अनुवादको मिठास
सैनिक भन्ने बित्तिकै कठोरतासँग जोडेर हेरिन्छ, तर तिब्बतमाथि हमला गर्ने बेलायती सैनिक अधिकारी सर फ्रान्सिस एडवार्ड योङहस्बेन्डले दार्जीलिङबाट देखेको कञ्चनजङ्घा हिमालको वर्णन मन छुने खालको छ।
मान्ठा डराएको जुग, उपल्लो थलो र देखेको देश जस्ता भूगोल र मानिसका कथा लेखेका लेखक एवं पत्रकार मोहन मैनालीले नेपाली साहित्यमा अलग चिनारी बनाएका छन्। सिर्जनात्मक क्रममा लागिरहने उनमा मानिसको कथा खोज्न जाँगरको कुनै कमी देखिँदैन।
कोभिड-१९ को महामारीले निम्त्याएको बन्दाबन्दीका वेला सिङ्गो संसार उकुसमुकुस, अत्यास र अनिश्चिततामा पुग्यो। तर, कालो बादल वरपर चाँदीको घेरा हुन्छ भने झैं देशदेशावर घुम्न असजिलो यो समयलाई पनि मैनालीले कोठाभित्रै बसेर भरपूर उपयोग गरे। त्यसैको नतीजा हो, अनूदित निबन्धहरूको सङ्ग्रह आकाशमुखी।
१४ निबन्ध समेटिएको यो सङ्ग्रह तीन वटा कोणबाट उल्लेखनीय छ। पहिलो, निबन्धको ‘बजार’ पातलो हुँदै गएको समयमा आफैंमा निबन्धका शिल्पी मैनालीले यो विधातिर फर्केर हेर्न किन आवश्यक ठाने? कलेजमा पढेका निबन्ध खोजेर तिनको अनुवाद गर्न उनीभित्र केले हुटहुटी जगायो?
कृतिको शुरूआतमा अनुवादकले लेखेको ‘आकाशमुखीको जन्मकथा’ मा उनले निबन्धप्रतिको चासोले पढ्दै जाँदा यसप्रति थप उत्साहित बनाउँदै लगेको उल्लेख गरेका छन्। साहित्यमा मुख्यतया आख्यानको बजार चम्किएको समयमा रूखो विधा मानिने निबन्धप्रति मैनालीको ‘लहड’ ले नेपाली पाठकलाई यो विधाप्रति फर्केर हेर्न उत्साह जगाउनेछ।
दोस्रो पक्ष, यो कृति कुशल अनुवाद कलाले सजिएको छ। सामान्यतः अनुवादलाई एउटा भाषाबाट अर्कोमा सार्ने प्रक्रियाको रूपमा बुझ्ने गरिए पनि शाब्दिक अनुवाद जनाउने यो परिभाषा प्राविधिक र अपूर्ण छ। अनुवादमा भाषा माध्यम हो, मुख्यतः त्यो संस्कृति र मनोभावको अनुवाद हो।
अनुवादको शिल्पहीनताले अनूदित कृति कठोर बन्छ र पाठक विकर्षित हुन पुग्छन्। तर, सुन्दर लेखनशैली भएका मैनालीले आकाशमुखी मार्फत आफ्नो अनुवाद शिल्पकारिता पनि पुष्टि गरेका छन्।
आकाशमुखीमा समाविष्ट निबन्धहरू फरक फरक कालखण्डमा फरक फरक विषयमा लेखिएका छन्। तिनका परिवेश र सामाजिक-सांस्कृतिक पृष्ठभूमिमा फराकिलो अन्तर छ। अनुवादक मैनालीले ती निबन्धको शाब्दिक अनुवाद मात्र गरेर भाव र लेखकको आशयलाई लतपत्याएका छैनन्। बरू निबन्धलाई नेपाली पारा दिएका छन्, जसले पाठकलाई मौलिक कृतिको स्वाद चखाउँछ।
तेस्रो पक्ष हो, सङ्गृहीत निबन्धहरूले उठाएका मुद्दाको प्रासङ्गिकताको। पुस्तकमा सोहौं शताब्दीका फ्रान्सिस बेकन र बेन जोन्सनदेखि बीसौं शताब्दीका जेबीएस हल्देनका निबन्ध समावेश छन्। फराकिलो कालखण्डमा लेखिएका निबन्धका मुद्दामा ठूलो अन्तर हुनु स्वाभाविक हो। तर, अनुवादकले गरेको छनोटमा समयचेतले राम्रै काम गरेको देखिन्छ। अनुवादमा यी १४ निबन्ध नै किन छानिए भन्ने प्रश्नको जवाफ पढ्दै जाँदा पाठकले भेट्न सक्छन्।
आकाशमुखीमा अङ्ग्रेजी लेखक भर्जिनिया उल्फका एकै निबन्धलाई चार खण्डमा प्रस्तुत गरिएको छ। तिनमा विशेषतः तत्कालीन युरोपेली समाजमा महिलाले भाग्नुपरेका सांस्कृतिक, सामाजिक र राजनीतिक विभेदको चर्चा गरिएको छ। काव्यात्मक प्रवाह उल्फको लेखनको विशेषता हो, जसको अनुवाद सहज हुँदैन। तर, मैनालीले त्यो भावलाई अनुवाद गर्ने भरसक प्रयास गरेका छन्।
सर रिचर्ड लिभिङस्टोनको शिक्षाको सार मा मानविकी, साहित्य, समाज विज्ञान जस्ता विषयको प्रवर्द्धनले नै सभ्य समाज निर्माण सम्भव हुनेमा जोड दिइएको छ। नेपालमै पनि मानविकी सङ्कायका कक्षाहरू सुक्दै गएको सन्दर्भमा यो निबन्धले उठाएको विषयले हाम्रा नीतिनिर्माता र बौद्धिक वृत्तलाई सोच्न घचघच्याउने अपेक्षा गर्न सकिन्छ। बुकर टी. वाशिङ्टनको संस्मरणात्मक निबन्ध ‘शिक्षा पाउन सङ्घर्ष’ मा शिक्षा आर्जनका लागि निबन्धकारले गरेको सङ्घर्ष नेपालकै दुर्गम क्षेत्र, दलित र उपेक्षित समुदायका नेपालीहरूको आजसम्मको तीतो यथार्थ हो।
सर फ्रान्सिस एडवार्ड योङहस्बेन्ड तिब्बतमाथि हमला गर्ने बेलायती सैनिक अधिकारी थिए। सैनिक भन्ने बित्तिकै कठोरतासँग जोडेर हेरिने मानसिकतालाई उनले लेखेको प्राकृतिक सुन्दरताको अद्भुत निबन्धले दङ्ग पार्छ। दार्जीलिङबाट देखेको कञ्चनजङ्घा हिमालको वर्णन मन छुने खालको छ।
यस्तै, कृतिमा समेटिएका जर्ज बनार्ड शअ, जेबीएस हल्देन, साइभिय द मेस्थका राजनीति र जीवन-दर्शन सम्बन्धी निबन्धले हामी बाँचिरहेको परिवेशमाथि केही प्रश्न सोध्ने र उत्सुकता जगाउने सामर्थ्य राख्छन्।
मान्छेको कथा खोज्न विभिन्न ठाउँ चहार्ने लेखक मैनालीले अनुवादका लागि त्यस्तै कथा खोज्न धेरैतिर यात्रा गरेको देखिन्छ। निबन्धको संसारमा बग्दै जाँदा उनले बुल्गेरियाका वामपन्थी लेखक रिस्तो मिनेस्कीको कथा पनि भेटे। नेपालका राजनीतिक दल र तिनका नेता-कार्यकर्तालाई छरितो सन्देश दिन सक्ने ‘भर्याङको कथा’ उनले अनुवाद गरे, र भविष्यमा अनूदित कथाको सङ्कलन आउन सक्ने सम्भावनालाई विचार नगरी आकाशमुखी मार्फत पाठकमा बाँडिहाले। सत्तान्धताको यो कथालाई नेपाली पाठकले धेरै सन्दर्भमा सम्झिराख्न सक्छन्।
अनुवादकले केही निबन्धका केही अंश अनुवाद नगरिएको उल्लेख गरेका छन्। जसले पाठकलाई निबन्धको मूल प्रति पढ्न पनि अभिप्रेरित गर्न सक्छ। तर, यसले निबन्ध सङ्ग्रहका रूपमा कृतिलाई केही अपूर्ण बनाएको छ।
जटिल लेखन भएकी भर्जिनिया उल्फको निबन्धको अनुवादलाई सरल बनाउने क्रममा कतिपय अनुच्छेदका मूल तत्त्व पनि पिसिएको छ। अङ्ग्रेजी मूल पाठसँग तुलनात्मक अध्ययन गर्ने पाठकले कतिपय प्रसङ्गमा मूल लेखकको खँदिलो अभिव्यक्ति अनुवाद सरल बनाउने नाममा बीचमा कतै छुटेको महसूस गर्न सक्छन्।
अनुवादकले नेपाली सुगन्ध ल्याउन कतिपय शब्दको अनुवाद गर्दा जनबोलीमा कमै सुनिने नेपाली शब्द प्रयोग गरेका छन् जस्तै आकाशलोचनशाला, कोठेमजेत्रो, घबराहट आदि। तर, केही शब्दका ठेट नेपाली शब्द हुँदा पनि अनुवादकले अङ्ग्रेजी शब्द नै प्रयोग गरिएको पाइयो।
यसले कतिपय ठाउँमा अनुवादलाई सहज र सुन्दर बनाएको छ भने कतिपय ठाउँमा नेपाली शब्दकै प्रयोग हुँदा अनुवाद अझ् छरितो हुन सक्थ्यो। उदाहरणका लागि, लेखकले अनुच्छेद जस्तो नेपाली शब्दको सट्टा पाराग्राफ शब्द प्रयोग गर्दा अमिल्दो देखियो।
आकाशमुखी नाम जस्तै यो कृतिले फरक कालखण्ड र फरक विषयमा लेखिएका तथा विभिन्न देशका लेखकका निबन्धहरूबाट अस्तित्व, दर्शन, चेतना आदिको विराटता चियाउने ढोका खोलिदिन्छ।
पुस्तक: आकाशमुखी, अनुवादक: मोहन मैनाली, प्रकाशक: बुक-हिल पब्लिकेशन, पृष्ठ: १३९, मूल्य रु.३३३
के हो शिक्षाको लक्ष्य? पडकास्ट सुन्नुहोस् :