्षसम्म उपप्रमुख भएर काम गरिसकेपछि अब आफू मेयरका लागि सक्षम भइसकेको उनको भनाइ छ।
नेकपा (एमाले) को गौरीगंगा नगर कमिटीले मेयरका लागि दुई जनाको नाम सिफारिश गरेको छ। जसमा उपमेयर चौधरी र प्रदेश कमिटी सदस्य पदम सिलान छन्।
एमालेका स्थानीय नेताहरूले फेरि उपमेयर दोहोर्याउन आग्रह गरे पनि आफू मेयरका लागि योग्य भएको उनले जिकिर गरिन्। त्यसपछि एमाले नगर कमिटीले दुवैको नाम जिल्ला कमिटीमा पठाएको छ।
“महिला प्रमुख बन्ने विषयलाई पार्टीहरूले पनि सकारात्मक रूपमा लिनुपर्छ,” चौधरी भन्छिन्, “अघिल्लो निर्वाचनले प्रमुखमा पुरुषको वर्चस्व कायम राखेको थियो। अब महिला पनि सक्षम भइसकेका छन्।”
२०७४ को स्थानीय तह निर्वाचनमा स्थानीय तहका प्रमुखमा ९८ प्रतिशत पुरुष थिए। त्यति वेला दुई प्रतिशत रहेका महिलालाई यस पटक बढाउनुपर्ने उनको भनाइ छ। “अब स्थानीय तह प्रमुखमा महिलाको सहभागिता बढ्नुपर्छ, सबैले बढाउन पहल पनि गर्नुपर्छ,” चौधरी भन्छिन्।
समुचित विकास र सुशासन कायमका लागि पनि अब स्थानीय तह प्रमुखमा महिला आउन जरुरी रहेको गोदावरी नगरपालिका उपमेयर रत्ना कडायत बताउँछिन्। उनले पनि मेयरमा दाबी गरेकी छन्।
अब सबै दलले महिलाको अर्थपूर्ण सहभागितामा जोड दिनुपर्ने उनको मत छ। उपमेयर भएर पाँच वर्ष काम गर्दा अनुभव बटुलेको उनी बताउँछिन्। “स्थानीय तहमा मेयरले एक्लै काम गर्न खोज्ने परिपाटीले भ्रष्टाचार मौलाएको छ,” कडायत भन्छिन्, “अब महिलालाई उपप्रमुख पदमा मात्रै सीमित नराखी प्रमुख पदमा ल्याउनुपर्छ।”
यो पाँच वर्षको अवधिमा धेरै काम गर्न सक्ने आत्मविश्वास जागेको उनी सुनाउँछिन्। “म गर्न सक्छु। मेयर हुने क्षमता छ,” उनी भन्छिन्, “यस पटक मेयरका लागि टिकट मागिरहेको छु।”
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा कैलालीका १३ वटै स्थानीय तहमा महिला उपप्रमुख आएका थिए। कुनै पनि स्थानीय तहमा महिला प्रमुख बनेका थिएनन्। धनगढी उपमहानगरपालिका उपमेयर सुशीला मिश्र भट्ट उपमेयर वा उपाध्यक्ष पद महिलाका लागि मात्र हो भन्ने धारण त्याग्नुपर्ने बताउँछिन्।
“अघिल्लो निर्वाचनमा महिला उपप्रमुख पदका लागि मात्रै योग्य छन् भन्ने जस्तो गरेर टिकट दिइएको थियो, तर हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने, महिला उपप्रमुख हुनलाई मात्र राजनीतिमा लागेका होइनन्। प्रमुखका रूपमा नेतृत्व गर्न सक्षम छन्,” उनी भन्छिन्।
उनी पनि मेयरका लागि आन्तरिक तयारीमा जुटेकी छन्। अब उपमेयरमा नलड्ने बताउँदै भट्ट भन्छिन्, “मेयरको टिकटका लागि लबिइङ गरिरहेकी छु।”
त्यस्तै, गत पाँच वर्ष उपमेयर भएर अनुभव बटुलेकी टीकापुर नगरपालिका उपमेयर केशरी विष्ट पनि यस पटक मेयरको दाबी गरिरहेकी छन्। “२०७४ को निर्वाचनमा पनि मैले मेयरकै दाबी गरेको थिएँ, तर पार्टीले मलाई नै सम्झौतामा आउन आग्रह गरेपछि उपमेयरमा बसेको हुँ,” विष्ट भन्छिन्, “अब स्वाभाविक रूपमा म मेयरको दाबेदार हुँ। पार्टीका साथीहरूले पनि सहमति जनाउनुहुन्छ भन्ने विश्वास छ।”
अघिल्लो पटक नै आफू मेयरका लागि सक्षम रहेको उनको भनाइ छ। पाँच वर्ष उपमेयर भएर काम गर्दा अनुभव पनि थपिएको उनी बताउँछिन्। अब उपमेयरमा नदोहोरिने बताउँदै उनी भन्छिन्, “पार्टी र पार्टीका नेताहरूलाई अनुरोध गर्छु, एक पटक विश्वास गरेर हेर्नुस्, पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु।”
टीकापुर नगरपालिकामा नेपाली कांग्रेसबाट ११ जनाले मेयरका लागि दाबी गरेका छन्। जसमा महिला उनी एक्ली हुन्।
गत निर्वाचनले स्थानीय तहमा महिलाको सहभागिता बढाएको भए पनि निर्णायक तहमा भने उल्लेख रहेन। स्थानीय तहको प्रमुखभन्दा पनि उपप्रमुखमै सीमित गरिएको थियो। यस पटक भने नेतृत्व दिनुपर्ने उनीहरूको भनाइ छ।
महिलालाई नेतृत्वमा ल्याउनुपर्ने माग गर्दै अधिकारकर्मी महिलाले राजनीतिक दललाई दबाब पनि दिइरहेका छन्। कैलालीका विभिन्न संघसंस्था, नागरिक समाज लगायतले राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
प्रमुख दलहरूको कार्यालयमै पुगेर महिला, दलित, सीमान्तकृत समुदायको स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी नेतृत्वमा सहभागी गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा घिमिरेले बताइन्। “२०७४ साल को त पहिलो निर्वाचन थियो, उपप्रमुख पद दिंदा पनि ठीकै मानिएको थियो,” घिमिरे भन्छिन्, “अब त पाँच वर्ष उपप्रमुख भएर काम गरिसकेका छन्। अनुभव बटुलेका छन्। सक्षम भइसकेका छन्, प्रमुख पदमा उम्मेदवार बनाउनुपर्छ।”