हेटौंडामा एमालेसँग राप्रपा नेपालले माग्यो उपमेयर
स्थानीय तहको निर्वाचनमा हेटौंंडा उपमहानगरपालिकामा नेकपा (एमाले) र राप्रपा नेपालबीच तालमेलको तयारी चलेको छ।
तालमेलका लागि दुवै पार्टीबीच भइरहेको छलफलमा राप्रपा नेपालले उपमेयर मागेको छ। त्यससँगै केही वडाध्यक्षको पनि दाबी गरेको जनाइएको छ।
एमाले पार्टी कार्यालयमा भएको छलफलमा राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले उपमेयर पाउनुपर्ने प्रस्ताव गरेका थिए। यस विषयमा सहमति भइनसकेको र छलफल जारी रहेको अध्यक्ष सापकोटाले बताए।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरमा एमालेसँग तालमेल गर्न छलफल गरिरहेको छ। राप्रपा नेपालले जिल्लाभरि नै तालमेल गर्नुपर्ने प्रस्ताव गरेको छ। त्यसमा एमाले नेताहरू पनि सहमत देखिएका छन्।
स्थानीय निर्वाचनमा तालमेल गर्दा हेटौंडाको उपमेयर सहित वडा नम्बर १, ६ र १२ को वडाध्यक्षमा राप्रपा नेपालले दाबी गरेको छ। त्यस्तै, अर्को एउटा गाउँपालिकामा अध्यक्ष दिनुपर्ने प्रस्ताव गरेको छ।
यसबारे बिहीबार भएको छलफलमा टुङ्गो लाग्न सकेको छैन। आज थप छलफल हुने सापकोटाले बताए।
एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले राप्रपा नेपालसँग चुनावी तालमेलको कुरा भएको तर सहमति हुन बाँकी रहेको बताए। “अहिले सांगठनिक अवस्थाबारे दुवै पार्टीले तयारी गर्ने र फेरि छलफलमा बस्ने सहमति भएको छ,” अध्यक्ष श्रेष्ठले भने, “अहिले पदबारे कुनै टुङ्गो भएको छैन। तैपनि सहकार्य गर्दा माग दाबी रहिहाल्छ, यो स्वाभाविक हो।”
छलफलमा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज कृष्णप्रसाद दाहाल, केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, जिल्ला अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष लालबहादुर थापा सहभागी थिए।
राप्रपा नेपालका तर्फबाट महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य बालकृष्ण कार्की, दामोदर वाग्ले र जिल्ला अध्यक्ष सापकोटा सहभागी थिए। तत्कालीन राप्रपाले २०७४ को निर्वाचनमा हेटौंडा उपमहानगरमा मेयरमा सात हजार र उपमेयरमा सात हजार चार सय मत पाएको थियो।
स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपा नेपालबीच तालमेल गर्ने सहमति भइसकेको छ। राप्रपा नेपालका उम्मेदवार सूर्य चिह्न लिएर चुनावमा लड्न तयार भइसकेका छन्।