दरबारमार्ग महोत्सवको तयारी पूरा
काठमाडौंको दरबारमार्गमा आयोजना हुने १५औं दरबारमार्ग महोत्सवको तयारी पूरा भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।
कोभिड-१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहयोग पुर्याउने उद्देश्यले महासंघले महोत्सवको आयोजना गर्न लागेको हो। ३ वैशाखमा ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवको सबै तयारी पूरा भएको महासंघले जनाएको छ।
महासंघसँगै रेस्टुरेन्ट एन्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँगको विशेष सहकार्य र मुख्य प्रायोजनमा महोत्सव आयोजना गर्न लागेका हुन्। महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला-संस्कृतिको प्रस्तुति रहने जनाइएको छ।
शनिबार बिहान ११ः४५ बजे शुरू हुने महोत्सव बेलुका ८ः१५ बजेसम्म चल्ने आयोजकले जनाएको छ। यसमा चर्चित गायकगायिका, कलाकार तथा साङ्गीतिक समूहको प्रस्तुतिसँगै नेपाली खानाका विभिन्न परिकार र स्वदेशी उत्पादनको विशेष प्रदर्शन रहने भएको छ।
महोत्सवमा दीपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ ब्यान्ड, सुवानी मोक्तान, शास्त्रीय साङ्गीतिक समूह सुरसुधा, एभरेस्ट क्रु, महेश काफ्ले र भेकले प्रस्तुति राख्ने भएका छन्।