कफीबाट भित्र्याउन सकिन्छ वार्षिक ३६ खर्ब
नेपालको एक आर्थिक वर्षको बजेटको आकार १७ खर्ब हाराहारी छ। यस हिसाबले दुई आर्थिक वर्षको बजेट बराबर कफी एक वर्षमा उत्पादन गर्न सकिन्छ।
निर्यातभन्दा आयात बढी भएपछि नेपाल व्यापार घाटामा छ। आयातमुखी अर्थतन्त्रबाट निर्यातमुखी अर्थतन्त्रमा छलाङ मार्न उत्पादनमा जोड दिनुपर्छ। तर‚ नेपाली चरित्र बेच्नेभन्दा किन्नेमा रमाउने खालको छ। यो चरित्र निर्यातमुखी अर्थतन्त्रका लागि बाधक छ। निर्यात बढाउन उत्पादनमुखी शिक्षा, लगानी, लगनशीलता र योजना आवश्यक हुन्छ।
नेपालबाट निर्यात गर्न सकिने कृषिजन्य वस्तुमध्ये सबैभन्दा अग्रपङ्क्तिमा कफी छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार, नेपालमा १२ लाख हेक्टर कफी खेतीयोग्य जमीन खाली छ। उक्त तथ्याङ्कले यस सम्भावनालाई औंल्याएको छ।
यस्तै‚ नेपालमा खेती गरिएको कुल ३० लाख ९१ हजार हेक्टर जमीन पनि वैदेशिक रोजगारी तथा शहरतर्फ बसाइँसराइका कारण बाँझिंदै गएको छ। यसले पनि कफी खेती गर्ने जग्गा बढ्ने देखिएको छ।
कफीबाट कायापलट
नेपालमा हाल वार्षिक ११ करोड रुपैयाँ बराबरको कफी निर्यात र सोही रकम बराबरको आयात हुने गरेको छ। विदेशमा नेपाली कफीको माग वार्षिक १४ हजार मेट्रिक टन छ। आन्तरिक माग पाँच हजार मेट्रिक टन छ। उत्पादन भने ३१४ टन मात्रै छ।
प्रति टन न्यूनतम पाँच लाख रुपैयाँ मूल्य हुँदा आन्तरिक र बाह्य मागलाई तत्काल पूरा गर्दा नौ अर्ब ५० करोड रुपैयाँ बराबरको कफी बिक्री हुने देखिन्छ। कफीलाई थप प्रशोधन गरी गुणस्तरीय बनाएर बेचे मूल्य तेब्बर लिन सकिन्छ। यो तत्कालको माग हो।
प्रति टन न्यूनतम पाँच लाख रुपैयाँ मूल्य हुँदा आन्तरिक र बाह्य मागलाई तत्काल पूरा गर्दा नौ अर्ब ५० करोड रुपैयाँ बराबरको कफी बिक्री हुने देखिन्छ।
नेपालमा कफी खेतीयोग्य १२ लाख हेक्टर जमीन बाँझो छ। उक्त जमीनमा कफी उत्पादन गर्नु भनेको राज्य र जनता दुवै क्रियाशील हुनु हो। तर‚ राज्यले चक्लाबन्दीभन्दा पनि कफीको चेरी उत्पादनमा अनुदान दिनुपर्छ। यसो गरे कफी उत्पादन बढ्ने सम्भावनालाई नकार्न सकिंदैन।
विश्वमा हाल कफी उत्पादनमा ब्राजिल पहिलो र भियतनाम दोस्रो स्थानमा छन्। नेपालले बाँझो रहेको १२ लाख हेक्टरलाई लक्षित गरी खेती गर्ने हो भने १० वर्षभित्र शीर्ष पाँचमा पर्छ। प्रति हेक्टर एक हजार ६०० बोटका दरले बिरुवा रोप्दा १२ लाख हेक्टरमा एक अर्ब ९२ करोड वटा बिरुवा अट्छ।
प्रति हेक्टर ६ टनका दरले कफी उत्पादन हुँदा १२ लाख हेक्टरमा ७२ लाख टन उत्पादन हुन्छ। प्रति टनको मूल्य पाँच लाख रुपैयाँ भए ७२ लाख टनको ३६ खर्ब रुपैयाँ आम्दानी हुन्छ। यो रकम सामान्य होइन। नेपालको एक आर्थिक वर्षको बजेटको आकार १७ खर्बको मात्रै छ। यस हिसाबले दुई आर्थिक वर्षको बजेट बराबर कफी एक वर्षमा उत्पादन गर्न सकिन्छ। ३६ खर्ब रुपैयाँ भनेको ‘ग्रीनबीन’ को मूल्य हो। ग्रीनबीनलाई गुणस्तरीय बनाए त्योभन्दा बढी आम्दानी गर्न सकिने अवस्था पनि छ।
कफीको इतिहास र विकास
इथोपियाका बाख्रा गोठालोले कफी पत्ता लगाएका थिए। कफा प्रान्तमा उत्पत्ति भएको मानिएको अरबिका जातको कफी नै हाल संसारमा सबैभन्दा धेरै खेती गरिएको छ। नेपालमा खेती गरिने कफी पनि अरबिका हो।
नेपालमा सन् १९९५ ताका गुल्मीको आँपचौरका हिरा गिरीले बर्माबाट बीउ ल्याई कफी खेती शुरू गरेका हुन्। यसलाई आधार मान्दा नेपालमा कफी खेतीको शुरू भएको २७ वर्ष भयो। यस अवधिमा ३४ जिल्लामा कफी खेती फैलिएको छ। तर‚ अझै पनि ‘किचन गार्डेन’ का रूपमा मात्र खेती गरिंदै आएको छ। त्यसैले व्यापक रूपमा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ।
नेपालमा कफी खेतीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न कृषि विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी व्यवसायी महासंघ, केन्द्रीय कफी सहकारी संघ आदि सरकारी तथा गैरसरकारी संस्थाहरू लागेका छन्। पछिल्लो समय निजी फर्महरू पनि लागेका छन्।
कफीको विकासलाई हेर्दा सन् ५०० देखि १८५० सम्मलाई पहिलो चरण भनिएको छ। उक्त समयमा कफी पत्ता लागे पनि प्राकृतिक रूपमा नै खाने गरिएको थियो। सन् १८५० देखि २००० लाई विकासको दोस्रो चरणका रूपमा लिन सकिन्छ। उक्त अवधिमा चिसो तथा आधुनिक कफी प्रशोधन प्रविधिको विकास भएको मानिन्छ।
यसपछि सन् २००० पछिको चरणलाई तेस्रो चरण भनिएको छ। अहिले जनावर तथा अन्य विभिन्न तरीकाबाट कफी प्रशोधन गरी बजारमा ल्याउने प्रयत्न गरिएको छ। यही तरीकामध्ये इन्डोनेशियामा भएको कस्तूरी बिरालोलाई कफी खुवाई प्रशोधन गरिन्छ। उक्त कफीलाई ‘लुवाक कफी’ नामले चिनिन्छ। यो नै संसारमा सबैभन्दा महँगो कफी हो।
नर्सरी र व्यावसायिक फर्मले नेपालमा प्रत्यक्ष रूपमा ४८ हजार जनालाई रोजगारी प्रदान गर्न सक्छ। यो उत्पादन क्षेत्रका लागि प्राप्त हुने रोजगारीको आकलन हो।
कफीबाट रोजगारी
१२ लाख हेक्टरमा कफी खेती गर्दा आवश्यक पर्ने बेर्ना उत्पादन गर्न एक हजारभन्दा बढी नर्सरी आवश्यकता पर्छ। गुणस्तरीय कफी उत्पादनका लागि नर्सरीमा नै ध्यान दिनुपर्ने हुन्छ। त्यसैले सदाबहार रूपमा कफी नर्सरी गर्ने फर्महरूको आवश्यकता रहन्छ।
यसै गरी व्यावसायिक रूपमा ५०० हेक्टरसम्म कफी खेती गर्ने फर्म मात्रै दुई हजार ४०० वटा आवश्यक हुन्छन्। एउटा व्यावसायिक फर्मले कम्तीमा २० जनालाई रोजगारी प्रदान गर्न सक्छ। यसरी हेर्दा नर्सरी र व्यावसायिक फर्मले नेपालमा प्रत्यक्ष रूपमा ४८ हजार जनालाई रोजगारी प्रदान गर्न सक्छ। यो उत्पादन क्षेत्रका लागि प्राप्त हुने रोजगारीको आकलन हो।
यसपछि कफी प्रशोधन, रोस्टिङ, प्याकिङ, मेकिङ लगायत अन्य थुप्रै चरण छन्। यी चरणमा एक लाख ५० हजारभन्दा बढीले रोजगारी प्राप्त गर्छन्। यसपछिका अदक्ष र ज्यालादारीमा काम गर्ने व्यक्तिहरूको सङ्ख्या धेरै हुनेछ। अझ कफीलाई कृषि पर्यटनका रूपमा विकास गर्न सके निकै उत्साहजनक अवस्था रहन्छ।
आउटलेटको सम्भावना
नेपालमा कफी पारखीको सङ्ख्या बढेसँग यसलाई बहुमुखी अवसरका रूपमा हेर्न थालिएको छ। प्रशोधनअघिका कामबाट हुने रोजगारी सिर्जना बाहेक यसले अन्य अवसरहरू पनि दिनेछ।
जस्तै‚ कफीको आउटलेटसँगै बेकरी, पुस्तक, कोसेली, अर्गानिक वस्तु बिक्री हुने थलोका रूपमा विकसित गर्न सकिन्छ। यसको उदाहरणका लागि हिमालयन जाभाको आउटलेटलाई लिन सकिन्छ। यसै गरी मोरङको विराटनगरमा बारी भन्ने कफी र अन्य क्षेत्रमा विभिन्न ब्रान्डको कफीको आउटलेटहरू खुल्दै छन्। यसले कफी जमीनमा उत्पादन गर्नेदेखि रेस्टुरेन्टमा बनाएर दिनेसम्मका लागि अवसर सिर्जना गर्ने कृषि वस्तु हो।
कफीमा नर्सरी गर्न‚ खेती गर्न, प्रशोधन गर्न, कफी भुट्न, कफी बनाउन जान्ने प्राविधिकको आवश्यकता छ। यस्ता प्राविधिक उत्पादन गर्ने स्थल बनाउन लगानीकर्तालाई अवसर छ।
विषयगत प्राविधिक उत्पादन आवश्यक
नेपालका कृषि प्राविधिकको उत्पादन गर्ने प्राविधिक शिक्षालयहरूले च्याउदेखि स्याउसम्मको उत्पादनबारे जान्नुपर्ने खालका प्राविधिक उत्पादन गरिरहेका छन्।
कफीका लागि यस प्रकारका प्राविधिकको काम छैन। कफीमा नर्सरी गर्न‚ खेती गर्न, प्रशोधन गर्न, कफी भुट्न, कफी बनाउन जान्ने प्राविधिकको आवश्यक छ। यस्ता प्राविधिक उत्पादन गर्ने स्थल बनाउन लगानीकर्तालाई अवसर छ।
उत्पादन बढाउन को कति जिम्मेवार?
खाली रहेको १२ लाख हेक्टर कफी खेतीयोग्य जमीनमा कफी खेती गर्न पहिले व्यक्तिको लगनशीलतालाई पहिलो जिम्मेवार मान्नुपर्छ। यसपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको जिम्मेवारी आउँछ।
यसपछि क्रमशः केन्द्रीय सरकार‚ प्रदेश सरकार र सबैभन्दा तल्लो तहमा रहेका स्थानीय सरकारको अन्तिम जिम्मेवारी रहन्छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले वेलावेला समन्वय गरिदिनुपर्छ।
नेपाल र विश्वमा कफीको माग
नेपालमा माग अनुसार कफीको उत्पादन हुन सकेको छैन। त्यसैले उत्पादन बढाउनु पहिलो आवश्यकता हो। उत्पादन बढाउन कफी खेतीलाई बढाउनुपर्छ।
विश्वमा हाल कफीको माग वार्षिक एक करोड टनभन्दा बढी रहे पनि करीब ९७ लाख टन मात्रै आपूर्ति हुँदै आएको छ। माग बढिरहेको छ। माग विकसित मुलुकमा मात्र नभई विकासोन्मुख देशमा पनि बढिरहेको छ।
स्मरणयोग्य कुरा, विश्वको कुल जनसङ्ख्याको ४० प्रतिशत दक्षिणएशिया र चीनमा रहेका छन्। यस तथ्याङ्कले पनि नेपाली कफीको बजार राम्रो देखिन्छ। जसका लागि गुणस्तरीय कफी उत्पादन गरी बजारीकरणमा जोड दिनुपर्छ।