नागढुंगा-नौबिसे सुरुङमार्गको काम पाँच दिनदेखि ठप्प
स्थानीय बासिन्दाको अवरोधका कारण निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्गको काम पाँच दिनदेखि रोकिएको छ।
सुरुङमार्गको निर्माणले पानीको मुहान सुकेको भन्दै स्थानीय बासिन्दाले आन्दोलन गरेका हुन्। उनीहरूको अवरोधका कारण पाँच दिनदेखि काम रोकिएको आयोजनाले जनाएको छ।
सुरुङमार्गको काठमाडौंतर्फको चन्द्रागिरि नगरपालिका-२ का बासिन्दाले एकाएक कार्यालयमा तोडफोड गरेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। “हामीले पानीको लेभल कुन ठाउँमा छ भनेर टेस्ट गर्नुपर्छ। त्यसका लागि २० दिन जति लाग्छ,” शाक्यले भने, “तर, स्थानीय बासिन्दाले विभिन्न माग राखेर कार्यालय तोडफोड गरे। काम बन्द गरिएको छ।”
अहिलेसम्म सामान्य माग मात्र सम्बोधन भएको र मुख्य मागको सुनुवाइ नभएकाले स्थानीय बासिन्दा आक्रोशित भएको चन्द्रागिरि नगरपालिका-२ का वडाध्यक्ष गोपी सुर्खेतीले बताए। स्थानीय बासिन्दाको ठूलो भीडले कार्यालय घेराउ गर्दा प्रहरीले नियन्त्रण गर्न खोजेपछि ढुङ्गामुढा भएको उनको भनाइ छ।
“सुरुङ खन्दा खानेपानीका मुहान सुक्दै गए। पानी नभएपछि स्थानीय बासिन्दा आक्रोशित भएका हुन्,” उनले भने। यो माग डेढ वर्षदेखि राख्दै आएको भए पनि आयोजनाले सम्बोधन नगरेको उनको भनाइ छ।
स्थानीय बासिन्दाको विरोधले अन्य पूर्वाधार निर्माणका काम पनि अवरुद्ध भएका छन्।
जापान सरकारको ऋण सहयोगमा सुरुङमार्ग निर्माण भइरहेको छ। नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको प्रगति ४८.५ प्रतिशत छ।
काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग एक हजार १०६ मिटर र निकासी सुरुङमार्ग एक हजार ३८४ मिटर खन्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार, अहिलेसम्म मुख्य र सहायक सुरुङ गरी दुई हजार ६६४ मिटर सुरुङमार्ग खनिएको छ।