माओवादी द्वन्द्वका दागहरू
बसमा पेट्रोल बम प्रहार भएको दुई सातासम्म अन्जुले पोलाइको पीडा र यन्त्रणा सहिन्। उपचारका लागि भारतीय शहर रक्सौल लगिएको थियो। उनी घर फर्किन सकिनन्, उतै बितिन्।
२० वर्षअघि रविना रेग्मी र उनका भाइ रविन आमासँगै बसमा यात्रारत रहँदा पूर्व-पश्चिम राजमार्गको सर्लाही खण्डमा माओवादीले गरेको आक्रमणमा परे। माओवादीले उनीहरू चढेको बसमा पेट्रोल बम प्रहार गरेको थियो।
बम आक्रमणपछि बसमा आगो सल्किएपछि चालकले सन्तुलन गुमाए र बस सडकछेउको नालीमा पल्टियो। दुर्घटनाग्रस्त बसबाट उद्धार गरिनेमध्ये अन्तिममा थिए- ५ वर्षीया रविना, ३ वर्षीय रविन र उनीहरूकी आमा अन्जु।
तीनै जनालाई आगोले नराम्ररी पोलेको थियो। त्यति वेलाको भिडिओ हेर्दा दुवै जना रुँदै र आत्तिंदै आमासँगै टाँस्सिएका देखिन्छन्।
घटना भएको दुई सातासम्म अन्जुले पोलाइको पीडा र यन्त्रणा सहिन्। उनलाई उपचारका लागि सीमापारिको भारतीय शहर रक्सौल लगिएको थियो। उनी घर फर्किन सकिनन्, उतै बितिन्। त्यो आक्रमणमा परेका अन्य दुई जनाले पनि ज्यान गुमाएका थिए।
रविनालाई मुहार, हात र पेटमा पोलेको थियो। रविनलाई मुहारमा पोलेको थियो भने टाउको, घाँटी र खुट्टामा गहिरो चोट लागेको थियो। उनको देब्रे हात पनि भाँचिएको थियो।
त्यति वेला आक्रमणको समाचार नेपाली टाइम्समा नरेश नेवारको बाइलाइनमा छापिएको थियो। समाचारमा छापिएको तस्वीरले अर्थहीन युद्धको कुरूप चित्रलाई उजागर गरेको थियो। त्यो समाचार पढ्ने पाठकले घाइतेहरूलाई सहयोग गरे।
सुष्मा कोइराला मेमोरियल अस्पतालले घाइते बालबालिकालाई पुन:स्थापना उपचार उपलब्ध गरायो। ब्राइट होराइजन चिल्ड्रेन होमले कलेज तहसम्म पढाइदिने जिम्मेवारी लियो।
“त्यो वेला उनीहरूको अवस्था दर्शाउने समाचार सम्प्रेषण गर्न जरुरी थियो, किनभने त्यति खेर माओवादी विद्रोहले बालबालिकालाई कुन हदमा प्रभाव पारेको छ भन्ने समाचार नै आउँदैनथ्यो,” २० वर्षअघिको आफ्नो रिपोर्टिङबारे नरेश नेवार भन्छन्।
त्यो समाचारमा पीडितको व्यथालाई उजागर गरेको उनी बताउँछन्। नेवार भन्छन्, “माओवादीले आफ्ना क्रियाकलापले कसलाई, कस्तो प्रभाव पर्छ भन्ने वास्तै नगरी सार्वजनिक स्थानमा विस्फोट गर्न थालेका थिए। त्यो समाचारमा पीडितको व्यथालाई उजागर गरिएको थियो।”
उनी घटना भएको धेरै पछिसम्म पीडित परिवारको सम्पर्कमा रहिरहे। समाचार प्रकाशित भइसकेपछि परिवारलाई जुटेको सहयोगप्रति उनी कृतज्ञ छन्। उनले रविन र रविनालाई अन्तिम पटक भेट्दा उनीहरू स्कूलमा खुशीसाथ अध्ययनरत थिए।
रेग्मी परिवारको पीडाले पत्रकार कुन्द दीक्षित सम्पादित तस्वीर-पुस्तक लडाइँमा जनतामा स्थान पाएको छ भने केसाङ छेतेन र प्रेम विकको वृत्तचित्र फ्रेम अफ वारमा पनि समाविष्ट छ।
अहिले रविना २५ वर्ष र रविन २३ वर्षका भए। त्यो आक्रमणको खत उनीहरूको मुहारमा प्रष्टै छ। तर, उनीहरू विगतले आफ्नो जीवनलाई प्रतिकूल प्रभाव पार्दैन भन्नेमा दृढ छन्।
रविना बीबीएको अन्तिम वर्षमा छिन् र पढाइपछि ब्यांकिङ क्षेत्रमा आफ्नो भविष्य बनाउने सोचमा छिन्। रविनले भने भारतको चण्डीगढ विश्वविद्यालयमा कृषि सङ्कायको स्नातक तहको पढाइलाई कोरोना महामारीपछि काठमाडौंबाटै अनलाइन मार्फत निरन्तरता दिइरहेका छन्।
बुबा भक्तबहादुर २० वर्षअघिकै वन रेन्जरको जागीरमा हैटौंडामा कार्यरत छन्। आक्रमणमा परेपछि स्कूल, कलेज, अस्पताल लगायत निकायबाट प्राप्त सहयोगका लागि उनी कृतज्ञ छन्। यी दुई दशक आफ्ना सन्तान आमा विनाको संघर्षको चरणबाट गुज्रिए भन्ने कुराले उनलाई घोचिरहन्छ।
राज्यबाट उनले केही सहयोग पाउन सकेका छैनन्। “सहयोगका लागि हामी जहाँ जहाँ गयौं, सबै ठाउँमा हामीसँग द्वन्द्वपीडितको परिचय पत्र मागिन्थ्यो। त्यो पाउन हामीसँग आवश्यक कागजात केही थिएन,” उनी भन्छन्।
आजसम्म पनि उनले आक्रमणको समाचार छापिएको पत्रिकाको कटिङ र छोराछोरीको मेडिकल रिपोर्ट बोकिरहनुपरेको छ।
सत्य निरूपण तथा मेलमिलाप आयोगले माओवादी विद्रोहमा परेकालाई द्वन्द्वपीडितको परिचयपत्र उपलब्ध गराउने तथा युद्ध अपराधको अनुसन्धान गर्ने अधिकार पाएको थियो। तर, राजनीतिक सम्पर्क अभावमा र सरकारी कार्यालय धाउने फुर्सद नहुँदा भक्तबहादुरको परिवारलाई हेरविचार गर्ने कुनै निकाय छैन। जे-जति गर्नुपर्छ, उनले आफ्नै बलबुतामा गर्नुपरेको छ। आक्रमणकारीको पहिचान नै भएन। आक्रमणकारी पहिचान नभएपछि जवाफदेहीको कुरा पनि रहेन।
उपचारका क्रममा बितेको २० वर्षमा रविना र रविनको थुप्रै पटक अपरेशन भइसक्यो। जसमा पुन:स्थापनात्मक उपचार, अर्थोपेडिक अपरेशन, लेजर उपचार, रौं प्रत्यारोपण पनि पर्छन्। अपरेशन शुल्क छूट वा मिनाहा भएका छन्, तर आउजाउ, औषधि र अस्पताल बसाइको खर्च भने जुटाउनै पर्छ।
२०७२ सालमा एक पटक जब रविनाको पोलेको ठाउँमा लेजर उपचार हुँदै थियो, भारतीय नाकाबन्दीले गर्दा बजारमा औषधिको अभाव भयो। “त्यो वेला डाक्टरहरूले एनेस्थेसिया विना नै उपचार गरे, जुन साह्रै नै पीडादायी थियो,” रविना भन्छिन्। तर, पछि घाउमा सङ्क्रमण भएपछि फेरि उपचार गर्नुपर्ने भयो। रविनले भने आर्थिक अभावले लेजर उपचार गराएका छैनन्।
ब्राइट होराइजनमा पढ्दा दिदी-भाइले पढाइलाई गम्भीरतापूर्वतक लिए। रविन आफ्नो ब्याचका उत्कृष्ट हुँदै ३.८५ जीपीए सहित एसईई उत्तीर्ण भए। रविनाको पढाइ पनि राम्रै थियो। स्कूलले उनीहरूको कलेजको शुल्क तिरिदिइरहेकै छ। तर, अन्य खर्च जुटाउन उनीहरूका बुबालाई धपेडी गर्नुपरेकै छ।
पहिलो वर्ष त रविनालाई होस्टेलमा बस्न धेरै नै गाह्रो भयो। उनी होस्टेलबाट भागिन् पनि। “मैले कोही त चिनेकी थिइनँ र घरको साह्रै नै याद आउँथ्यो,” रविना पुराना दिन सम्झिन्छिन्, “बस्दै जाँदा होस्टेल नै हाम्रो घर भयो र त्यहीं हामीले जीवनभरका साथी पायौं।”
बुबा भक्तबहादुर रविना शान्त स्वभावको र रविन भने अलि चकचके स्वभावको रहेको बताउँछन्। “ब्राइट होराइजनमा हुँदा उनीहरूलाई आफ्नै घरमा भए जस्तो लाग्थ्यो। बिदामा म लिन जाँदा पनि आउन मान्दैनथे। आमा हुनुहुन्न, घर जान्नौं भन्थे,” भक्तबहादुर भन्छन्।
विद्यालयमा रविनाले भाइ रविनको अभिभावकत्व लिनुपर्थ्यो। भाइले साथीहरूसँग झगडा गर्दा रविना उद्धारका लागि पुग्थिन्। तर, आज दुई जना एकअर्काका साथी भएका छन् र आफ्ना सपनाबारे भलाकुसारी गर्छन्।
आफ्ना बुबाले कति दुःखले आफूहरूलाई हुर्काएका छन् भन्ने उनीहरूले मनमा लिएका छन्। भविष्यमा बुबालाई दुःख हुन नदिने प्रण गरेका छन्।
देशको बिग्रँदो अवस्थाप्रति उनीहरूमा आशाभन्दा निराशाको मात्रा बढ्दै गए झैं लाग्छ। त्यसैले रविना एमबीए गर्न विदेश पो जानुपर्ने हो कि भन्ने सोचमा छिन्। रविन भने पहिला एमएस्सी सकौं अनि लोक सेवाको तयारीमा लागौंला भन्ने योजनामा छन्।
“हामी दुईबीच एक जना यहीं बस्ने र एक जना विदेश जाने सहमति भएको छ,” रविन भन्छन्, “परिवारको एक जना विदेशमा हुँदा आर्थिक रूपले ढुक्क हुन सक्ने अवस्था हुँदो रहेछ।”
श्रीमती विना साना दुई सन्तान हुर्काउँदाको दुःख आफ्नो ठाउँमा छ, आज दुवै सन्तान हुर्किसकेपछि पनि बुबा भक्तबहादुर उनीहरूको भविष्यप्रति ढुक्क बन्न सकेका छैनन्। तैपनि, उनलाई के सन्तुष्टि छ भने दुवै सन्तान जिम्मेवार नागरिक बनेका छन् र आफ्नो भविष्यका लागि सुझबुझपूर्ण निर्णय लिन सक्छन्।
रविनालाई पनि अब आफूले जिम्मेवारी लिने वेला आए जस्तो लाग्छ। उनी भन्छिन्, “यतिन्जेल हामी बुबामै निर्भर थियौं। अब हामीले उहाँलाई रेखदेख गर्ने र परिवारलाई सम्हाल्ने वेला आएको छ।”
यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।