निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही हुन्छ: आयोग
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकै व्यक्तिलाई पनि कारबाही हुने निर्वाचन आयोगले जनाएको छ।
आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लंघन गरेका उजुरी आइरहेको बताए। “आचारसंहिता उल्लंघन गरेका उजुरी आइरहेका छन्,” पौडेलले भने, “कतिपय घटनामा पत्राचार गरेको छ, कतिपय घटना अध्ययन गरिरहेको छ।”
आचारसंहिता उल्लंघन गर्ने व्यक्तिलाई कानून अनुसार कारबाही हुने उनको भनाइ थियो। “आयोगले आचारसंहिता उल्लंघनका घटनामा बुझ्न, स्पष्टता खोज्न र त्यसपछि आवश्यक कारबाही गर्छ,” प्रवक्ता पौडेलले भने।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको छ। निर्वाचन आचारसंहिता पालना गर्न आयोगले सबैलाई आग्रह गरेको छ।