निर्वाचनप्रति भ्रम फैल्याउनेलाई कारबाही हुन्छ: आयुक्त भण्डारी
स्थानीय तहको निर्वाचनका विषयमा भ्रम फैलाउने व्यक्तिहरूलाई कारबाही गरिने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।
शुक्रबार हेटौंडामा सञ्चारकर्मीसँगको अन्तरक्रियामा आयुक्त भण्डारीले मुख्य राजनीति दलको नेतृत्वबाटै निर्वाचन प्रक्रियामाथि आशंका फैलाउने अभिव्यक्ति आइरहेको बताए। आयोगले सबै तयारी सकेको अवस्थामा अनावश्यक भ्रम फैलाउनेलाई आयोगले कारबाही गर्ने उनको भनाइ थियो।
“हामीले राम्रोसँग नोट गरेका छौं, कारबाही गर्नेछौं,” आयुक्त भण्डारीले भने, “देश निर्वाचनमय भएको छ, यो निर्वाचन नभए हामी २० वर्षपछि धकेलिने छौ।”
अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्न आयोग लागिरहेको उनले बताए। “निर्वाचन नभए लोकतान्त्रले हार्छ,” उनले भने, “लोकतन्त्र बचाउनु हामी सबैको कर्तव्य हो।”
भ्रम र आशंका फैलाउने नेताहरू नै जनतामा जान डराएको उनको भनाइ थियो। निर्वाचन नभएको अवस्था नेतृत्वलाई पनि समस्या हुने बताए।
यससँगै आयोगका कामकारबाहीका शंका नगर्न पनि आग्रह गरे। उनले निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरे।