आगन्तुक चरा रैथाने भए घोडाघोडी तालमा
लोपोन्मुख चराको बासस्थान रहेको कैलालीको घोडाघोडी तालमा चराको सङ्ख्या वृद्धि भएको छ ।
घोडाघोडी पर्यटन बोर्डका उपाध्यक्ष दयाराम चौधरीले यसवर्ष तालमा २९९ प्रजातिका चरा फेला परेका जानकारी दिए ।
“ हरेक वर्ष विश्वभरि एकैसाथ जनवरीको पहिलो साता चरा गणना गर्ने क्रममा तालमा विभिन्न प्रजातिका ५१ थप चरा फेला परेका छन्”, उनले भने, “गतवर्ष तालमा २४८ प्रजातिका चरा फेला परेका थिए ।”
विश्वबाट लोप हुने अवस्थामा पुगेका १३ प्रजातिका चरासमेत ताल क्षेत्रमा पाइएका छन् । ७१ चरा संरक्षण गर्नुपर्ने सूचीमा छन् ।
घोडाघोडी नगरपालिकामा रहेको उक्त तालमा नेपालबाट लोप हुने अवस्थामा पुगेका २८, नेपालमा संरक्षण गर्नुपर्ने सूचीमा रहेका ४१ र नेपालबाट लोप हुने खतरामा रहेका दुई प्रजातिका चरा भेटिएका चौधरीले बताए ।
अहिले विश्वमा चाराका ४४ प्रजाति दुर्लभ, ३५ प्रजाति खतराको अवस्थामा, नौ प्रजाति लोपको अवस्थामा र आठ प्रजाति लोप भइसकेका छन् ।विश्वमा पाइने ११ हजार १२६ प्रजातिका चरा मध्ये नेपालमा एक हजार ६७ प्रजातिका चरा पाइन्छन् ।
सो ताल हरि हाँस, बगाले, वन कुखुरा र नागुन हाँसले बच्चा उत्पादन गर्ने थलो समेत बनेको छ । घोडाघोडी तालमा अन्यत्र नपाइने चरा पनि पाइने गरेको पक्षी संरक्षक हिरुलाल डगौराले बताए ।
उक्त तालमा ५६ प्रजातिका जलपक्षी समेत भेट्टिने गरेको तथ्याङ्क छ । रामसार सूचीमा सूचीकृत घोडाघोडी तालको क्षेत्रफल दुई हजार ५६३ हेक्टरमध्ये ३५२ हेक्टर तालको छ ।
२०६७ असारमा बच्चा कोरलेको घुमन्ते चरा बगाले सिमकुखुराले अहलिे घोडाघोडीको रैथाने बनेको छ ।
त्यस्तै जलअप्सरा करीब पाँच वर्षपछि फेरि देखा परेको छ । यो रैथाने चरा भए पनि उचित व्यवस्थापन, वासस्थान, चोरी शिकारीलगायतका कारण हराएको थियो ।
लोपोन्मुख चराको रूपमा रहेको सुनजुरे हाँस पनि दुई वर्षपछि देखा परेको छ। सन् २०१२ मा घोडाघोडी ताललाई दोस्रो प्रजनन केन्द्र बनाएको नादुन हाँस र सुनौलो टोप चरालाई यसवर्ष रेकर्ड गरिएको छ ।
उक्त तालको सूचक प्रजातिका रुपमा रहेको हरिहाँसले पनि प्रजनन केन्द्र बनाएको छ । सन् २०१३ मा विश्व रामसार सूचीमा सूचीकृत हुँदा हरिहासको सङ्ख्या एक हजार थियो । पछिल्ला वर्षमा यसको सङ्ख्या भने घटेको छ ।