विराटनगरमा गठबन्धनभित्रै प्रतिस्पर्धा, डिला संग्रौला सहित १३ दाबेदार
विराटनगर महानगरपालिको मेयरका लागि सत्तारुढ गठबन्धनभित्रै प्रतिस्पर्धा देखिएको छ।
मेयरको उम्मेदवारका लागि नेकपा (एमाले) को महानगर कमिटीले पाँच जनाको नाम सिफारिश गरिसकेको छ। सत्तारुढ गठबन्धनका पाँच दलले उम्मेदवारको नाम टुंग्याउन सकेका छैनन्।
मेयरको उम्मेदवारको नाम टुंगो लगाउन पाँच दलीय गठबन्धनले उम्मेदवार छनोट कार्यदल गठन गरेको छ। नेपाली कांग्रेसका जिल्ला उपसभापति भक्ति माझीको नेतृत्वमा गठन गरिएको कार्यदलमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य विजय विश्वास, जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष राजकुमार यादव र नेकपा (एकीकृत समादवादी) का उद्धव पोखरेल सदस्य छन्।
गठबन्धनको केन्द्रले तय गरेको मापदण्डअनुसार, कार्यदलले मोरङको एक महानगर, आठ नगर र आठ गाउँपालिकामा तालमेलको खाका तयार गर्नेछ। कार्यदलले खाका नबनाउँदै गठबन्धनमा रहेका स्थानीय नेता भने मेयरको प्रत्यासीका रुपमा आफूलाई प्रस्तुत गर्न थालेका छन्।
२०७४ सालको निर्वाचनमा मेयरको उम्मदवार बनेका जसपाका नेता उमेश यादवले आगामी निर्वाचनका लागि आफू बलियो उम्मेदवार भएको बताए। विराटनगरमा गठबन्धनभित्रैका दलसँग प्रतिस्पर्धा रहेको उनको भनाइ छ। “हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हो, एमालसँग हैन,” यादवले हिमालखबरसँग भने, “विराटनगरमा हामी बलियो छौं।”
२०७४ को निर्वाचनमा कांग्रेसका भीम पराजुली मेयरमा निर्वाचित भएका थिए। पराजुलीले २३ हजार ३१, नेकपा (एमाले)का विनोदप्रसाद ढकालले १७ हजार ३२१ र तत्कालीन संघीय समाजावादी फोरमका यादवले १४ हजार ९५८ मत पाएका थिए।
त्यतिवेला जसपा र माओवादीबीच तालमेल भएको थियो। मत बदर भएकाले आफू पराजित भएको यादवको भनाइ छ। माओवादी र जसपाको चिह्नमा छाप लागेका ११ हजारभन्दा बढी बदर भएका थिए।
त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव, विराटनगरका पूर्व उपमेयर भुराज राई र भरत दाहाल पनि मेयरका दाबेदार रहेका छन्।
यसैगरी, कांग्रेसबाट मेयरका लागि लबिइङ गर्न नेताहरू काठमाडौं धाइरहेका छन्। अहिले केन्द्रीय सदस्य तथा मेयर पराजुलीसँगै केन्द्रीय सदस्यद्वय अमृत अर्याल र डिला संग्रौला, जिल्ला उपसभापति नागेश कोइराला, महानगर सभापति दीपक चापागाई तथा उपसचिवबाट हालै सेवा निवृत्त भएका गोपाल रेग्मीले मेयरमा दाबी गरेका छन्।
संग्रौला प्रतिनिधि सभा सदस्य तथा नेपाल महिला संघकी पूर्व सभापति हुन्। उनी चुनावी तयारीका लागि काठमाडौं छाडेर विराटनगर बसेकी छन्। रेग्मी विराटनगरमा पूर्व प्रमुख प्रशासकीय अधिकृत हुन्।
माओवादीबाट महानगर अध्यक्ष नविन पौडेल, सचिव नमिता न्यौपाने र भेगेन्द्र यादवले मेयरको दाबी गरेका छन्। यादव गत निर्वाचनमा मेयरको उम्मेदवारका रुपमा प्रचार गरिएका थिए। तर, जसपासँग तालमेल भएपछि उनी पछि हटेका थिए।
सचिव न्यौपाने उपमेयरमा पराजित भएकी थिइन्।
कांग्रेस उपसभापति कोइरालाले कार्यदलको निर्णयपछि मात्रै उम्मेदवारको टुंगो लाग्ने बताए।
एमालेको महानगर कमिटीले केन्द्रीय सदस्य रामलाल साह, महानगर अध्यक्ष सागर थापा, महेश भट्टराई र पर्शुराम बस्नेतको नाम सिफारिश गरेको छ। एमाले मोरङका सचिव रुपेश खतिवडाले महानगर कमिटीको बैठकमा नाम सिफारिश गरेको भए पनि आधिकारिक रुपमा जिल्ला कमिटीमा नपुगेको बताए।
त्यस्तै, शाहीकालका मेयर प्रह्लादप्रसाद साहले राप्रपा नेपालबाट मेयरमा उठ्ने दाबी गरेका छन्। उनी २०७४ सालमा पनि मेयरका उमेदवार भएका थिए।