गण्डकीका सभामुखसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण
निर्वाचन आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसँग स्पष्टीकरण मागेको छ।
निर्वाचन महँगो हुँदै गएको जनाउँदै सभामुख अधिकारीले आफूले पनि गत निर्वाचनमा आयोगले तोकेभन्दा बढी खर्च गरेको बताएका थिए। उनले आयोगलाई बुझाएको विवरणभन्दा धेरै खर्च भएको अभिव्यक्ति दिएका थिए।
त्यही विषयलाई लिएर आयोगले सभामुख अधिकारीसँग स्पष्टीकरण मागेको हो। आयोगलाई बुझाएको विवरणभन्दा बढी खर्च भएको भन्ने सभामुख अधिकारीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।
उनीसँग मागिएको स्पष्टीकरणमा आयोगले भनेको छ, ‘विभिन्न सञ्चार माध्यममा निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिनुभएको भन्ने समाचार प्रकाशन तथा प्रसारण भएकोमा तपाईंले त्यस्तो अभिव्यक्ति दिनुभएको हो होइन?’
यससँगै आयोगमा बुझाएको विवरण ठीक हो वा होइन भनेर पनि प्रश्न गरेको छ। निर्वाचन आयोग ऐनले तोकेभन्दा बढी खर्च गर्नेलाई कारबाही हुने व्यवस्थाका विषयमा पनि आयोगले सचेत गराएको छ।
आयोगले सभामुख अधिकारीसँग सात दिनभित्र जवाफ मागेको छ।