टीकापुरमा रेशम चौधरीको पार्टीले तोक्यो उम्मेदवार, अन्य दलमा २१ दाबेदार
स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले तयारी तीव्र पारेको छ भने अन्य दल पनि उम्मेदवार छनोटमा लागेका छन्।
तीन महीनाअघि चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी दर्ता भएको थियो। उन्मुक्ति पार्टीले टीकापुर नगरपालिका सहित कैलालीका स्थानीय तहमा चुनाव लड्ने तयारी गरिरहेको छ। यो पार्टीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का स्थानीय नेतालाई स्वागत गरिरहेको छ।
टीकापुर क्षेत्रमा उन्मुक्ति पार्टीले उम्मेदवार छनोटसँगै चुनावी प्रचारप्रसार तीव्र बनाएको छ। केही दिनअघि मात्रै माओवादी र कांग्रेसबाट निर्वाचित चार जना वडाध्यक्ष सहित २० जना जनप्रतिनिधि उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।
माओवादीबाट आएका रामलाल डगौरा थारूलाई टीकापुरको मेयरको उम्मेदवार बनाउने उन्मुक्ति पार्टीले घोषणा गरेको छ। उनी गत निर्वाचनमा माओवादीबाट टीकापुर–७ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
मेयरको प्रचारमा जुटेका थारूले आफ्नो समुदायको अधिकारका लागि उन्मुक्ति पार्टीमा लागेको बताए। “हामी राज्यबाट निकै पीडित छौं। हाम्रो राजनीतिक अधिकार र पहिचान राज्यले खोसेको छ,” थारूले हिमालखबरसँग भने, “राज्यले दिएको पीडालाई शक्ति बदल्न चुनावमा होमिएका छौं, जितेरै देखाउँछौं।”
टीकापुरसँगै वरपरका स्थानीय तहमा पनि नागरिक उन्मुक्ति पार्टीले चुनावी अभियान जोडतोडका साथ चलाइरहेको छ। भजनी नगरपालिका, जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकामा संगठन विस्तार गरिएको र अहिले उम्मेदवार छनोट प्रक्रिया चलिरहेको केन्द्रीय सदस्य गंगा चौधरीले बताइन्।
२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा रेशमलाल चौधरी कैलाली–१ बाट निर्वाचित भएका थिए। टीकापुर घटनामा उनी विरुद्ध मुद्दा परेको थियो। जसका कारण उनले भूमिगत रूपमै चुनावी प्रचार गरेका थिए। कैलाली जिल्ला अदालत र उच्च अदालत, दिपायलले आजीवन कारावासको सजाय सुनाएपछि उनी जेल जीवन बिताइरहेका छन्।
उनकै योजनामा खुलेको नागरिक उन्मुक्ति पार्टीले टीकापुर क्षेत्रमा चुनावी अभियान तीव्र बनाएको छ। टीकापुर नगरपालिका सहित वरपरका स्थानीय तहमा वडा सदस्यदेखि मेयरसम्म उम्मेदवार बनाउने गरी चुनाव लड्ने केन्द्रीय सदस्य गंगा चौधरीले बताइन्।
निलम्बित सांसद चौधरीको प्रभाव रहेको टीकापुर क्षेत्रमा अन्य दल पनि उम्मेदवार छनोटमा जुटेका छन्। टीकापुरको मेयरका लागि नेपाली कांग्रेसका ११ जनाले दाबी गरेका छन्। जसमा नवराज रावल, गोरबहादुर खड्का, धिजराज रेग्मी, भुवनेश्वर अधिकारी, रतन खड्का, राजकुमार हमाल, जंगबहादुर साउँद, प्रा.डा. जगतबहादुर सिंह रावल, केशरीकुमारी रावल विष्ट, टेकेन्द्रबहादुर धामी र तीर्थराज बोहरा छन्।
रावल गत निर्वाचनमा पराजित भएका थिए। त्यस्तै, मेयरका लागि दाबी गरेकी विष्ट अहिले उपमेयर छन्। गत निर्वाचनमा टीकापुरमा कांग्रेसबाट जित्ने उनी एक्लो जनप्रतिनिधि हुन्।
उनले आफू मेयरको दाबेदार रहेको बताइन्। तर, सत्तारूढ दलबीच हुने गठबन्धनमा कसको भागमा पर्छ भन्ने यकिन नभएकाले अहिले नै केही भन्न नसकिने उनको भनाइ छ।
त्यस्तै, एमालेबाट पनि टीकापुर नगरपालिकाको मेयरका लागि पाँच जनाले दाबी गरेका छन्। मेयर तपेन्द्रबहादुर रावलले दोहोरिने इच्छा देखाएका छन्। मेयर रावलसँगै श्याम खत्री, मातृका तिमिल्सिना, कमला शाही (रोशनी) र धुव्र खत्रीले दाबी गरेका छन्। खत्री एमाले नगर कमिटीका अध्यक्ष हुन्।
पाँचै जनाको नाम जिल्ला कमिटीमा पठाएको नगर अध्यक्ष खत्रीले बताए। जिल्ला कमिटीले प्रदेश कमिटीलाई पठाउनेछ। अनि प्रदेश कमिटीले उम्मेदवार तय गर्नेछ।
यसै गरी माओवादीबाट चार जनाले मेयरमा दाबी गरेका छन्। माओवादी नगर कमिटी अध्यक्ष खडक शाह, ललित थापा, बालकृष्ण थारू, नन्दराम विक र खुशीराम थारूले दाबी गरेका छन्।